पूर्णप्रसाद मिश्र
काठमाडौं- उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीमा हुने गरेको वाग्मती तीर्थयात्राले ४० वर्षपछि पुनर्जीवन पाउने भएको छ।
वाग्मतीको कटुवाल दहबाट वाग्द्वारसम्म हुने १७ दिने वाग्मती तीर्थयात्रा २०३४ पछि हुन सकेको थिएन। कटुवाल दहबाट वाग्द्वारसम्मका १ सय ९५ तीर्थस्थलमा पैदल हिँडेर स्नान गर्ने विधिलाई वाग्मती यात्रा भनिन्छ।
वाग्मती प्रदूषित बन्दै गएपछि वाग्मती तीर्थयात्रा रोकिएको थियो। वाग्मती सफाइकै लागि प्रजातन्त्र पुनःस्थापनासँगै अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको गठन भयो। समिति, गायत्री परिवारलगायत सामाजिक संस्थाको सक्रियतामा २०७० जेठ ५ देखि वाग्मती सफाइ महाअभियान सुरु भएको थियो।
महाअभियानले सफाइमा जागरण ल्याए पनि २०३४ अघिको अवस्थामा वाग्मती पुग्न समय लाग्ने देखिन्छ। वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिँदै जाने क्रममा यस वर्षदेखि पशुपति क्षेत्र विकास कोषले यात्रालाई पुनःसञ्चालन गर्न लागेको सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले चैत १६ मा जारी गरेको मन्त्रालयले १०० दिनभित्र गर्ने काममा वाग्मती यात्रालाई पुनः सञ्चालन गर्ने विषय समेत उल्लेख छ।
'२०३४ सम्म वैशाख कृष्ण चतुर्दशीदेखि वैशाख शुक्ल पूर्णिमासम्म १७ दिन वाग्मती यात्रा गरिन्थ्यो,' यात्राका मूल गुरु मदन भट्टले भने।
२०३४ मा भएको यसअघिको अन्तिम यात्रामा कलश बोकेर आफू सहभागी भएको उनले स्मरण गरे। त्यसबेला यात्राका मूल गुरु पद्मप्रसाद भट्ट थिए।
'यसवर्ष वैशाख शुक्ल अष्टमीदेखि वैशाख शुक्ल पूर्णिमासम्म सात दिनको कार्यक्रम तयार पार्न लागिएको छ, वाग्मतीमै छिरेर स्नान गर्नसक्ने अवस्था छैन, नदीमा छिरेर स्नान गर्नसक्ने अवस्था नभएकाले ट्याङ्करबाट पानी लगेर तीर्थ/तीर्थमा स्नान गर्ने तयारी छ,' उनले भने।
वैशाख १० मा कटुवाल दहबाट सुरु हुने यात्रा सुन्दरीघाट–टेकु–कालमोचनघाट–शंखमूल–पशुपति, राजराजेश्वरी–गोकर्ण–सुन्दरीजल–वाग्द्वार–बूढानीलकण्ठ–साँखु बज्रयोगिनी–चाँगुनारायण–मनोहरा–गुह्येश्वरी–पशुपति विरुपाक्ष–रुद्रगाडेश्वरसम्मको यात्रा गरी वैशाख १७ गते समापन हुनेछ।
यात्राका क्रममा प्रत्येक घाटमा स्नान गरिन्छ। साँखु बज्रयोगिनीमा हवन हुन्छ। चाँचुनारायणमा दर्शन गरी मनोहरा नदीमा स्नान गरिन्छ। गुह्येश्वरी दर्शन गरेर विरुपाक्षलाई दहीच्यूरा खुवाइन्छ। रुद्रगाडेश्वरमा पुनः हवन गरेपछि वाग्मती यात्राले पूर्णता पाउने यात्राका मूलगुरु भट्टले बताए।
यसवर्ष सात दिनको अवधिमा पुनः शुरु गरी वाग्मती सफा भएपछि पुरानै स्वरुपमा १७ दिने कार्यक्रमलाई पुनर्जागरण गर्ने पशुपति क्षेत्र विकास कोषको तयारी छ।
वाग्मती सफाइ महाअभियानलाई सहयोग गर्ने उद्देश्यले पनि यात्रालाई पुनःसञ्चालन गर्न लागिएको हो। यात्राले नदीमा फोहर नगर्न जागरण फैल्याउने आशासमेत गरिएको सदस्य–सचिव ढकालले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।