काठमाडौं- सलह किराको प्रकोप नियन्त्रण तथा रोकथामका लागि अबलम्बन गरिनुपर्ने सुरक्षा उपायबारे अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक प्राविधिक समिति गठन गरेको छ।
मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीका अनुसार प्लान्ट क्वारेन्टाइन एवं विषादी परीक्षण केन्द्रका प्रमुख सहदेश प्रसाद हुमागाईंको नेतृत्वमा कृषि वैज्ञानिक तथा प्राविधिकहरू रहेको अध्ययन समिति गठन गरिएको हो। उक्त समितिले हाल भारतको कृषि बालीमा प्रकोपका रुपमा देखिएको उक्त किरा नेपालमा प्रवेश हुनबाट रोक्न अवलम्बन गरिनुपर्ने सुरक्षा व्यवस्थाबारे अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ।
‘सलह किरा नेपाल आउने–नआउनेबारे जोखिम विश्लेषणसँगै पूर्व तयारीका कामहरू कसरी गर्ने भनेर अध्ययन गर्न समिति गठन गरिएको हो,’ प्रवक्ता केसीले भने।
सलह फट्याङ्ग्राको प्रजातीको एक फौजी किरा हो। यस किराले बालीनालीमा आक्रमण गरेर सखाप बनाउने भएकाले यसलाई शत्रुजीव मानिन्छ। सलह किरा अफ्रिकामा सन् २००३ मा प्रकोपको रुपमा उत्पत्ती भएको थियो भने पछिल्लो समय अन्टार्कटिका बाहेक सबैजसो महादेशमा यो विपत्ति फैलिएको पाइएको छ।
अहिले पाकिस्तान हुँदै भारतसम्म आइपुगेको सलह किराको फौज २०१८ सालमा साउदी अरब नजिकैको अरेबियन प्रायद्विप पेनिनसुलामा उत्पत्ति भएको मानिन्छ। मध्यपूर्वी देशहुँदै दक्षिण एसियामा समेत भित्रिइसकेको यो फौजीकिराको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन।
सलह प्रकोपका कारण २०२० को फेब्रुअरीमा पाकिस्तानमा राष्ट्रव्यापी सङ्कटकालको घोषणासमेत गरिएको थियो। अफ्रिकी मुलुकमा चरम कृषि संकट निम्त्याएको यो किरा अहिले भारतको राजस्थान, मध्यप्रदेश र गुजरातसम्म फैलिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।