काठमाडौं– पाकिस्तानका ६ क्रिकेट खेलाडी इंग्ल्यान्डविरुद्धको सिरिजमा टिममा फर्किने भएका छन्। कोरोना भाइरस (कोभिड–१९) परीक्षणमा दोस्रो पटक नेगेटिभ रिपोर्ट आएपछि फखर जमान, मोहम्मद हसनैन, मोहम्मद हफिज, मोहम्मद रिजवान, शादब खान र वाहब रियाज टिममा फर्किने भएका हुन्। योसँगै इंग्ल्यान्ड भ्रमणमा निस्किएको पाकिस्तानी टिम ठूलो हुने भएको छ।
यसअघि गरिएको परीक्षणमा फखर जमान, मोहम्मद हसनैन, मोहम्मद हफिज, मोहम्मद रिजवान, शादब खान र वाहब रियाजसहित १० खेलाडीमा कोरोना पुष्टि भएको थियो। त्यसपछि परीक्षण गरिएको पुनः परीक्षणमा यी ६ जना खेलाडीमा भने कोरोना संक्रमण नभएको रिपोर्ट आएको थियो। दोस्रो पटक गरिएको परीक्षणमा पनि कोरोना नभेटिएपछि टिममा फर्किने भएका हुन्।
अहिले ६ जना खेलाडी नै लाहोरस्थित पाँच तारे होटलमा छुट्टाछुट्टै आइसोलेसनमा रहेका छन्। सम्भव भएसम्म ६ जना खेलाडी नै यो साताको अन्तिममा इंग्ल्यान्ड जाने बताइएको छ।
पाकिस्तानी क्रिकेट टिम भने आइतबार नै इंग्ल्यान्ड पुगिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।