काठमाडौं- सवारी साधनका स्पेयर पार्ट्सको व्यापार गर्दै आएको भावना बिजनेस लिंकले कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न कर्मचारीलाई तलबी बिदा दिएको छ। कम्पनीले सोमबारदेखि आफ्ना कर्मचारीलाई बिदामा बस्न भनेको हो।
यसरी बिदा दिने कम्पनीहरुमा भवना बिजनेस लिंकसहित अटोमोबाइल बिजनेस कन्सर्न प्रालि र कामना अटोमोटिभ प्रालि छन्। यी तीन कम्पनीमा २८ जना कामदार रहेको कम्पनीले जनाएको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका महासचिवसमेत रहेका सुनिल रिजालले यस्तो निर्णय गरेका हुन्। ‘हामीले कोरोना संक्रमणको उच्च जोखिम न्यूनीकरण गर्न कम्पनी बन्द गरेर स्टाफलाई बिदा बस्न भनेका हौं,’ उनले भने, ‘कर्मचारीलाई बिदा बस्न भनेपनि बिदा बसेको अवधिको समेत तलब दिइने व्यवस्था गरेका छौं।’
प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न भनेका थिए। सरकारले गरेको उक्त घोषणालाई मध्यनजर गर्दै आफूहरु यस्तो निर्णय गरेको रिजालले नेपाल लाइभसँग भने। आफूहरु स्पेयर पार्टको व्यवसाय गर्ने भएकाले आपत्कालीन अवस्थामा आवश्यक परे जुनसुकै बेला पार्टस् उपलब्ध गराउन तयार रहेको उनको भनाइ छ।
‘अटो मेकानिक्स व्यवासयी संघले पनि सोमबारदेखि वर्कसपहरु बन्द गर्ने निर्णय गरेको छ,’ रिजालले भने, ‘उहाँहरुले पनि अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, आर्मी, प्रहरी, हस्पिटललगायतका सवारी भने मर्मत गर्ने बताउनु भएको छ। हामी पनि रातिको १२ बजे नै भएपनि पार्टस् उपलब्ध गराउन तयार छौं।’
आइतबार बसेको नेपाल अटो मेकानिक्स व्यवसायी संघको बैठकले सोमबारदेखि सबै वर्कसप बन्द गर्ने निर्णय गरेको हो। संघले आफ्ना सदस्यहरुलाई सोमबारदेखि ७ दिनसम्म सम्पूर्ण वर्कसप बन्द गर्न सूचना गारी गरेको छ। अत्यावश्यक स्पेयर पार्टस् उपलब्ध गराउनका लागि नाडा सचिवालय लगायतलाई सम्पर्क गर्ने भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।