काठमाडौं– विमानस्थलबाट सुन तस्करीको आरोपमा पक्राउ परेका नेपाल वायु सेवा निगमका कर्मचारी प्रेमलाल चौधरीले प्रहरी कार्यालयमै आत्महत्या गरेका छन्। बर्दियाको राजापुर घर भई निगममा हेड लोडरका रुपमा कार्यरत प्रेम नारायण चौधरीले शुक्रबार बिहान महानगरीय प्रहरी वृत्त अनामनगरमा आत्महत्या गरेका हुन्।
वृत्तको शौचालयमा झुन्डिएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ।
तस्करीको ३३ किलो सुन लुकाएको आरोपमा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अनुसन्धानको अनुसन्धान गर्ने क्रममा विमानस्थलबाटै सो सुन तस्करी भएको खुलेको थियो। थाई एयरलाइन्स र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा लामो समयदेखि सुन तस्करी हुँदै आएको खुलेको छ।
प्रहरीले थाईका ८ तथा नेपाल एयरलाइन्सका तीन कर्मचारीलाई पक्राउ गरिसकेको छ।
हालसम्म घटनामा संलग्न २० जना पक्राउ परिसकेका छन्।
चौधरीको मृत्युको सम्बन्धमा छानबिन भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।