काठमाडौं- पूर्व निर्धारित मितिमै केन्द्रीय महाधिवेशन गर्ने गरी कांग्रेसले महाधिवेशनको नयाँ तालिका बनाएको छ।
मंगलबार बसेको केन्द्रीय समितिको बैठकले कोभिड १९ ले प्रभावित बनाएको कार्यतालिकालाई परिमार्जन गरेको हो। फागुन १५ सम्म सक्ने यसअघि निर्धारण गरिएको संगठन समायोजनको अन्तिम समय असार मसान्तसम्म तोकिएको छ।
१४औं महाधिवेशन पूर्वघोषित समयमै गर्नेगरी कार्यतालिका बनाइएको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी गराए। शर्माका अनुसार साउन मसान्तसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण सक्नेगरी कार्यतालिका बनाइएको छ। उनले भने, 'साउन एक महिनामा क्रियाशील सदस्यता नवीकरण र वितरण सकी जिल्ला सभापतिहरुले निर्वाचन समितिलाई नामावली पठाउनुपर्नेछ।'
वडा, स्थानीय तह, जिल्ला, प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रको अधिवेशन पुस महिनाभर सक्ने जनाइएको छ। पुस ७ मा देशभरका वडा अधिवेशन, स्थानीय तहका गाउँ/नगरको पुस ८ मा अधिवेशन हुने भएको छ। प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रको पुस ११ मा, प्रतिनिधि सभा सदस्य एक निर्वाचन क्षेत्र रहेका जिल्लामा पुस १३ मा अधिवेशन गर्ने कार्यतालिका बनाइएको छ। एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा निर्वाचन क्षेत्रमा पुस १६ मा अधिवेशन हुने भएको छ।
प्रादेशिक अधिवेशन माघ ६ मा हुनेगरी कार्यतालिका बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।