काठमाडाैं- खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेल, खोटाङ्गमा कार्यरत आयोजना प्रमुख राज कुमार शाक्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ। अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले बिगो १० कराेड ७७ लाख ५० हजार ४ सय ५३ रुपैयाँ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आराेपमा मंगलबार विशेष अदालत काठमाडाैंमा भ्रष्टाचार मुद्दा दायर गरेकाे हाे।
शाक्यले कमिसन नलिइ काम नगर्ने, आ.व. २०७५/०७६ मा करिब एक करोड कमिसन असुल गरेको, २०७६ आसारमा विभिन्न ठेक्केदारसँग करिब पचास लाख खातामा राख्न लगाइ बील भुक्तानी गरेको साथै स्रोत नखुलेको सम्पति आर्जन गरेकोले छानबिनका लागि आयोगमा उजुरी परेकाे थियाे। आयाेगका अनुसार सार्वजनिक सेवामा प्रवेश पश्चात शाक्यले आफू र श्रीमतीका नाममा जग्गाहरु खरिद, घरनिर्माण, सवारी साधन खरिदलगायतमा खर्च लगानीका साथै भान्जी नाताकी व्यक्तिकाे नाममासमेत जग्गा खरिद गरी लुकाइ छिपाइ राखेको, आफू तथा आफ्नो परिवारको नाममा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा खाता खोली मुद्दती निक्षेपमा अवैध रकमहरु राखेको, उक्त मुद्दती निक्षेपहरु परिपक्व नहुँदै सोही मुद्दती निक्षेपको सुरक्षण धितोमा ऋण निकाली अन्यत्र व्यक्तिहरुलाई लगानीसमेत गरेको देखिएकाे छ।




अनुसन्धानको क्रममा संकलित प्रमाणका कागजातहरु एवं सम्वन्धित व्यक्तिहरुले खुलाइ दिएका व्यहोराहरु अनुसार शाक्यले सार्वजनिक सेवामा प्रवेश मितिदेखि मिति २०७६ फाल्गुण मसान्तसम्म सार्वजनिक सेवामा रही एक करोड ६१ लाख ७३ हजार ५ सय ६१ रुपैयाँ आय आर्जन गरेको देखिएकाे र अनुसन्धानमा लिइएको जाँचअवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा शाक्यले १२ करोड ३९ लाख २४ हजार १४ चौध रुपैँया खर्च तथा लगानी गरेको देखिएकाे छ। उनकाे आयको अनुपातमा १० करोड ७७ लाख ५० हजार ४ सय ५३ रुपैँया बराबर अवैध आयस्रोत भएकाे पाइएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।