काठमाडौं- साउदीमा समस्यामा परेका नेपालीहरू स्वदेश फर्काउनका लागि तय गरिएको उडान रद्द भएको छ। साउदी अरबको दमामबाट १५ जुनमा हिमालय एयरलाइन्समार्फत तय गरिएको उडान रद्द गरिएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ।
अर्को सूचना तय नहुन्जेलका लागि उडान रद्द गरिएको दूतावासले उल्लेख गरेको छ। उक्त एयरलाइन्सको नयाँ उडान मिति र नयाँ हवाई भाडादरको बारेमा सूचना प्राप्त हुनासाथ जानकारी गराउने दूतावासले जनाएको छ। साथै हवाई उडानका लागि आवश्यक पिसिआर वा आरडिटी परीक्षण समेत हाललाई नगर्न दूतावासले सुझाएको छ।
शनिबार नै सूचना जारी गर्दै माल्दिभ्सले पनि १५ जुनको पहिलो उडान अर्को सूचना जारी नहुँदासम्मका लागि रद्द भएको सूचना जारी गरेको छ। उडान रद्द हुनुको कारण भने स्पष्ट पारिएको छैन।
यसअघि सरकारले तोकेको भाडादर तेब्बरसम्म महंगो भएपछि सर्वत्र विरोध भएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही गन्तव्य मुलुकहरूबाट नेपाल फर्कन लाग्ने भाडा केही घटाएको थियो। सरकारले घटाएको भाडामा पनि विदेशमा समस्यामा परेर फर्कनेहरूले विरोध गर्न छाडेका छैनन्। सरकारले भाडा घटाएजस्तो गरेको आरोप उनीहरूको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।