काठमाडौं- कोरोना भाइरस संक्रमणका कारण देशैभरी २ अर्बभन्दा बढीको दूध नोक्सान भएको छ। सातैवटा प्रदेशमा उत्पादनको ३० प्रतिशतमात्र दूध बिक्री भएको नेपाल डेरी एशोसियसनका महासचिव प्रल्हाद दाहालले बताए।
नेपाल डेरी एशोसियसनले मंगलबार सातै प्रदेशका अध्यक्षहरुसँग भिडियो वार्तामार्फत छलफल गरी सो निश्कर्ष निकालेको हो। कोरोनाका कारणहरु किसानहरु निकै ठूलो मारमा परेको र अब कुनै डेरीमा समेत स्टोर गर्न सक्ने अवस्था नरहेको महासचिव दाहालको भनाइ छ।
महासचिव दाहालले भने, ‘सबै डेरीमा गरेर ५ अर्ब बराबरको दुग्धजन्य सामान स्टक भएको छ। प्रायः सबै ठाउँमा सामान ओसारपसार गर्न दिए पनि कर्मचारी आवतजावत गर्न र पसल खोल्न समस्या भएको छ।’
यसैगरी दूध कलेक्सन गरिरहने र बजार नबढ्ने हो भने अब उद्योग बन्द गर्नुको विकल्प नरहेको दुग्ध व्यवसायीहरुले बताएका छन्। किसानको रकम भुक्तानी दिन, कर्मचारीहरुको पारिश्रमिक उपलब्ध गराउन समस्या भएको व्यवसायीहरुको भनाइ छ।
सरकारले घरभाडा छुट भने पनि व्यवहारमा लागू नहुँदा थप आर्थिक संकटमा व्यवसायीहरु रहेको उल्लेख गरिएको छ। सरकारले दुग्ध व्यवसायी तथा किसानहरुलाई बेलैमा उचित राहतको घोषणा नगरे धेरै उद्योग र किसान पेशाबाट पलायन हुनुको विकल्प नरहेको निश्कर्ष एशोसिएसनको छ।
राहतमा शून्य ब्याजदरमा ऋण, भ्याटकर छुट, किसानलाई तत्काल पशुलाई खुवाउन आवश्यक दानाको व्यवस्थापन गर्नुपर्ने र दूध खेर फाल्नुपर्ने अवस्थामा त्यसको उचित व्यवस्था हुनुपर्ने दुग्ध व्यवसायीहरुले माग राखेका छन्।
बागमती प्रदेश सरकारले राहत प्याकेजमा आधा केजी घिउ समावेश गराउने निर्णयले किसान र उद्योगीलाई थोरै भए पनि राहत मिलेको महासचिव दाहालले बताए।
महासचिव दाहाल भन्छन्, ‘यो निर्णयबाट किसानलाई राहत मिलेको छ, किन कि बिक्री नभएर थन्किएको घिउ बिक्री हुने भएको छ। किसानको भुक्तानी दिन सहज हुनेछ।’
अन्य प्रदेश सरकारले पनि दुग्धजन्य सामग्री राहत प्याकेजमा समावेश गरे किसान र व्यवसायीलाई थोरै भए पनि राहत मिल्ने उनको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।