काठमाडौं- कोरोना भाइरस (कोभिड १९)को जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीको काम गर्ने तालिका तथा जिम्मेवारी परिवर्तन गराउन थालेका छन्।
कोरोनाको जोखिमका कारण बैंकमा अन्य कामका लागि आउने सेवाग्राहीका घट्दै गएको र पैसा झिक्न र राख्न आउनेको संख्या मात्रै बढेको भन्दै कर्मचारीको जिम्मेवारी पनि हेरफेर गरिएको छ।
केही बैंकले कर्मचारीहरुलाई ३/३ दिनको वर्किङ सेड्युल पनि तोकेका छन्। यसअनुसार बैंकका आधा कर्मचारी हप्ताको ३ दिन र आधा कर्मचारी अर्को ३ दिन काममा जानेछन्। यसैगरी बैंकको टेलरमा भिड बढे पनि अन्य विभागमा सेवाग्राही नआएकाले पनि कर्मचारीलाई सजह हिसाबले व्यवस्थापन गर्न सकिएको बैंकरहरुले बताएका छन्।
बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो आन्तरिक व्यवस्थापनलाई सहज बनाउने गरी नयाँ व्यवस्था मिलाएको नेपाल बैंकर्स संघले जनाएको छ। नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले सकेसम्म सेवा अवरुद्ध नहुने गरी काम अघि बढाउने गरी बैंकहरुले काम गर्ने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।