राजविराज- खडेरी र सुक्खा मौसमका कारण सप्तरी, सिरहा, उदयपुर लगायत चुरेपहाड आसपासका दर्जनौं बस्तीमा खानेपानीको संकट सुरु भएको छ।
चुरे पहाडदेखि बग्ने अधिकांश खोलाको मुहान सुक्न थालेपछि बस्तीमा भएका इनार, कुवा तथा ट्युवेलमा पानीको अभाव देखिन थालेको छ। नदीमा पानी सुकेपछि कतिपय खानेपानी योजना समेत प्रभावित भएका छन्।
सप्तरीको सप्तकोसी नगरपालिाका १, फत्तेपुरस्थित खोरियाटोलको सुख्खा क्षेत्रका लागि सञ्चालित अमाहा खानेपानी योजना पानी अभावकै कारण प्रभावित हुँदै आएको छ। आयोजनाका लागि पानी प्रयोग हुँदै आएको अमाहा खोलाको शाखा खोला (मूल खोला)मै पानी सुकेको स्थानीयले बताए। सरकारी स्तरबाट सुरु गरिएको यो योजना हाल समुदायले सञ्चालन गर्दै आएका छन्।
‘खोलामा पानी बग्न छोडेपछि ट्यांकीमा पर्याप्त पानी जम्मा हुँदैन’, स्थानीय लालबहादुर विष्ट भन्छन्, ‘कहिलेकाहीँ त २/३ दिनसम्म पानी आउँदैन।’
योजना प्रभावित हुँदा यस क्षेत्रका करिब १ सय ५० घरधुरी खानेपानीको संकटमा पर्ने गरेका छन्। सुख्खा मौसममा पानी सुक्ने र वर्षा लागेपछि बाढीले पाइप बगाउने गर्दा अमाहा खानेपानी योजना भरपर्दो नभएको खोरियाटोलका बासिन्दाको गुनासो छ। इनार र ट्युवेलमा समेत पानी नआउने भएकाले यस क्षेत्रका लागि वैकल्पिक व्यवस्था खोज्नुपर्ने स्थानीयहरु बताउँछन्।
यसका साथै पानीको स्रोत सुक्न थालेपछि सप्तरीको गंगाजली, वलार्दह, रुपनगर, प्रिपापश्चिम, हर्दिया, कल्याणपुर, महुली लगायतका क्षेत्रमा खानेपानीको संकट गहिरिँदै गएको छ।
‘पहाडबाट बग्ने खोलामा पानी बग्दैन, त्यसैले पहिलेको जस्तो जताजतै पानीको स्रोत अब छैन’, फत्तेपुरका युवा पारस दाहाल भन्छन्, ‘यस्तै अवस्था रह्यो भने १५/२० वर्षपछि चुरेको पुछारमा रहेका गाउँ पानीको संकटकै कारण विस्थापित हुनुपर्ने अवस्था आउँछ।’

फत्तेपुरमा खानेपानी आयोजनाको बेहाल
बढ्दो जनसंख्यासँगै वनजंगलको विकास र जलवायु परिर्वतनको असरले खोलामा पानीको मुहान सुक्न थालेको उनी बताउँछन्।
यति मात्रै होइन, चुरे पहाडमा मुहान भएका सिरहा, सप्तरी र उदयपुरतर्फ बग्ने साना/ठूला गरी करिब ३ दर्जन खोलाको अवस्था यस्तै छ। जसमध्ये एक दर्जनभन्दा बढी खोला सिरहा र सप्तरीतर्फ तथा करिब २ दर्जन खोला उदयपुरतर्फ बग्ने गरेका छन्। सिरहाको बलान र सप्तरीको महुली, खाडो लगायतका खोलामा वर्षातको समयमा पानीभन्दा बढी बालुवा र माटोको लेदो बग्ने गरेको छ। जमिनमुनिको पानीको स्रोत भास्सिँदै गएको र बालुवा थुप्रिँदै गएको स्थानीयहरु बताउँछन्।
पानीको स्रोत सुक्दै जाँदा उदयपुरको कटारी र त्रियुगा नगरपालिकासहित रिस्कु, भलायडाँडा, जोगीदह, हँडिया, सुन्दरपुर, चौदण्डी, मैनामैनी, लेखानी, मंयखु, डुम्रे, बर्रे, भलयडाँडा लगायतका क्षेत्र खानेपानीको समस्यामा छन। पानी अभावमा पहाडी क्षेत्रका गाविसका दर्जनौं बस्ती बसाइँ सरी त्रियुगा नदीको तल्लो तटीय क्षेत्रमा सरेका छन्। तर, अहिले त्यहाँ पनि स्रोत सुकेकाले समस्या भएको स्थानीय बताउँछन्।

पानी नहुँदा पशुपालन र कृषि व्यवसाय मात्र नभई मानिसले समेत संकट भोग्नुपरेपछि गुजारा गर्न गाह्रो हुन थालेको स्थानीयहरु बताउँछन्।
‘वर्षौंदेखि पानी खाएको कुवा सुकेको तीन वर्ष भयो’, उदयपुरको जोगीदह ३ की शकुन्तला चौधरी भन्छिन्, ‘अब चाहिँ ठाउँ नै छाड्ने सोचमा छौं।’
पानीको मुहान सुकेपछि सिरहाको तरेगना गोविन्दपुर र विष्णुपुरकट्टीका सयौं सर्वसाधारण बसाइसराइ गरेर अन्यत्र गएका छन् भने चन्द्रोउदयपुर, बडरामाल, कर्जना लगायतका क्षेत्रमा अहिले पनि पानीको समस्या यथावत् छ।
वनजंगलको विनास तथा जलवायु परिवर्तनका कारण खोलामा पानिको स्रोत सुकेको स्थानीयहरु बताउँछन्। २०७२ सालको भूकम्पका कारण पनि पानीका स्रोतमा असर पुगेको जानकारहरुको भनाइ छ। समयमै पर्याप्त वर्षा नहुँदा झन् संकट उत्पन्न भएको भन्दै सर्वसाधारणहरु अहिले पानीको वैकल्पिक स्रोतको खोजीमा जुटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।