रोल्पा- छोराछोरीबीच विभेद रहेकाे सुनिदै आएपनि रोल्पाको एक दूर्गम गाउँका अभिभावकले भने यस्तो मान्यतालाई व्यवहारमै तोडेका छन्। पढाइमा मात्र हाेइन पढाइपछिको सरकारी जागिरका लागि समेत वातावरण सिर्जना गरेर सबै छोरीलाई सरकारी जागिरे बनाउन सफल अभिभावक हुन् लुंग्री गाउँपालिका ६ गुम्चालका केशरबहादुर विष्ट दम्पती।
४ छोरीसहित ६ सन्तानका अभिभावक विष्ट दम्पतीका सबै छोरी सरकारी जागिरे छन्।
विष्टको जेठी छोरी बबिता विष्ट (३२) प्यूठान नगरपालिका कार्यालयमा नायव सुब्बा पदमा कार्यरत छिन्। घरको काममा आमालाई सघाउन भन्दै ४ वर्षसम्म पढाइ छाडेकी बबिताले विस्थापित भएर सदरमुकाम लिबाङ गएपछि पढाइलाई पुनः निरन्तरता दिएकी हुन्। २२ वर्षको उमेरमा एसएलसी गरेकी उनले चौथो पटकको लगातार प्रयासपछि लोकसेवा आयोगबाट नाम निकाल्न सफल भएकी हुन्।
माइली छोरी कृष्णा विष्ट (२९) मालपोत कार्यालय दाङमा नायव सुब्बा पदमा कार्यरत छिन्। गाविस सचिवबाट सरकारी सेवा आरम्भ गरेकी उनले लोक सेवा आयोगमा परीक्षा दिएको पहिलो वर्षमै नाम निकाल्न सफल भएकी हुन्।
साइली छोरी तृष्णा विष्ट (२७) रोल्पाको लुंग्री गाउँपालिकामा खरिदार पदमा कार्यरत छिन्। उनले लोकसेवा आयोगमा दिएको परीक्षामा दोस्राे पटकको परीक्षामा नाम निकालेकी हुन्। उनले अहिले आफ्नै गाउँपालिका कार्यालयमा सेवा गर्ने अवसर पाएकी छन्।
विष्टकी कान्छी छोरी चन्द्रीका विष्ट (२२) रोल्पा नगरपालिकामा सब-ईन्जिनियर पदमा कार्यरत छिन्। केही समयअघि प्रकाशित स्थानीय तहको लोकसेवा आयोगको परीक्षा पास गरेकी उनी विष्ट परिवारका चार छोरीमध्ये प्राविधिक क्षेत्रबाट जागिर खाने एकमात्र हुन्।
विष्टका २ छोरामध्ये जेठो छोरा माधव विष्ट (२५) अमेरिकाबाट सिभिल न्जिनियरिङमा स्नातक गरेका छन्। माधवले अमेरिकाको पेन्टील मेनिया स्टेटको लफायती कलेजमा अध्ययन गरेका हुन्। जुन कलेजमा वर्षेनी २ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने गरिन्छ।
उनले स्नातक अध्ययनमा फ्रान्स, भारत, जापानका विभिन्न कलेज तथा नेपालको पुल्चोकस्थित ईन्जिनियरिङ कलेजमा समेत नाम निकालेका थिए। स्नातकोत्तर अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा चेक रिपव्लीकन, नेदरल्याण्ड, जर्मनी र बेल्जीयमका विभिन्न विश्वविद्यालयमा नाम निकालेका उनले वातावरण ईन्जिनियर पढ्ने तयारीमा रहेको उनका आफन्त चोम बुढाथोकीले जानकारी दिए। कक्षा ११ र १२ काठमाडाैंस्थित सेन्टजेभियर्समा अध्ययन गरेका उनी ब्याच टपर हुन्।
विष्टका कान्छा सन्तान राधव विष्ट (२०) सूचना प्रविधि काठमाडाैंको एक कलेजमा इन्जिनियरिङ विषयमा स्नातक अध्ययनरत छन्। राधवले कक्षा ५ देखि १० सम्म बुढानीलकण्ठ स्कूलको पाल्पा शाखामा पढेका हुन्।
विष्टको विगत भने सुखद छैन। २०५४ सालमा भएको स्थानीय निकाय निर्वाचनपछि माओवादीहरुले पुरानो सत्ता खाली गर्ने भन्दै गाविसमाथि आक्रमण गर्न थाले। गाविस सचिव रहेका उनी विस्थापित भई सदरमुकाम लिबाङ आए।
राजनीतिमा खासै चासो नराख्ने विष्टको २०५९ जेष्ठ ९ गते माओवादीले घर कव्जा गरेको घोषणा गरे। बेलुकाको समय माओवादीले एक्कासी घर खाली गर्न उर्दी जारी गरेका थिए।
चार छोरी र दुई छोरासहित ८ जनाको परिवार थियो उनको। सानो छोरा ३ वर्षको थियो। अन्य छोराछोरी पनि नाबालक थिए।
माओवादीवाट बच्नका घर छोडेर तितरबितर भयो पारिवारिक व्यवस्थापन। सुरक्षित स्थानको खोजी गर्दै सुलिचौर झरेको उनको परिवार बिहान मात्रै एकठाउँमा जम्मा भई सदरमुकाम लिबाङतर्फ लागे।
'पुख्यौली सम्पत्तिसहित घर कब्जा भएपछि परिवार कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ताले कैयौं दिन सतायो विष्ट दम्पत्तिलाई। ५ वर्ष डेरामा बसेपछि सदरमुकाम लिबाङमै घर बनाएर परिवार व्यवस्थापन गरेँ,' केशरबहादुर विष्टले भने।
इन्जिनियरिङ विषय अध्ययन गरिरहेका दुई छोरा पनि नेपाल सरकारको कर्मचारी बनुन् भन्ने उनको चाहना छ।
000
गुम्चाल गाविसका सचिव विष्टको गाउँमा माओवादीको खासै प्रभाव नभए पनि हार्जङ, जैमाकसलाजस्ता छिमेकी गाविसमा भने माओवादीको बाेक्लो उपस्थिति थियो। विस्थापनसँगै विद्यालय पढ्दै गरेका ३ छोरीको पढाइसमेत अवरुद्ध भयाे।
लिबाङ आएको केही दिनपछि उनले सदरमुकाममा रहेको बालकल्याण माविमा छोरीहरूलाई भर्ना गरे। घरायसी कामले जेठी छोरी बबिताले पढाइ छोडेको ४ वर्ष भएको थियो। विष्टले जेठी छोरीलाई समेत विद्यालय भर्ना गरे।
विष्टकी श्रीमती छर्मा भने निरक्षर छिन्। कक्षा १० सम्ममात्रै अध्ययन गरेका विष्टले गाउँकै शिक्षक भएर जागिरे जीवन प्रवेश गरेका थिए। गाउंँपञ्चायतको सचिवबाट निजामती सेवामा प्रवेश गरेका विष्ट अहिले सुनिल स्मृति गाउँपालिकामा नायव सुब्बा पदमा कार्यरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।