काठमाडौं- कर्मचारी नहुँदा भारतबाट रेल ल्याउन ढिलाई भएको बताइरहेका बेला रेल विभागले २६ जना कर्मचारी माग गरेको छ।
जयनगरदेखि जनकपुरको कुर्थासम्म संचालन हुने रेल भारतको चन्नईमा बनिसकेको विभागले जनाएको छ। विभागले शुक्रबार सार्वजनिक सूचनामार्फत विभिन्न ९ पदको लागि आवेदन मागेको हो। योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने विभागले जनाएको छ।
भारतको चेन्नाइमा रेल निर्माण भइसक्दा पनि कर्मचारी नियुक्त गर्न नसक्दा रेल संचालन हुन सकेको छैन। विभागले नेपाली नागरिकले मात्रै आवेदन दिन पाउने गरि सूचना निकालेको छ। सुरुमा १५ दिनभित्र आवेदन नपरेमा पुनः सूचना प्रकाशित गरी विदेशी कामदारको भर्ना विभागको तयारी रहेको छ।
विभागले यसअघि नै २ सय कर्मचारी आवश्यक रहेको बताउँदै अर्थ मन्त्रालयमा दरबन्दी स्वीकृतिका लागि माग गरेको थियो। विभागले निकालेको सूचनामा सिनियर सेक्सनल इन्जिनियर सिग्लनिङ १ जना, स्नातक तह उत्तिर्ण गरी रेल्वे स्टेशन मास्टरको रुपमा ५ वर्ष काम गरेको अनुभव भएका ८ जना स्टेशन म्यानेजरको पनि मागेको छ।
विभागले एकजना चिफ पावर कन्टोलर र चिफ लोको इन्स्पेक्टरको पनि आवेदन खुलाएको छ। चिफ पावर कन्टोलरको लागि रेल चालकको लाइसेन्स लिएको, ५ वर्ष रेल चलाएको र ५ वर्ष पावर कन्टोलरको अनुभव भएको हुनुपर्ने छ। यसैगरी चिफ लोको इन्सपेक्टरको लागि ५ वर्ष लोको इन्स्पेक्टर भइ काम गरेको अनुभव चाहिने छ।
विभागले ३ जना मेकानिकको माग गरेको छ। साधारण लेखपढ गर्न सक्ने तथा ब्रोडगेज रेल्वेमा ५ वर्ष पोइन्टस मेनको रुपमा काम गरेको ३ जनाले पनि पोइन्टस मेन पदको लागि आवेदन दिन सकिने विभागले निकालेको सूचनामा उल्लेख गरिएको छ। साथै अन्य विभिन्न पदका लागि पनि कर्मचारी माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।