काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग सुरक्षित मुद्रण स्थापनाका लागि कमिसन मागेको कुराकानीको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रलाई पक्राउ गर्न संघीय संसदअन्तर्गको सार्वजनिक लेखा समितिले नेपाल प्रहरी साइबर क्राइम ब्युरोलाई पत्राचार गरेको छ।
लेखा समितिमा छलफलका क्रममा रहेको विषयसँग जोडी सामाजिक संजालमा अनर्गल प्रचार गरेको तथा समितिका सदस्यहरुको चरित्र हत्या गरेको भन्दै छानबिन गरी कारबाही गर्न पत्र पठाएको हो।
मिश्र कमिसन माग गर्दै सार्वजनिक भएको अडियोमा संचारमन्त्री गोकुल बाँस्कोटासँग कुराकानी गरिरहेका व्यक्ति हुन्।
उनले बिहीबार बिहानमात्रै सामाजिक संजालमार्फत लेखा समितिले सुरक्षित मुद्रण स्थापना प्रक्रियालाई बिहीबार अनुमोदन गर्न लागेको कारण बाध्य भएर आफूले अडियो सार्वजनिक गरेको बताएका थिए।
त्यस्तै अर्का एक व्यक्ति प्रभात किशोर उपाध्यायलाई पनि छानबिन र कारबाहीका लागि लेखा समितिले क्राइम ब्युरोलाई लेखी पठाएको छ।
उपाध्यायले लेखा समितिका सांसदहरुको फोटो फेसबुकमा राख्दै उनीहरु कमिसन काण्डमा मुछिएका व्यक्ति भएको लेखेका थिए।
बिहीबार बसेको लेखा समिति बैठकमा सांसद सूर्य पाठकले उपाध्यायले फेसबुकमा लेखिएको कुरा देखाउँदै कारबाहीको माग गरेका थिए।
अरु सांसदहरूले पनि सामाजिक संजालमा आफ्नो चरित्र हत्या गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग राखेपछि लेखा समितिले यस्तो निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।