विश्व कोरोना भाइरसको महामारीबाट त्रसित छ।सबैजसो देश महामारीको चपेटामा परेका खबर आइरहेका छन्। कोरोनाका कारण अब के हुने हो भन्ने सन्त्रास मानिसहरुमा अहिले फैलिएको छ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट सर्वप्रथम सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको मृत्यु हुन पुग्यो। उक्त घटनाले जिल्लामा भय त्रास झनै बढ्यो। महामारीबाट जोगिन जिल्लाका क्रियाशील पत्रकारहरुले कोरोना परीक्षण गर्ने निधो गरे। जिल्ला जनस्वास्थ्य कार्यालयले जेठ १२ गते टेस्ट गर्ने भनेपछि पत्रकार जम्मा भएर आरडीटी टेस्ट गरियो।
उक्त टेस्टमा मेरोबाहेक सबैको नतिजा नेगेटिभ आयो। तर मेरो आरडीटी पोजिटिभ देखिएपछि पीसीआर परीक्षणका लागि नमुना १२ गते नै केन्द्रीय प्रयोगशाला टेकु, काठमाडौँ पठाइयो। त्यस दिन म आफ्नै मोटरसाइकलमा काठमाडौँदेखि आएको थिएँ। मसँग मित्र रामचन्द्र नेपाल पनि थिए, तर उनको आरडीटी रिपोर्ट नेगेटिभ आए तापनि मसँगै आएका कारण उनी पनि मसँगै खाडीचौरस्थित सृजनशील भनिने संस्थाको क्वारेन्टाइनमा बस्यौं।
जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीको शङ्कास्पद व्यवहारले मलाई गराइएको टेस्ट सबैले देख्ने गरी गराइयो जहाँ पत्रकार, रेडक्रसका कर्मचारी र केही स्थानीय पनि थिए। त्यसले गर्दा सबै पत्रकारमा डर-त्रास फैलियो। कोरोना शङ्कामा एक कान, दुई कान मैदान भयो। लौ पत्रकारलाई त कोरोना लाग्यो भनेर हल्ला धेरैतिर फैलियो। तर म भने विश्वस्त थिएँ। ममा कुनै लक्षण नै थिएन। रुघा, सुक्खा खोकी, ज्वरो, श्वास प्रश्वासमा समस्या आदि केही पनि थिएन।
त्यो दिन चौतारा बजारमा नै एक किसिमको सन्नाटा छायो। पत्रकारलाई कोरोना भाइरस संक्रमण भयो भनेर मेरा साथीहरुलाई समेत मेरा कारणले चौतारामा त्यो दिन बास बस्न दिइएन। धेरै साथीभाइले सान्त्वना दिए, ‘दाइ तपाईंलाई केही भएको छैन, डराउन हुन्न।’ तर, केही साथीभाइ टाढा भएको पनि मलाई महसुस भयो।
संकटका बेला सहयोग गर्नुपर्ने साथीभाइहरुमध्ये केहीले नै ममाथि हेर्ने दृष्टिकोण नै तत्काल परिवर्तन गरेको मलाई महसुस भयो। तै पनि आफूलाई केही भएको छैन भन्ने दह्रो आत्मविश्वासका कारण धैर्य भने गरिरहेँ, पीसीआरको नतिजाको प्रतीक्षा गरिरहें। मेरो घर परिवारसम्म कोरोना लाग्यो भनेर प्रचार गराइयो।
आमाले फोन गर्नुभयो, ‘बाबु-तिमीलाई कोरोना लाग्यो रे हो? डराउनु हुन्न राम्रोसँग बस।’ मैले भनेँ, ‘केही भएको छैन आमा, नमुना परीक्षण गर्न काठमाडौं पठाएको छु, नतिजा आज आउँछ।
आमाले फेरि डराउन हुन्न है बाबु भनेर सान्त्वना दिनुभयो।
भाइले फोन गर्यो, ‘खाली लखरलखर हिँडेको छ, नहिँड्नु भनेको मान्ने हैन।’
मेरोजस्तै मित्र रामचन्द्रको पनि घर परिवारमा कोरोना लाग्यो नै भनेर प्रचार गराइयो।
यसबीचमा कतिको फोन आयो भन्ने हिसाब नै भएन। जवाफ दिँदा-दिँदा वाक्क भयौं म र रामचन्द्रजी।
१५ गते टेकूबाट पीसीआरको रिपोर्ट नेगेटिभ आयो। त्यसपछि त्रासको सिँढी गल्र्यामगुर्लुम ढल्यो। हामीसँग टाढिन खोजेकाहरु पनि पुनः सम्पर्कमा आए। फोनका जति घण्टी उठाए पनि सबैको भनाइ हुन्थ्यो-ल बधाई छ।
सरकार, हामी प्रतिनिधि पात्र मात्र हौं। हामीजस्तो कतिलाई आरडीटी परीक्षण गरेर यसरी त्रास फैलाइरहिएको होला । जब कुनै परीक्षणको भर नै हुँदैन भने आरडीटी परीक्षण किन गरिरहने? कमिशनको खेलो फड्को पार गरेर ल्याएका यस्ता सबै कीट सुनकोशीमा लगेर बगाइदिए हुन्छ। यसले आम नागरिकलाई स्वास्थ्य हैन, भय दिइरहेको छ।
केहीअघि पनि सिन्धुपाल्चोककै गाउँपालिकाका अध्यक्षको पनि यस्तै भयो। जसको कुनै भर नै छैन। तामाझामका साथ आरडीटी पोजिटिभ गर्नुको अर्थचाहिँ के हो?
धेरैको आरडिटी पोजेटिभ आएर पिसिआर नेगेटिभ आएको उदाहरण हामीले दिनदिनै समाचार सुनिरहेका छौँ। भर्खरै मात्र पनि, एक ठाउँमा आरडिटी नेगेटिभ देखाएकोमा गाउँ पुग्दा धेरैलाई कोरोना सङ्क्रमण भनेर समाचार आइसक्यो। मैले बुझ्न नसकेको कुरा हो यो। यसबीचमा मलाई दिइएको भयत्रासको क्षतिपूर्ति के हो? धेरैको आरडिटी पोजेटिभ आएर पिसिआर नेगेटिभ आएको उदाहरण हामीले दिनदिनै समाचार सुनिरहेका छौँ।
भर्खरै मात्र पनि जुम्लाबाट धेरैको शङ्कास्पद छ भनियो तर पुष्टि गरिएन। रिपोर्ट आउन ढिला भएपछि जिल्ला विपद् व्यवस्थापन समितिले निर्णय गरेर तिनै क्वारेन्टिनमा बसेकाको पुनः आरडिटी गरेर नेगेटिभ रिपोर्ट आएका जतिलाई घर पठायो। घर पुगेको तीन दिन के बितेको थियो, नगरभित्रका ११३ मा सङ्क्रमण पोजेटिभ भनेर रिपोर्ट आयो। यसबीचमा मलाई दिइएको भयत्रासको क्षतिपूर्ति के हो र कसले दिने? स्वास्थ्य मन्त्रीज्यू जवाफ पाऊँ।
साँच्चै देशलाई महामारीबाट मुक्त गर्ने हो भने सरकारले जोखिममा रहेका आम नागरिकको घर-घर गएर पीसीआर परीक्षण गर्नुपर्ने होइन र?
(लेखक पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।