काठमाडौं- संसद् सचिवालयकी कर्मचारीलाई उनकै घरमा पुगेर बलत्कार प्रयास गरेको आरोपमा १ सय ४१ दिन थुनामा बसेर सोमबार सफाई पाएका पूर्व सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभामा फर्कन तम्तयार छन्।
महराले सफाइ पाएको बारे अदालतले पत्र संसद् सचिवालयमा पठाएको पत्र मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएपछि उनको निलम्बन फुकुवा भइसक्यो। संसद् सचिवालयमा कार्यरत अनि कुनै समय आफ्नो विद्यार्थीसमेत रहेकी जाहेरीकर्ताले अदालतमा बयान फेरेपछि त्यही आधारमा टेकेर जिल्ला अदालतले महरालाई सफाइ दियो।
सभामुखजस्तो राज्यको उच्च ओहादामा पुगेको व्यक्ति मुद्दामा दबाब महसुस गर्दै आइतबार सुनुवाई समाप्त गरेका जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले सोमबार मात्र फैसला सुनायो। राय किताबमा मात्र रहेको यो फैसलाको पूर्णपाठ तयार हुँदैछ।
छिटोमा १५ दिन र ढिलोमा एक महिनाभित्र तयार हुने यो फैसलाले सफाइ दिनका लागि दुई वटा आधार लिएपनि अन्य धेरै प्रश्नको समेत उत्तर दिनुपर्ने देखिन्छ।
महरा रोशनीका कोठामा गएनन्?
महरालाई सफाइ दिन जिल्ला अदालतले लिएको पहिलो आधार जटिल देखिन्छ। घटना भएको दिन महरा जाहेरीकर्ताको कोठामा नगएको भनेर बकपत्रमा भनेकै आधार मात्र बलियो प्रमाण हुन सक्दैन।
जबकि सो दिन महरा सभामुख निवास बालुवाटारदेखि नयाँ बानेश्वर हुँदै तिनकुनेस्थित जाहेरीकर्ताको निवास नजिक पुगेको क्लोज सर्किट टेलिभिजनको फुटेज छ। तीनकुने क्षेत्रमा रहेको सिसिटिभी फुटेजमा पनि उनी जाहेरीकर्ता महिला बस्ने क्षेत्रमा पुगेको देखिएको थियो।
सरकारी वकिलको कार्यालयले प्रमाणका रूपमा सो सिसिटिभी फुटेज अदालतमा पेस गरेको छ। रातो गाडीमा गएका महरा जाहेरीकर्ताको कोठामा गएको महराको सुरक्षामा खटिएका प्रहरीको बयानमा समेत देखिन्छ।
तर अदालतले महरा जाहेरीकर्ताको कोठामा गएको नदेखिएको भन्दै सफाई दिएको छ।
यसलाई जिल्ला अदालतको फैसलाले कसरी व्याख्या गर्छ भन्ने कुरा मुख्य चासोको विषय भएको छ।
घटना भएको दिन जाहेरीकर्ता रोशनीले जाहेरी दिने बेला महरा आएको किन भनिन्? तर अदालतमा भने आउनुभएन भनेर किन इन्कारी बयान दिइन् भन्ने कुराको उत्तर पनि पूर्णपाठले दिनुपर्ने देखिन्छ।
उच्च अदालतले पुर्पक्षका लागि थुनामा गएपछि महराले नै हालेको मुद्दामा रोशनीको कोठामा गएको बारे उल्लेख गरेको छ। पुस ३ गते उच्च अदातल पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले महराका सुरक्षाकर्मी काजीराम राना मगरसमेतले बयानमा महरा रोशनीको घरभित्र गएको र डेढ घन्टासम्म हराएको बयान दिएका थिए।
उक्त बयानलाई उच्चले आफ्नो थुनछेक आदेशमा उल्लेख गर्दै रोशनीले नेपाल प्रहरीको १०० नम्बरमा फोन गरेर महराले आफूमाथि बलत्कारको प्रयास गरेको घटना विवरण सुनाएको उल्लेख गरेको छ।
जिल्ला अदालतले पनि पुर्पक्षका लागि थुनामा पठाउने भनी आदेश गरेको समयमा 'प्रतिवादी महराले कसुर नगरेको भन्न नसकिने' भनेको थियो।
कात्तिक १८ गते न्यायाधीश सुर्दशन पाण्डेको इजलासले गरेको आदेशमा महरा उक्त घरमा प्रवेश गरेको बारेमा उनकै सवारी चालक र अन्यको बयानलाई आधार मानिएको थियो।
यही आधार फैसलामा कसरी फरक पर्यो त्यो खुलाउनु पूर्णपाठको फैसलाको दायित्व हुने देखिन्छ।
चस्मा र जुत्ताको तलुवा कसको?
जाहेरीकर्ता महिलाको कोठाबाट प्रहरीले बरामद गरेको चस्मा र जुत्ताको तलुवा कसको हो भन्नेबारे जिल्ला अदालतले फैसलाको पूर्णपाठमा व्याख्या गर्नुपर्ने हुन्छ।
प्रहरीले महरा प्रकरणमा जाहेरीकर्ताको कोठामा फेला परेको चस्मा परीक्षण गरेको थियो।
प्रहरीको परीक्षणमा चस्मा महराकै भएको खुलेको थियो। जिल्ला अदालतले फैसला गर्दा चस्मामा भएको फिंगर प्रिन्ट प्रष्ट नभएको भनेको छ। फैसलाको पूर्णपाठमा यसबारे उल्लेख पक्कै होला नै।
महराको फरेन्सिक जाँचमा फिंगरप्रिन्ट नदेखिएको हो वा नभेटिएको हो, त्यो प्रारम्भिक फैसलामा खुलेको छैन। जिल्लाले सफाइ दिँदा लिएको आधारमध्येको एक भएकाले यसलाई उसले पुष्टि नगरी सफाइ दिनु तर्कसंगत ठहर गर्न सकिन्न।
उच्च अदालतले पनि आफ्नो थुनछेक आदेशमा सो चस्मा र जुत्ताको तलुवा महराको नभएको भनेको थिएन।
उच्चले घटनास्थलमा भेटिएको बदामको प्लेट, चस्माको फ्रेम र जुत्ताको तलुवालाई घटनास्थलको प्रकृति मुचुल्का मानेको छ।
उच्चले घटनाको साक्षीका रूपमा सांसद उमा रेग्मी र घटनास्थलको रिर्पोटिङ गरेका पत्रकार अजयबाबु सिवाकोटीसँग गरिएको कागजलाई पनि आधार मानेको थियो।
जिल्ला अदालतले पनि यी कुरालाई आधार र प्रमाण मानेर थुनामा पठाएको देखिन्छ।
जाहेरकर्ताको शरीमा भएको चोटको कारण
उच्च अदालतले पुर्पक्षको आदेशमा रोशनीको स्वास्थ्य परिक्षणका क्रममा शरीरका विभिन्न स्थानमा घाउ र चोट देखिएको स्वीकार गरेको छ।
यदि महरा उक्त दिन जाहेरीकर्ता रोशनीको कोठामा नगएको हो भने कसरी उनलाई घाउ चोट कसरी लागेको हो? त्यसको विस्तृत विवरण खुलाउनु पर्ने हुन्छ नै।
रोशनीको शरीरमा देखिएको चोटका कारण उनी आफैंले बनाएको देखिनुपर्यो या महराले हैन भने अन्य कसsf कारण चोट लागेको हो, भन्ने पनि खुल्नुपर्ने देखिन्छ।
जिल्लाले उक्त दिनमा महरा र रोशनीका बीचमा झगडा भएको भनी सुरुमा रोशनीले दिएको बयानलाई आधार मानेको छ। त्यसैले सफाइ दिने फैसलाको पूर्णपाठमा यसको खोजी पक्कै अपेक्षित हुन्छ।
'फरगेट एस्टडे'
जिल्ला अदालतले महरा र रोशनीबीचमा उक्त घटना भएको दिन र त्यसका केही दिनभित्र भएका टेलिफोन संवाद, फोन एसएमएस र सामाजिक सञ्जाल भाइबरलगायतमा भएका कुराकानी बारेमा पनि व्याख्या गर्ला वा नर्गला,यसै भन्न सकिने अवस्था छैन।
घटना भएको दिन र भोलिपल्ट रोशनीले महराका छोरालाई र सांसद उमा रेग्मीलाई गरेको म्यासेज र महराले पटकपटक उनलाई पठाएको एसएमएस सरकारी वकिलले अदालतलमा प्रमाणका रूपमा पेस गरेकाले जिल्ला अदालतले यसलाई किनार लगाउनसक्ने देखिन्न।
उच्च अदालतले र जिल्लाले थुनछेक आदेशमा यसलाई उल्लेख गरेकाले फैसलाका क्रममा यसको विस्तृत व्याख्या गरिनुपर्ने देखिन्छ।
जिल्लाले दुवै जनाबीच भएका कुराकानी र भिडियो पेन ड्राइभमा राखी सरकारी वकिलसँग लिएकाले त्यसको प्रमाण लाग्ने संकेत गरेको थियो।
यी विषयलाई अब कसरी अदालतले फैसलामा उल्लेख गर्ने छ, भनी चासो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।