काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) का पूर्व चिफ अपरेटिङ अफिसर छुम्बी लामा पुनः क्यानमा फर्किएका छन्। उनीसहित धर्मराज गिरीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आफ्नो प्रतिनिधिका रुपमा क्यान सदस्यमा पठाएको हो।
यसअघि क्यानमा चिफ अपरेटिङ अफिसरको भूमिकामा काम गरिसकेका लामा त्यसयता लगातार क्रिकेटमा नै संलग्न छन्। उनी पोखरा प्रिमियर लिग आयोजना गर्ने क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक पनि हुन्।
राखेप सदस्य सचिव स्तरीय निर्णयले लामा र गिरीलाई क्यान सदस्यका रुपमा पठाउने निर्णय गरेको हो। जसअनुसार आज उनीहरुले पत्रसमेत बुझिसकेका छन्।
क्यान फर्किएर काम गर्न पाएकोमा खुसी लागेको बताउँदै लामाले आफूले आफ्नो अनुभवको प्रयोग गरेर काम गर्ने बताए। ‘नेपाली क्रिकेटलाई व्यावसायिकतामा लैजाने हिसाबले नै काम गर्नेछु। भौतिक पूर्वाधार बढाएर कम्तिमा सातै प्रदेशमा खेल्न योग्य रंगशाला बनाउने गरी काम गर्ने योजना छ। स्पोन्सरहरु ल्याउने लगायतका विषयमा मेरो १० वर्षको क्रिकेटमा संलग्न अनुभव काम आउनेछ भन्ने लाग्छ’ उनले नेपाल लाइभसँग भने।
यस्तै धर्मराज गिरी लुम्बिनीबाट घरेलु क्रिकेट खेलिसकेका खेलाडी हुन्। उनी मदन भण्डारी स्पोर्टस फाउन्डेसनमा सक्रिय थिए। उनी फाउन्डेसनको क्रिकेट विभागको उपाध्यक्ष समेत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।