काठमाडाै–विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म नेपालमा एकजना मात्र संक्रमित भए पनि विदेशी पर्यटकमा निर्भर हिमाल आरोहण, पदयात्रा र होटल व्यवसाय यसको मारमा परेका छन्।
सरकारले गत साता आगामी वसन्त ऋतुमा हुने सगरमाथा लगायतका हिमालको आरोहणमा रोक लगायाे । पदयात्रामा सरकारले सिधै प्रतिबन्ध नलगाए पनि पदयात्रीले स्वास्थ्य प्रमाणपत्र पेश गर्नु पर्ने र १४ दिनसम्म अलग्गै बसेपछि पदयात्रामा जान पाउने नियमका कारण दुई साताअघिदेखि नै उनीहरुले आफ्नो यात्रा स्थगित वा रद्द गरेका छन् ।
अर्थमन्त्री युवराज खतिवडाले कोभिड–१९ भनिने उक्त रोगका कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताएका छन्। नेपालमा पर्यटनको एक प्रमुख स्रोत मुलुक चीनमा उक्त भाइरस सबैभन्दा पहिला फैलिएको थियो भने अर्को स्रोत मुलुक भारतमा पनि यसबाट कम्तिमा तीन जनाको मृत्यु भइसकेको छ। नेपालले सन् २०२० लाई अन्तर्राष्ट्रिय भ्रमण वर्ष घोषणा गरी २० लाख विदेशी पर्यटक भित्र्याउने अभियान सुरु गरेलगत्तै यो संकट देखापरेको हो।
उत्तर अमेरिका र युरोपजस्ता पर्यटनका प्रमुख स्रोत मुलुकसमेत यस महामारीसँग जुधिरहेका छन् । कैयौँ देशले पूरै शहरमा आवतजावत निषेध (लकडाउन) र भेटघाट अनि जमघटबाट टाढा रहन सामािजक दुरी (सोसल डिस्टेन्सिङ) आह्वान गरेका छन् । कोभिड–१९ को असर विश्वव्यापी र बहुआयामिक हुने भए पनि नेपालको पर्यटन क्षेत्रअन्तर्गत पर्वतारोहण, पदयात्रा र होेटल व्यवसायमा यसले पारेको प्रभावबारे एक जानकारीमुलक सामग्री तयार पारिएकाे छ।
पर्यटन क्षेत्रमा कोरोना भाइरसको के कस्ताे प्रभाव पर्छ ?
पर्यटकीय सिजन सुरु हुने यो बेला भरिभराउ र भीडभाडयुक्त हुनुपर्ने काठमाडौँको ठमेल, पोखराको लेकसाइड र चितवनको सौराहका होटल, रेस्टुरेन्ट र गल्ली सुनसान छन् । यसो किन भयो भने कुनै पनि महामारी वा विपत् फैलिनेबित्तिकै पर्यटन क्षेत्र सबैभन्दा छिटो प्रभावित हुन्छ । त्यसो हुनुमा विभिन्न देशले जारी गर्ने यात्रा सम्बन्धी सन्देश (ट्राभल एड्भाइजरी) र पर्यटक आफैले लिने निर्णय कारक हुन्छन्। स्रोत मुलुकमा हुने आर्थिक मन्दी तथा गन्तव्य मुलुकमा हुने प्राकृतिक विपत्ति र अन्य मानवसिर्जित घटनाका कारण पनि पर्यटकको संख्यामा कमी आउने गर्छ ।
हिमाल आरोहणः नेपालको पर्यटकीय गतिविधि सम्बन्धी ‘ब्राण्डिङ’ सर्वोच्च शिखर सगरमाथामा निर्भर हुन्छ । गत फागुन २८ गते सरकारले आगामी वसन्त ऋतुमा हुने सगरमाथा लगायतका हिमालको आरोहणमा रोक लगाएपछि सन् २०१५ यता तेस्रो पटक सगरमाथामा आरोहण नहुने भएको छ । ‘आइसफल डाक्टर’ भनिने सगरमाथामा व्यावसायिक आरोहणका लागि बाटो बनाउने एक विशेष टोलीले आफ्नो काम सुरु गरिसकेको थियो भने टेन्ट, डोरी, अक्सिजन सिलिण्डरजस्ता सामग्री आधार शिविरतर्फ लैजाने तयारी हुँदै थियो । पर्यटन विभागका अनुसार यो सिजनका लागि १३ जना आरोहीले नेपालका हिमाल चढ्न अनुमति लिएका थिए।
हरेक वर्ष करिब ३ सयदेखि ४ सयसम्म विदेश आरोही सगरमाथाको आरोहणका लागि नेपाल आउँछन् । झण्डै त्यति नै संख्यामा उनीहरुका सहयोगी (पथ प्रदर्शक, भान्से, भरिया, प्रबन्धक आदि) ले सिजनमा काम पाउँछन् । बसन्त याममा अन्य हिमाल चढ्न ६ सयसम्म आरोही नेपाल आउँछन् । कतिपय आरोही एक्लै हिमाल चढ्छन् तर अधिकांशले पथप्रदर्शक, भान्से, भरिया, प्रबन्धक आदिको सहयोग लिन्छन् । वसन्त ऋतुमा हुने सगरमाथा लगायतका हिमालको आरोहणबाट सरकारले करिब ४१ करोड राजश्ववापत उठाउँछ ।
“राम्रो व्यापार भएमा हिमाल आरोहणबाट मात्र हामीलाइ वर्षेनि रु १४ कराेड आम्दानी हुन्छ । कोरोना भाइरसको संक्रमणका कारण यो वर्ष हामीलाई करिब १४ करोड नोक्सान हुने देखिन्छ,” पर्वतारोहण संघ नेपालकाअध्यक्ष सन्तवीर लामाले भने, “बेरोजगारी बढ्छ । धेरै पर्यटन व्यवसायीहरुले ऋण लिएर व्यापार गरेकाले समयमा बैंकको ब्याज र किस्ता तिर्न नसक्दा डुब्ने अवस्था छ ।”
पदयात्राः पदयात्राको मुख्य आकर्षण पनि हिमाल नै हुन् । नेपालका प्रमुख पदमार्ग सगरमाथा, अन्नपूर्ण, कञ्चनजंघा, मनास्लु, मकालुजस्ता हिमाल नजिक र लाङटाङ, डोल्पोजस्ता संरक्षित क्षेत्रमा पर्छन् । टेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)की महासचिव सरिता लामाका अनुसार नेपालमा वर्षेनि १ लाख ८० हजार पर्यटकले पदयात्रा गर्छन् । त्यसरी पदयात्रा गर्नेमा युरोपेली मुलुकका नागरिक बढी हुन्छन्। पर्वतारोहण र पदयात्रा गरेर यो पर्यटन याममा मात्र १५ अर्ब रुपैयाँ घाटा हुनुका साथै एक लाख ५० हजार कामदार बेरोजगार हुनसक्ने टानका अध्यक्ष खुमबहादुर सुवेदीले बताए।
“यो सिजनल व्यवसाय भएकाले यसको दीर्घकालीन असर धेरै छ । कामदारको रोजीरोटीको सवाल छ,” टानकै लामाले बताइन् । उनका अनुसार नेपाल आउने १ लाखभन्दा बढी पदयात्रीमध्ये हरेकले दिनहुँ ८० अमेरिकी डलर खर्च गर्छन् भने १५ दिनसम्म नेपाल बस्छन्।
होटल व्यवसायः पदयात्रा वा हिमाल आरोहणका लागि आउनेसहित अन्य पर्यटकको पहिलो वासस्थान होटल हुन् राजधानी काठमाडौँ, पोखरा, चितवनलगायतका होटल अनि पदमार्गमा पर्ने होमस्टे र टि हाउससमेत मर्कामा परेका छन्। कतिपय होटलले आफ्ना कर्मचारीलाई बिदामा पठाएका छन् भने कतिले उनीहरुले काम गर्ने समय घटाएका छन्।
होटल संघ नेपालका अनुसार कोरोना भाइरसका कारण होटलको सरदर अकुपेन्सी दर १० प्रतिशत भन्दा कम रहेको छ । “न्युनतम ४० प्रतिशत अकुपेन्सी भएन भने होटल संचालन गर्न सम्भव नै हुँदैन,” संघकी अध्यक्ष सिर्जना राणाले काठमाडौँमा हालै आयोजित एक कार्यक्रममा बताइन् । प्रारम्भिक तथ्याङ्क अनुसार होटल क्षेत्रले करिब १ अर्ब ८० करोड बराबर मासिक घाटा बेहोर्ने देखिन्छ ।
पर्यटन क्षेत्र किन बढी प्रभावित हुन्छ ?
पर्यटन मूलतः सेवामूलक व्यवसाय हो । यसैले गर्दा यसको असर सोचेभन्दा बढी पर्ने विज्ञहरु बताउँछन् । लण्डनमा मुख्यालय रहेका वल्ड ट्राभल एण्ड टुरिजम काउन्सिलको सन् २०१८ को प्रतिवेदन अनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.९ प्रतिशत छ । १० लाखभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिएको यस क्षेत्रले मुलुकको अर्थतन्त्रमा करिब ४० अर्ब रुपैयाँको योगदान पुर्याएको छ । एक अध्ययन अनुसार एकजना पर्यटकले कम्तिमा ८ जनालाई रोजगारी दिन्छ। नेपालजस्तो देशमा अधिकांश परिवार एक जनाको आम्दानीमा भर पर्ने भएकाले यसको प्रभावमा ठूलो जनसंख्या पर्ने अनुमान गर्न सकिन्छ।
पर्यटन व्यवसायलाई असर गर्दा त्यसमा प्रत्यक्ष र परोक्ष रुपमा यातायात, वायुसेवा, मनोरञ्जन, खेलकुदलगायत क्षेत्रमा काम गर्ने व्यक्ति प्रभावित हुन्छन् । टानकी महासचिव लामाका अनुसार पर्यटनमा असर पर्दा होटल, यातायात र हवाई सेवालाई सबैभन्दा पहिला क्षति पुग्छ।
नेपालको पर्यटन क्षेत्रले यो संकटलाई कसरी झेलिरहेको छ ?
विगत एक सातायता पर्यटन व्यवसायीहरु सम्बन्धित सरोकारवालाहरुसँग विभिन्न राहत प्याकेज र छुटबारे छलफल गरिरहेका छन् । पर्यटन अन्तर्गतका सबै क्षेत्रले आफ्ना माग अघि सारेका छन् । व्यवसायीहरुले आफ्ना कर्मचारीलाई तलब, बैंकको ऋण र घरभाडा मुख्य चुनौती रहेको बताएका छन् । सहुलियतपूर्ण कर्जा, कर्जाको पुनःतालिकीकरण र कर छुट उनीहरुका मुख्य माग हुन् । होटल संघ नेपालका सदस्यहरुले बैंकबाट लिएको ऋण करिब एक अर्बको हाराहारीमा रहेको उक्त संस्थाकी अध्यक्ष सिर्जना राणाले बताएकी छन् ।
'सरकारले पर्यटन व्यवसायीहरुको लागि राहतको प्याकेज ल्याउनुपर्छ । सरकारले कर मिनाह दिनुपर्छ,' टानका अध्यक्ष सुवेदीले भने, ' हाम्रो व्यवसाय सामान्य अवस्थामा फर्किन एक वर्षसम्म लाग्ने हुनाले बैंक ऋण र ब्याज तिर्न सहज बनाइदिनुपर्यो। कर्मचारीलाई तलब खुवाउन आर्थिक सहयोग गर्नुपर्यो।'
सुवेदीको भनाइमा सही थाप्दै नेपाल पर्वतारोहण संघका सन्तवीर लामाले सरकारले हिमाल आरोहणको क्षेत्रमा काम गरिरहेका कामदारलाई हिमाल सरसफाई गर्न लगाउनसक्ने बताए । 'सरकारले वातावरणमा काम गर्ने संघ संस्थासँग सहकार्य गर्दै वातावरण कोषको प्रयोग गरेर हिमालको सरसफाइ थाल्नुपर्छ । यसो भएमा अहिले बेरोजगारमध्ये २५ प्रतिशतले काम पाउँछन्,' उनले भने ।
सरकारले के योजना अघि सारेको छ ?
नेपाल रिपब्लिक मिडिया प्रालिले सोेमबार कोभिड–१९ बाट नेपाली अर्थतन्त्रलाई पर्न सक्ने दुष्प्रभाव र त्यसलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने विषयमा आयोजना गरेको छलफलमा अर्थमन्त्री खतिवडाले सरकारले जुन–जुन व्यवसायमा समस्या देखिएको छ, त्यहाँ–त्यहाँ नै कर छुट र सहुलियत दिने तयारी गरिरहेको बताए । 'सरकारले कर फिर्ता लगायत कार्यक्रम ल्याएर पनि व्यवसायीको समस्या सम्बोधन गर्नेछ । हामीकहाँ निर्यातमा सहुलियत दिने नीतिनै छ,' उनले भने, 'अहिले ब्याज अनुदानसमेत दिनेछौँ । बैंकको ब्याज अनुदान दिने क्षेत्र पनि तोकेका छौँ ।'
southasiacheck.org बाट साभार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।