काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार ठूलो बनाउन सुनिश्चित नभएका वैदेशिक सहायतालाई पनि बजेटको स्रोतको रूपमा देखाउने तयारी गरेको छ। आन्तरिक स्रोत कमजोर भए पनि उच्च अंकको बजेटको तयारी गरेका अर्थमन्त्री डा युवराज खतिवडाले सुनिश्चित नभएका वैदेशिक सहायतालाई पनि स्रोतको रूपमा देखाउने तयारी गरेका हुन्।
आगामी आर्थिक वर्षमा आन्तरिक स्रोत कमजोर हुने र त्यो रकम अनिवार्य दायित्व भुक्तानीका लागि पनि पर्याप्त नहुने भएपछि पुँजीगत खर्चका लागि बाह्य स्रोतमा भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ। यस्तो अवस्थामा पुँजीगत खर्चका लागि आवश्यक स्रोत जुटाउन वैदेशिक सहायताको भर पर्नुपर्ने अवस्था छ।
सुनिश्चित नै नभएको स्रोतलाई बजेटमा समावेश गर्दा त्यसले बजेट कार्यान्वयन फितलो बनाउँछ। सुनिश्चित नभएको स्रोतलाई बजेटमा समावेश गर्दा त्यसले प्रतिफल नदिने र काम नभएको दोष सम्बन्धित मन्त्रालयलाई दिन सजिलो हुने अर्थ मन्त्रालयकै अधिकारीहरू बताउँछन्।
'यस्तो अभ्यास चालु वर्षकै बजेटमा पनि भएको छ, दातासँग प्रारम्भिक छलफल भएपछि त्यसलाई बजेटको स्रोतको रूपमा देखाइएको छ,' अर्थ मन्त्रालय स्रोतले भन्यो, 'त्यसरी स्रोत देखाइएको रकम ल्याउनका लागि धेरै लामो प्रकृया हुन्छ, जुन पुरा नगरी बजेटमा समावेश गरिएको छ।'
ठूला आयोजना कार्यान्वयनका लागि ऋण वा अनुदानका रूपमा त्यसरी बाह्य स्रोत देखाउँदा त्यसले ती आयोजना कार्यान्वयन अनिश्चित बन्ने गरेको छ। 'हामीसँग अनिवार्य दायित्वय धान्न राजस्वले नै नपुग्ने अवस्था आउन लाग्यो, विकास खर्च गर्ने पैसा छैन। त्यसकारण पनि सरकारले यस्तो अभ्यास गर्न थालेको हो,' बजेट निर्माणबारे जानकार स्रोतले भन्यो।
ठूला आयोजना बजेटमा समावेश गर्नै पर्ने दबाबमा अर्थमन्त्री परेका कारण स्रोतको अवास्तविक प्रक्षेपण गर्ने गरिएको जानकार अधिकारीहरू बताउँछन्। बजेटमा उच्च अंकको पुँजीगत खर्च देखाउन खोज्दा स्रोतले नधान्ने भएकाले यस्तो बाटो अलवम्बन गर्ने गरिएको हो।
चालु आर्थिक वर्षमा पनि ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्यसहित बजेट ल्याएको थियो। कोरोना भाइरसको संक्रमण बढेसँगै लकडाउन हुनुअघिको साढे ८ महिनामा २५ प्रतिशत पनि पुँजीगत खर्च भएको थिएन।
'बजेट ठूलो ल्याउने तर स्रोत देखाउन नसक्दा कृत्रिम स्रोत राखिन्छ जसका कारण बजेट त ठूलै बन्छ तर नतिजा देखिँदैन,' अर्थ मन्त्रालय स्रोतले भन्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।