इस्लामाबाद- पाकिस्तानमा एउटा यात्रुबाहक बसलाई शुक्रबार बाटो काट्नेक्रममा रेलले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २० जना सिख तिर्थयात्रीको मृत्यु भएको छ। उक्त दुर्घटनामा अरु ८ जना गम्भीर घाइते भएको उद्धारकर्मी एवं प्रहरीले बताएका छन्।
यात्रुबाहक बसमा पाकिस्तानको पंजाबस्थित नानकाना साहिबबाट फर्कदै गरेका सिख तिर्थयात्री रहेको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन्। उक्त बस रेलको लिक पार गर्नेक्रममा दुर्घटनामा परेको थियो।
स्थानीय प्रहरीका अनुसार कराँचीबाट लाहोरतर्फ गइरहेको शाह हुसेन एक्सप्रेस रेलले फारुकाबाद रेल्वे स्टेशन नजिक यात्रुबाहक बसलाई दिउँसो करिब १.३० बजे ठक्कर दिएको थियो। पाकिस्तानी अखबार दी डनका अनुसार दुर्घटनामा अरु ८ जना गम्भीर घाइते भएका छन्।
घाइतेहरु सबैलाई शिखपुरास्थित जिल्ला अस्पतालमा भर्ना गरिएको छ। पाकिस्तानी रेल्वे मन्त्रालयले उक्त दुर्घटना शिखपुरा नजिकै भएको र मन्त्रालयले अनुसन्धान सुरु गरिसकेको जनाएको छ। बसमा करिब २५ जना यात्रारत थिए। उक्त बसका यात्रीहरु पेशावरतर्फको यात्रामा थिए।
(रासस–एएनआई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।