हामीले औंलो, बिफर, हैजा, झाडापखालाजस्ता महामारी त आफ्नै मुलुकमा सुनेका अनि भोगेका हौं। विश्वमा दुई दशकको अन्तरालमा फैलिएका सार्स (२००२–०३), स्वाईन फ्लु (२००८-०९), मर्स(२०१२-१८), इबोला (२०१३-१६), जिका (२०१५-१८) लगायत एचआईभी, डेंगु, प्लेग, मेनेञ्जाईटिस, बर्ड फ्लुजस्ता भाइरसहरुले जनजीवन अस्तव्यस्त बनाएको थियो। मानिसका विभिन्न क्रियाकलापहरुबाट जलवायुमा आउने परिवर्तन र यसको प्रभावले भाइरसहरुले पनि रुप फेर्दै मानव जातिमा आक्रमण गरिरहेका छन्।
सन् २०१९ डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले धनी-गरिब नभनीकन संसारका सबै देशहरुको सातो लिएको छ। आधुनिक स्वास्थ्य तथा औषधि विज्ञानमा पोख्त मानिने देशहरुका प्रयासले पनि पाँच महिनासम्म केही परिणाम दिन सकेको छैन। संसारका खासगरि शक्तिशाली देशका वैज्ञानिक, अनुसन्धानकर्ता, विद्वान, धनाढ्य व्यापारीहरुलाई कोरोना भाइरस चुनौती भएको छ।
जब महामारी सुरु हुन्छ, त्यसको सबैभन्दा बढी मार समाजका कमजोर मानिसहरुलाई पर्छ। त्यसैले त प्रथम विश्वयुद्धको मारमा परेका बालबालिकाको संरक्षण गर्दै बेलायती नागरिक एग्लेन्टाइन जेबले बालअधिकारको रक्षाको सुरुवात गरिन्। फलस्वरुप सन् १९८९ मा संयुक्त राष्ट्रसंघले बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित गर्यो र संसारका सबै देशलाई बालअधिकारको पक्षमा काम गर्न आह्वान गर्यो।
आफ्ना देशका बालबालिकाको बचाउ, संरक्षण, विकास र सहभागिताका लागि सम्बन्धित देशहरुमा क्षमताले भ्याएसम्मका काम पनि भएका छन्। तैपनि अस्थिर राजनीतिक अवस्था तथा सुशासनको कमिले गर्दा सन्तोषजनक सुधार आएको पाईएको छैन।
देशका विभिन्न तहका सरकारहरुले आफ्ना घरका छोराछोरीसरह पालनपोषण, शिक्षादिक्षा, विकास, संरक्षण, सहभागिताका आधारमा आम बालबालिकाको पक्षमा काम गर्नु पर्नेमा त्यसमा कमि भएका प्रशस्त उदाहरण छन्। महामारीको समयमा बालबालिका धेरै जोखिममा पर्ने खतरा हुन्छ। अझ राम्रो अभिभावकत्व नपाउँदा उनीहरुको मनोसामाजिक अवस्थामा समेत आघात पर्छ। देशको सरकार सँगसँगै समाजका प्रत्येक सरकारी/गैरसरकारीसंस्था, नागरिक र अभिभावक सचेत हुने हो भने बालबालिका जोखिममा नहुन सक्छन्। तर यसो हुन सकेको छैन। बालअधिकार हननका केही यस्ता समाचार छन्, जुन पढ्दा पनि शरीर जिरिङ हुन्छ।
बाल बचाउको सन्दर्भमा हेर्ने हो भने गर्भवती महिलाहरु गर्भावस्थामा लगाउने खोपबाट वञ्चित भएका छन्। राष्ट्रिय खोप कार्यक्रम प्रभावित भएको छ र त्यसको परिणामस्वरुप समुदायमा दादुरा, रुबेला लगायतका प्रकोप सुरु हुन लागेका छन्। बिरामी भएका बालबालिकाले उपचार पाएका छैनन्। अनि, अस्पताल लाँदालाँदै बाटोमा मृत्यु भएका पनि छन्। अझ ज्वरो आएको अवस्थामा त स्वास्थ्यकर्मीहरु नजिक नै पर्दैनन्। उनीहरु लगायत सबैमा कोरोनाको त्रासले ठूूलो डेरा जमाएको छ।
लकडाउन भएपछि आफ्नो थातथलोमा जान हजारौँ मजदुरहरुको लर्कोमा आधाजति बालबालिका भएका दृश्य देखिएका थिए। सहरी क्षेत्रमा कोरोना संक्रमण हुने डरले तीन सय–चार सय किलोमिटर पैदल यात्रामा निस्केका कतिपय बालबालिकासहित अभिभावकहरुले खान पाएका थिएनन्। बिरामी परेका थिए र हातखुट्टा सुन्निएका पनि थिए। अनि त्यस्ता कतिपयलाई सहयोगी मनहरुले खान दिएका समाचार सुनेका छौं। तस्बिरहरु देखेका छौँ।
बालसंरक्षणको सवालमा हेर्दा अवस्था झन् भयावह छ। किनभने, बालबालिकाप्रति हुने शारीरिक, मानसिक तथा यौन दुर्व्यवहार, शोषण तथा अपहेलनाका घटना दिनैपिच्छै बाहिर आएका छन्। बालिकाहरुलाई घरमै आफन्तबाट बलात्कार, समुदायमा जाँदा सामूहिक बलात्कार भएका घटना प्रहरी कार्यालयमा दर्ता भएका छन्। देशमा भएको लकडाउनले अझ सयौँ घटना बाहिर आएका छैनन् र आफन्तहरुले लुकाउने गरेका सूचनाहरु पनि हाम्रा पहिलेका अनुभवहरुबाट पाएका छौँ।
‘हे भगवान चाँडै विद्यालय खुलाईदेऊ, ममीभन्दा त म्याडम नै ठीक’ भन्ने सामाजिक सञ्जालमा आएको एउटा भनाइलाई सापट लिँदा (रमाइलोका लागि राखेको भए पनि) हाम्रा घरहरुमा बसिरहेका बालबालिका वाक्क–दिक्क भएका छन् र कतिपय अभिभावकहरुबाट विभिन्न खाले दुर्व्यवहारसमेत भएका छन्।
यसको अनुगमन र सूचना संकलन गर्ने प्रभावकारी माध्यम नभएकाले सूचना तथा जानकारी अपर्याप्त छन्। आफन्त, साथीभाइलगायत बाहिरी वातावरणसँग घुलमिल हुन नपाएर बालबालिका उकुसमुकुस भएका छन् र कतिपयमा मनोसामाजिक अवस्था बिग्रिएर असामान्य व्यवहार देखा पर्न थालिसकेका छन्। अभिभावकविहीन तथा अभिभावकबाट टाढा रहेका बालबालिकाको मनोभावना त अझ जटिल भईसकेको छ। किनभने, यस्तो अवस्थामा सबैभन्दा प्रिय चिज आफ्नो परिवार हो, माया हो र पारिवारिक एकता अनि हौसला हो।
बालविकासको कुरा गर्ने हो भने एक महिनाभन्दा बढीको अवस्थामा विशेषगरी सहरी तथा सहरोन्मुख क्षेत्रका लाखौँ बालबालिका श्रृजनशीलविहीनता भई सामाजिक सञ्जाल, टेलिभिजन लगायतका कुरामा बढी संलग्न भएकाले रिसाउने, चिड्चिडाहपन बढेका घटना आएका छन्।
खासगरी अभिभावकहरुमा बालबालिकासँग गर्नुपर्ने व्यवहार, असल अभिभावकत्वको भूमिका आदि जस्ता पक्षको जानकारी नभएको, भए पनि अभिभावकले पर्याप्त समय नदिँदा बालबालिकाको विकासमा नकारात्मक प्रभाव परेको छ। बाहिर निस्कने नपाउने र नजिकै निस्के पनि दुरी कायम गर्नुपर्ने कारणले बालबालिका खेलकुदबाट वञ्चित भएका छन्।
कतिपय निजी विद्यालयहरुले अध्यापनका लागि सञ्चालन गरेका अनलाईन कक्षाहरु पनि प्रभावकारी भएको पाईदैन। झन् त्यसले अभिभावक र बालबालिकामा बोझ थपेको छ। छोराछोरीलाई पढाउन आजको जमानामा ईन्टरनेट राख्नु पर्ने, अनलाईनमा पढेको बैशाख महिनादेखि नै शुल्क तिर्नुपर्नेजस्ता विद्यालयका जबर्जस्त कुराहरुले अभिभावकमा अझ पीडा थपेको छ।
बालसहभागिताको पक्षलाई हेर्दा हाम्रो घरपरिवार, समाज र देशमा उनीहरुको सहभागितालाई अर्थपूर्ण रुपमा लिईएको पाईदैन। यस्तो महामारीमा त उनीहरुलाई कसले सम्झने हो र? बालबालिकासँग बाल क्लबमार्फत् कार्य गरेको अनुभवमा उनीहरु नीतिनियम पालन गर्न र गराउन खप्पिस हुन्छन्। अहिलेको अवस्थामा आफ्नो घरपरिवारमा कोरोनाको चेतना फैलाउन र घरका सदस्यहरुलाई सरसफाईसम्बन्धी बानी व्यवहारहरुमा अभ्यास गराउने काममा बालबालिकाको भूमिका महत्वपूर्ण भएको हामी सबैले बुझेका छौँ। निर्णायक तहमा पनि उनीहरुको सहभागिता महत्वपूर्ण हुन्छ।
हालको महामारीको अवस्थामा ४४ प्रतिशत जनसंख्या ओगटेका बालबालिकाका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरु, विद्यालय र अन्य सम्बन्धित सरोकारवालाहरुले उनीहरुको बचाऊ, संरक्षण, विकास र सहभागिताका सवालमा गरेका कार्यहरुको पुनरावलोकन गर्न जरुरी छ। सडक तथा जोखिम अवस्थामा रहेका बालबालिकाको उद्दार, पुनर्स्थापनाजस्ता केही प्रयासहरुलाई सकारात्मक रुपमा लिन सकिन्छ।
तर यस्ता कामहरुलाई स्थानीयस्तरसम्म पुर्याएर सबैको अपनत्व हुने खालका अभ्यास गराउन आवश्यक छ। सरकारले काम गरेन, समाजले कुरा बुझ्दैनन् र बालबालिकालाई जति गरे पनि केही हुदैन भन्ने मानसिकता त्यागी सबैको हातेमालो भएमा समग्र बालबालिकाको पक्षमा राम्रो काम हुन सक्छ। सकारात्मक प्रकारका प्रयासहरु भएको खण्डमा महामारीको चपेटामा परेका बालबालिकाका लागि असल अभिभावकीय जिम्मेवारी हुन सक्छ।
(घिमिरे बालअधिकारकर्मी हुन्)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।