काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार ६ गते असार १५ गतेबाट दैनिक १० हजार व्यक्तिको कोरोना परीक्षण गरिने घोषणा गरेका थिए।
तर पिसिआर परीक्षणको संख्या बढ्नुको साटो झन् घट्दै गएको छ। असार १५कै दिन गरिएको पिसिआर ७ हजार भन्दा बढ्न सकेन। त्यसको भोलिपल्टै असार १६ मा जम्मा ४ हजार ७ सय ११ जनाको मात्र पिसिआर परीक्षण भएको छ।
अहिले दैनिकजसो कम्तीमा पाँच सय जना कोरोना संक्रमित भेटिने गरेका छन्। संक्रमितको संख्या दैनिक बढ्दो छ तर पिसिआर परीक्षण भने बढ्न सकेको छैन। कोरोना भए नभएको पत्ता लगाउने प्रयोगशाला परीक्षणको विधि पिसिआर हो।
विज्ञहरुले दैनिक कम्तीमा पनि १५ हजारको हाराहारीमा पिसिआर परीक्षण हुनुपर्ने बताउँदै आएका छन्। तर पिसिआर परीक्षण भने ७ हजार भन्दा माथि उठ्न सकेको छैन।
त्यो पनि असार ६ गते एक दिन मात्र ७ हजार ४ सय १६ र असार १५ मा ७ हजार ७ सय ९१ जनाको पिसिआर परीक्षण भएको थियो। त्यसपछि पिसिआर परीक्षण ६ हजार माथि जान नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले पनि देखाउँछ।
देशभरका २२ वटा प्रयोगशालामा कोरोनाको पिसिआर परीक्षण हुँदै आएको छ। स्वास्थ्यमन्त्री ढकालले सरकारले थप ११ प्रयोगशाला र निजी अस्पताल तथा प्रयोगशालासँग सहकार्य गरि दैनिक १० हजार व्यक्तिको पिसिआर परीक्षण गर्ने बताएका थिए।
पछिल्लो १६ दिनमा कति पिसिआर परीक्षण भए?
असार १- पिसिआर ५३०६, संक्रमित ४५१
असार २- पिसिआर ५०५५, संक्रमित ३८०
असार ३- पिसिआर ६०३७, संक्रमित ५८६
असार ४- पिसिआर ५७४६, संक्रमित ६७१
असार ५- पिसिआर ६२३१, संक्रमित ४२६
असार ६- पिसिआर ७४१६, संक्रमित ३३१
असार ७- पिसिआर ६००८, संक्रमित ४२१
असार ८- पिसिआर ६१९८, संक्रमित ५३५
असार ९ – पिसिआर ४९९५, संक्रमित ५३८
असार १०- पिसिआर ६८२८, संक्रमित ६२९
असार ११- पिसिआर ६५४३, संक्रमित ४३४
असार १२- पिसिआर ६५३४, संक्रमित ५९३
असार १३- पिसिआर ४६०६, संक्रमित ५५४
असार १४- पिसिआर ४९६२, संक्रमित ४६३
असार १५- पिसिआर ७७९१, संक्रमित ४७६
असार १६- पिसिआर ४७११, संक्रमित ३१६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।