काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ को भूकम्पबाट ध्वास्त संरचनाको पुनर्निर्माणमा आफूहरुले उदारणीय काम गरेको दाबी गरेकी छन्।
पाँचौं भूकम्प स्मृति दिवसको अवसरमा शुक्रबार सन्देश दिँदै भण्डारीले यस्तो बताएकी हुन्। ‘भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनाका साथै ध्वस्त संरचनाहरूको पुनर्निर्माणमा हामीले उदाहरणीय काम गर्न सकेका छौँ,’ भण्डारीले सन्देशमा भनेकी छन्, ‘भूकम्पको निरन्तर धक्काहरूको कारण त्रास र भयमा रहनुभएका र घरबारविहीन हुनुभएका लाखौँ जनतालाई त्राण दिन हामी एकजुट भएका थियौं।’
संकटका बेला एकजुट हुने नेपालीको असल परम्परालाई रहेको भन्दै उनले प्राकृतिक विपद्ले ल्याएको संकटका बेला दिनरात नभनी सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएकी छन्।
भूकम्पबाट क्षतिग्रस्त भएका शैक्षिक संस्था, स्वास्थ्य संस्था, विश्व सम्पदामा सूचिकृत सम्पदा लगायत अन्य साँस्कृतिक धरोहर, पुल, सडक, खानेपानी, सरकारी भवन, सुरक्षा निकायका भवनहरूको पुनर्निर्माणमा पनि उल्लेखनीय उपलब्धि हासिल भएको उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।