काठमाडौं– जिल्ला अदालतले १४१ दिनपछि सभामुख रहेका कृष्णबहादुर महरालाई बलत्कार उद्योगमा सफाइ दिदाँ दुई आधारमात्र हेरे पनि अन्यलाई भने अनदेखा गरेको देखिन्छ। यौन दुर्व्यवहारमा बहालवाला सभामुख र पहुँचवाला राजनीतिक दलको नेता भएकाले बकपत्रमा हुन सक्ने होस्टाइल, अन्य परिस्थितिजन्य प्रमाण र प्रहरीले बुझाएको सिसिटिभी फुटेज र घटनाको समयमा उनले गरेको बयानलाई जिल्ला अदालतले अस्वीकार गरेको देखिन्छ।
घटनाको बयान र परिस्थितिजन्य प्रमाण
जिल्ला अदालतले रोशनीको कोठामा प्रहरीले जाहेरीपछि फेला पारेका प्रमाणहरुको विश्लेषणमा ध्यान नदिएको देखिन्छ। रोशनीको कोठामा भेटिएको महराको चस्मा, रक्सी खाएको गिलास र बोतल, सिसिटिभी फुटेजमा महरा उक्त स्थानमा पुगेको भनि देखिएको भिडियो र उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीको बयानबारे अदालतले विश्लेषण गरेको देखिँदैन।
घटनापछि दुई दिनसम्म दुवैबीचमा भएका टेलिफोन संवाद, एसएमएस र भाइवर च्याटलाई अदालतले वेवास्ता गरेको छ।
महराले घटनाको भोलिपल्ट 'फर्गेट एस्टडे' भन्ने लगायत अन्य सन्देश पठाएका थिए। महरा आफैले पनि बयानमा रोशनीको कोठाभित्र प्रवेश नगरेपछि नजिकै गएको स्वीकार गरेका छन्। तर अदालतले जाहेरवाली रोशनीले कोठामै नआएको भनि दिएको बयानलाई सफाइ दिने आधार बनाएको छ।
रोशनीले प्रहरीसँग घटना भएको समयमा दिएको बयान र अदालतमा दिएको बयानमा फरक परेपछि अदातलले यसलाई नै सफाइको आधार बनाउन सक्ने देखिँदैन। बयानमा जाहेरवाला होस्टाइल भएमा अदालतले त्यसलाई आधार मान्ने गरेको छैन। महरा पनि उच्च राजनीतिक र सार्वजनिक महत्वको पद धारण गरेको व्यक्ति भएकाले अदालतले यही आधारमात्र टेकेर सफाइ दिने निर्णय गर्नु अपर्याप्त देखिन्छ।
उच्च ओहोदाको व्यक्ति
महरा उच्च ओहोदामा रहेको व्यक्ति भएकाले पनि उनको मुद्दामा सहजै प्रमाण जुट्न दिने अवस्था रहँदैन। जोहरीकर्ता पनि सजहै रुपमा होस्टाइल हुने सम्भावना प्रवल रहेको हुन्छ।
तर, अदालतले यो पाटोको कुनै पनि विश्लेषण नगरी फैसला भएको एक जिल्ला सरकारी बकिलले बताए। बहसका क्रममा पनि रोशनीको घटनास्थलको बयान र महरा उक्त स्थानमा गएको सिसिटिभी फुटेजलगायतका कारण दोषी रहेको दावी सरकारी वकिलले गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।