काठमाडौं– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले पार्टीमा आएको जटिलताबारे आवश्यक सुझाव दिन आफूनिकटका नेताहरुलाई आग्रह गरेका छन्। आज बिहान नेताहरुलाई बालुवाटार बोलाई ओलीले पार्टीमा देखिएको जटिल परिस्थितिलाई सुल्झाउन सुझाव मागेका हुन्।
‘परिस्थिति जटिल भयो। कोरोना महामारी छ। पार्टीमा यस्तो जटिलता आयो, सरकारले सक्दो गरेकै हो, अब तपाईंहरुले के सोच्नुभएको छ,’ ओलीले नेताहरुलाई भने।
सहभागीहरुले कोरोना महामारी जारी रहेको र अझै धेरै आर्थिक संकट आउने देखिएकाले यस्तो बेलामा पार्टीमा एकता कायम गर्न सुझाव दिएका थिए। ‘कसरी हुन्छ, पार्टीको आन्तरिक विवाद मिलाउनुस्, राष्ट्रिय एकता कायम गर्ने बेलामा पार्टीमा यस्तो हुनु राम्रो होइन,’ आफूले दिएकाे सुझाव उल्लेख गर्दै सहभागी एक मन्त्री तथा नेकपा स्थायी कमिटी सदस्यले भने।
छलफलमा प्रधानमन्त्री ओलीले आफ्ना कुरा राख्नेभन्दा पनि सहभागीका कुरा सुनेका थिए।
मन्त्री योगेश भट्टराईले सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन र अन्तरविरोधको समाधानका लागि पहल गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेकाे बताए।
भट्टराईले आफ्नो फेसबुकमा लेखेका छन्, ‘पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्श गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाउनुभयो। बाँकी नेता र सदस्यहरुसँग पनि परामर्श गर्ने प्रमले बताउनुभयो, जुन सकारात्मक छ। सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पूरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको विकास गर्न प्रमलाई सुझाव दिनुभएको छ। चिज सकारात्मक दिशामा जाने आशा गरौ । प्रोक्सी वार बन्द गरौं।
मंगलबारको स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा मागिएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् सदस्य तथा आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका हुन्। बिहान ८ बजेका लागि बोलाइएको छलफलमा पूर्वमाओवादी समूहबाट मन्त्री भएकाहरु रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टमात्रै बालुवाटार पुगेका थिए।
मंगलबारको स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेका थिए। हिजोको बैठकमा ओली सहित १८ जनाले आफ्नो धारणा राखेका थिए।
आज पनि बिहान ११ बजे स्थायी कमिटी बैठक बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।