काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्व शान्तिको चाहनामा तड्पिरहेको र बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भइरहेको बताएका छन्।
बिहीबार २५६४औं बुद्ध जयन्तीको अवसरमा व्यक्त शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदमको स्मरण गरेका छन्। ‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन्। यदि आफ्नो सर्तकता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ । त्यसकारण हामी सजग हुनु जरुरी छ’, उनले भनेका छन्।
प्रधानमन्त्रीले केही दिनअघि बम विस्फोटमा ज्यान गुमाउनेप्रति श्रद्धासुमन व्यक्त गरेका छन्। ‘हाम्रो देशमा केही दिन अघि मात्रै फेरि पनि चार जना निर्दोष बालबालिकाहरु बम विस्फोटको अचानक शिकार भएर आफ्नो ज्यान गुमाउन बाध्य भए’, उनले भनेका छन्, ‘म उनीहरुप्रति अत्यन्तै संवेदनशील भावका साथ श्रद्धासुमन अर्पण गर्न चाहन्छु।‘
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।