रसुवा– समाजमा अझैसम्म पनि पुरुषले गर्न सक्ने काम महिलाले गर्न सक्दैनन् भन्ने मानसिकता रहेको पाइन्छ। तर, रसुवाको ठूलोगाउँ, डाँडागाउँ र कालिकास्थानका महिलाहरु पुरुषले गर्ने भनिएको घर बनाउने काममा कम्मर कसेर लागेका छन्।
पुनर्निर्माणमा जनशक्तिको अभाव भएको बताइरहँदा उनीहरु चुलाचौकाको सीमित घेराबाट निस्किएर पुरुष कामदारसरह औजार चलाउन व्यस्त छन्।
‘पहिला त खेतबारीको काम गर्ने र घरधन्दा गर्नेभन्दा अरु काम गर्न हामीलाई आउँथेन’, उत्तरगया गाउँपालिका ३ कि धनमाया गुरुङ भन्छिन्, ‘गिट्टी कुट्न समेत हामी जान्दैन थियौं। भूकम्प आएपछि पो परेर हामीले यो काम सिक्यौं।’
यी सबै गाउँमा दक्ष जनशक्तिको अभाव भएसँगै भूकम्पले भत्किएको संरचनाको पुननिर्माणका लागि महिलाहरु समूह नै गठन गरेर जुटेका छन्। व्यक्तिगत तथा पर्म समूह बनाएर उनीहरु बालुवा बोक्ने, गिट्टी कुट्ने, इँटा बोक्नेदेखि जग खन्ने, गाह्रो लगाउनेसम्मको काम गरिरहेका छन्।

समूह गठन गरी पर्म अर्थात् आलोपालो एक–अर्काको घर बनाउन सघाउनेगरी पुनर्निर्माणमा लागिरहेको उत्तरगया गाउँपालिका ३ ठूलोगाउँकी सुस्मा घलेले बताइन्।
उनले भनिन् ‘हामीले १० जना दिदीबहिनी भएको समूह गठन गरेर घर बनाउँदै हिँडेका छौं। महिलाहरुले पनि पुरुषसरह काम गर्न सक्छन् भनेर हामीले गरेर पनि देखाइरहेको छौं। सबै काम गर्छौं हामी।’
धेरैजसो पुरुष विदेशमा काम गर्न गएकाले कामदारको अभाव भएका बेला गाउँमा रहेका महिलाहरुले त्यो अभाव पूरा गरिरहेका छन्।
पर्म समूह गठन गरेर पुननिर्माणमा लागिपरेका ठूलोगाउँका महिलाहरुले हालसम्म २० भन्दा बढी भूकम्पप्रतिरोधी घर बनाइसकेको उत्तरगया गाउँपालिका ३ ठूलोगाउँकी सुमित्रा गुरुङले बताइन्।
‘पहिला ढुंगा–माटोको घर बनाइन्थ्यो भने अहिले गिट्टी, इँटा, सिमेन्ट, रडको प्रयोग गरेर हामी महिलाहरुले पनि घर बनाइरहेका छौं’, उनले भनिन्, ‘महिलाहरुले मात्र सबै काम गर्न पाउदा खुसी छौं।’

घर बनाउने काममा उनीहरु बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खट्ने गर्छन्। पुरुषसँग मिलेर काम गर्ने उनीहरुले ज्याला पनि समान पाउने गरेका छन्।
उत्तरगया गाउँपालिका ३ की धनमाया गुरुङले महिला र पुरुष मिलेर काम गर्दा सजिलो पनि भएको बताइन्।
‘मिलेर काम गर्दा नजानेको काम पनि सिक्यौं। पहिला ज्यालामा विभेद गर्थे। अहिले काम सिकेर उत्तिकै सीप हातमा आएपछि पुरुष सरह नै ज्याला पाइराखेका छौं।’
घर बनाउन घडेरी सम्याउने, जग खन्ने, निर्माण स्थलसम्म निर्माण सामग्री पुर्याउने काम पर्म मार्फत चलिरहेको छ। पर्म प्रणालीले सामाजिक एकता र सहिष्णुतालाई बलियो बनाउँदै विपद्का समयमा समुदाय एकजुट भई सामना गर्ने, एकजुट भएर पुनर्निर्माणको काम छिटो हुने गरेको छ।
गाउँ समाजमा पछिल्लो समय हराउँदै गएको पर्म विधि अहिले व्यवहारमा आएसँगै स्थानीयलाई नै धेरै सहजता भएको रेडक्रसका सहायक प्रशिक्षक गौरव सापकोटाले बताए।
भूकम्पपछिको पुनर्निर्माण भइरहेका धेरै जिल्लामा एकातिर कामदारको अभाव त अर्कोतिर भएका कामदारसँग भूकम्प प्रतिरोधी घर बनाउने दक्षता नभएकाले समस्या झेल्नुपरेको छ। रसुवामा भने पुनर्निर्माणमा महिलाहरुको बढ्दो सक्रियताले सुखद संकेत गरेको छ। महिलाहरुले सीप सिकेर आवास निर्माणमा देखाएको सक्रियताले सिंगो पुनर्निर्माणमै टेवा पुगेको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।