काठमाडौं- दोस्रो त्रैमासिक अवधिको उत्साहजनक नाफाले दोस्रो बजारमा लगानीकर्तालाई आकर्षित गरेको छ।
कारोबार सुरु भएदेखि नै सुधारिएको बजारमा १ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ। त्यसैगरी नेप्से सूचक ४.६० अंकले सुधार भएर १३४५.९७ अंकमा रोकिएको छ।
कारोबार सुरु हुनेबित्तिकै वाणिज्य बैंकहरुको सेयरमा सुधार भए पनि केही लगानीकर्ताले नाफा बुक गर्न खोज्दा अन्तिममा बैंकिङ सूचक नै रातो देखिएको छ। त्यस्तै विकास बैंक र जलविद्युतको सूचक पनि ओरलो झरेको छ।
बुधबार सबैभन्दा धेरै नागरिक लगानीकोषको ९ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै शिवम् सिमेन्टको पनि ९ करोड ६८ लाख रुपैयाँको खरिद बिक्री भएको छ।
बजार सुधार हुने क्रममा तीनवटा कम्पनीको सेयर अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ।
मंगलबार केही सुधार भएसँगै लगानीकर्ताले कारोबार रकम बढाउन थालेका छन्। बजार सुधार हुने संकेत देख्नासाथ बजार प्रवेश गर्ने र केही घट्न थालेपछि कारोबार रकम नै घटाउने प्रवृत्ति बढेको छ।
सोमबार नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुको कार्यक्षेत्र विस्तार गर्न मिन्ने गरी नियमावली संशोधन भएको सूचना जारी गरेको थियो। यससँगै दोस्रो बजारमा मंगलबार उछाल आएको थियो।
नाफा तथा प्रतिसेयर आम्दानीका हिसाबले अगाडि देखिएको एनआइसी एसियाको सेयर मूल्य एक वर्षयताकै अधिकतम कायम भएको छ। बैंकले केही राम्रा बैंकहरुलाई पनि उछिनेपछि लगानीकर्ता आकर्षित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।