काठमाडौं– लियोनल मेस्सीले आफ्नो फुटबल करियरमा सात सय गोल पूरा गरेका छन्।
मंगलबार राति भएको खेलमा एथ्लेटिको मड्रिडविरुद्ध पेनाल्टीबाट गोल गरेसँगै उनले सात सय गोल पूरा गरेका हुन्। सात गोल पूरा गरेपनि उनले आफ्नो टिमलाई जिताउन भने सकेनन्। आफ्नै घरेलु मैदानमा बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
खेलमा तीन गोल पेनाल्टीबाट भयो भने एक गोल आत्मघातीबाट हुन पुग्यो। एथ्लेटिको मड्रिडका डिएगो कोष्टाले ११औं मिनेटमा नै आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि बार्सिलोनाले १–० गोलको अग्रता बनाएको थियो। खेलको १९औं मिनेटमा साउल निगुएजले पेनाल्टीबाट गोल गर्दै एथ्लेटिको मड्रिडलाई १–१ गोलको बराबरीमा ल्याए।
खेलको ५०औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई २–१ गोलको अग्रता दिलाए। तर यो अग्रता पनि धेरै लामो समयसम्म टिक्न सकेन।
खेलको ६२औं मिनेटमा बार्सिलोनाका नेल्सन सेमेदोले यानिक कारास्कोलाई डिबक्सभित्र फउल गरेपछि एथ्लेटिको मड्रिडले पेनाल्टी पाएको थियो। फेरि पेनाल्टीबाट साउल निगुएजले गोल गर्दै एथ्लेटिको मड्रिडलाई २–२ गोलको बराबरी दिलाए।
दोस्रो स्थानमा रहेको बार्सिलोनाको यो बराबरीसँगै ३३ खेलबाट ७० अंक भएको छ। शीर्ष स्थानमा रहेको रियल मड्रिडको भने ३२ खेलबाट ७१ अंक छ। यता, तेस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ३३ खेलबाट ५९ अंक छ।
यसअघि भएको खेलमा पनि बार्सिलोना सेल्टा भिगोसँग २–२ गोलको बराबरीमा रोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।