काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालले कृषि व्यवस्थाको नयाँ जग बसाल्न कम्तीमा तीन वर्ष समय लाग्ने बताएका छन। कृषि क्षेत्रको पुनर्संरचनाका लागि यो वर्ष सामान्य जग बसाउने, अर्को वर्ष आवश्यक सबै संरचना बनाउने र तेस्रो वर्षमा कृषिले आफ्नो स्वरुप लिने उनको भनाइ छ।
नेपाल उद्योग परिसंघले मंगलबार आयोजना गरेको वेभमा आधारित छलफल कार्यक्रममा कृषिमन्त्री भुषालले राज्यका सबै निकायहरुले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गर्दा मात्रै कृषि क्षेत्र आफ्नो स्वरुपमा निस्कन ३ वर्ष लाग्ने बताए। ‘कृषिको आफ्नो स्वरुप कुन अर्थमा भनेको भने पञ्चायतकालमा कृषिको एक खालको व्यवस्था थियो। पहिले हामीले त्यसलाई निजी क्षेत्र अर्थात् खुला बजारमा आधारित बनायौं। अब संविधान आइसकेपछि र संघीय व्यवस्थामा गइसकेपछि कृषिलाई नयाँ स्वरुप पनि दिनु छ,’ मन्त्री भुषालले भने‚ ‘अब हामी जाने भनेको कृषि व्यवस्थाको नयाँ जग बसाल्नतिर हो। अहिले पनि हामी सबै योसँग जोडिन सक्यौं भने परिणाम निस्कन सक्छ। सिंचाई मन्त्रालयय, भूमि व्यवस्था मन्त्रालय, वन मन्त्रालय, अर्थमन्त्रालयलगायत सबै निकाय मिलेर, इमान्दार भएर प्रयत्न गर्यौं भने मात्र यो सम्भव छ।’
मन्त्री भुषालले कृषि क्षेत्रमा मानिसहरुको आवद्धता बढाउने कि घटाउने भन्ने विरोधाभाष देखिएको पनि बताए। ‘कोभिड- १९ का कारण अर्थतन्त्रमा परेको असरलाई पुनरोत्थान गर्न कृषि क्षेत्रमा बढी प्राथमिकता दिने भनेका छौं। रोजगार गुमाएकाहरुलाई कृषिमा आवद्ध गर्ने भनेका छौं। तर अहिले कृषि क्षेत्रमा आवद्ध रहेका व्यक्तिको संख्या घटाएर कृषिलाई बढी उत्पादनशील बनाउनतिर लाग्नुपर्ने बेला भएको छ। कृषिमा बढी मानिस लाग्ने तर उत्पादन कम हुने देखियो। हामीले कम मानिस आवद्ध गराएर बढी उत्पादन गर्नेतिर ध्यान दिनुपर्छ,’ उनले भने।
अहिलेको अवस्थामा ठूलो श्रमशक्तिलाई कृषिमा ल्याउनुपर्ने चुनौतीपूर्ण अवस्था पनि आएका कारण कृषिमा आवद्धता बढाउने वा घटाउने भन्ने विरोधाभाष देखिएको उनले बताए।
श्रम शक्तिको ठूलो हिस्सा कृषि क्षेत्रसँग जोडिएपनि उनीहरुले आवश्यक लाभ लिन नसकेको उनको भनाइ छ। ‘कृषिमा बचत कम छ, नाफा कम छ। श्रम पनि भएकै छ। तर पनि मानिसहरु कृषि क्षेत्रमा टिक्न सकेका छैनन्। यसकारण अब सरकारले कृषि पेशामा लाग्नेहरुको न्युनतम बचतको ग्यारेन्टी गर्छ,’ उनले भने। नेपालमा कृषि क्षेत्र संरक्षित क्षेत्र नै भएपनि बचतको सुनिश्चितता नहुँन्जेलसम्म श्रमशक्ति यसमा आवद्ध हुन नसक्ने उनको भनाइ छ।
राज्यले मल, बिउ, सिचाई, पुँजी, र उत्पादित वस्तुको बजारीकरण गर्न नसके कृषि क्षेत्रमा तुलनात्मक परिवर्तन ल्याउन नसकिने पनि भुषालको भनाइ छ। ‘भूमि बैंक र चाख्लाबन्दीको कामलाई सरकारले प्राथमिकता दिएको छ। कृषिमा यान्त्रीकरण गर्ने भनेको वर्षौं भइसक्यो। यो भाषणले नहुने कुरा रहेछ। बरु यान्त्रीकरण हुने अवस्था बनाउनु पर्दोरहेछ। र त्यो अवस्था बनाउन राज्य अगाडि आउन तयार छ,’ उनले भने।
कृषि क्षेत्रको विकासका लागि माथिल्लो तहबाट भन्दा पनि तल्लो तहका सरकारहरुले बढी भूमिका खेल्नुपर्ने पनि उनको भनाइ छ। ‘अहिलेसम्मको मेरो अनुभव के रह्यो भने कृषिको विकास भनेको सरकार बलियो हुने, मन्त्रालय बलियो हुने भन्ने होइन रहेछ। माथि बलियो भएर नहुने रहेछ,’ उनले भने‚ ‘कृषि क्षेत्र बलियो हुनका लागि तल्लो तह नै बलियो हुनपर्छ। त्यसकारण हाम्रा साधन, श्रोत तल्लो तहमा नै लैजान लागेका छौं। स्थानीय तहमा उत्पादन, भण्डार, प्रशोधन र बजारीकरण गर्नुपर्ने रहेछ।’
सोही कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले नेपालको ७० प्रतिशत जनसंख्या कृषि क्षेत्रमा आवद्ध भएपनि कृषि क्षेत्रमा व्यवयायीकरण हुन नसकेको बताए। निर्वाहमुखी कृषि त भयो, तर लगानीको प्रतिफल ग्यारेन्टी, बजारीकरण र व्यवसायीकरण हुन सकेको छैन,’ अधिकारीले भने‚ ‘मौसम, माटो र बजारको अवस्था हेरि बाली लगाउने चलन अझै सुरु भइसकेको छैन। कहाँ कस्तो किसिमको बाली लगाउने भन्ने कुरामा नै हामी स्पष्ट हुन सकेका छैनौं।’
त्यसैगरी, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान वार्षिक रुपमा घट्दै गएको परिप्रेक्ष्यमा अहिले अर्थतन्त्रमा कृषि क्षेत्रलाई बढावा दिने भन्ने कुरा सजिलो नभएको बताए। ‘कृषिमा बिउ, सिंचाई र मलको समस्या छ। यी तीन चिज जबसम्म सहज हुँदैन, तबसम्म व्यवसायिक कृषि पनि सजिलो छैन,’ उनले भने। उपभोग्य खाद्यान्नका लागि मात्रै नभई बिउबिजन आयातका लागि पनि अर्बौं रुपैयाँ बराबर बाहिर गइरहेको पौडेलले बताए। आत्मनिर्भर भइसकेको पोल्ट्री र दुग्ध क्षेत्र पनि कोरोनाका कारण धराशायी भएको र यो क्षेत्र पुनरोत्थान हुन दुईदेखि ३ वर्ष लाग्ने उनको भनाइ छ। भूमि बैंक र जमिनको चाख्लाबन्दी गर्नेमात्र नभई कुन क्षेत्रमा के उत्पादन हुन्छ भनेर स्थानीय तहसँगको समन्वयमा बाली उत्पादन पहिचान गरिनुपर्नेमा पनि उनले जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।