डीबी दाइले गाउँको कुरा शुरू गरेको एक घण्टाभन्दा बढी भइसकेको थियो। गायत्री लगातार घडी हेर्न थालेकी थिइन्। मैले उनको संकेत बुझेको थिएँ। तर, मेरो कान डीबी दाइका जुन कुरा सुन्न ठडिएका थिए, त्यो उनले शुरू नै गरेका थिएनन्।
“अब जौं होला !” हारथाक भएर गायत्रीले मलाई आँखाको इशाराले उठ्न संकेत गर्दै भनिन, “भोलि चाँडै उठ्नु छ। गफगाफको लागि फेरि आउँला नि!”
उनी एकछिन अडिइन् अनि भनिन्, “होइन, बरू यसो गर्नुस् – आउने शनिबार दाइ–भाउजू उतै खाना खाने गरी आउनुस् अनि गफिऊँला !”
“लौ, गज्जब भैगो नि!” देवी भाउजूले रमाउँदै भन्नुभयो, “गायत्री बैनीको हातको खाना खान पाएसि कसले नाइ भन्ने ?”
“पक्का भयो है त ?” गायत्री उठिन् र भित्रतिर हेर्दै भनिन्, “गौतम ! गीति ! तिमीहरू पनि निस्क त ढिला भयो।”
० ० ०
“दाइ !” मैले जिब्रोलाई थुकले भिजाउने कोसिस गर्दै बिस्तारै भनें, “आमालाई कस्तो रैछ ? अ...आरामै त हुनुहुन्थ्यो नि ?”
गायत्रीको अनुहारको भाव फेरियो। उठिसकेकी उनी फिर्ता सोफामा बसिन्।
“लौ ! घर जाने भन्या होइन ?” डीबी दाइका छोराहरूको साथमा उनीहरूको कोठाबाट निस्केर आएको गौतमले आएर गायत्रीको छेउमा उभिँदै भन्यो। छोरी गीति मेरो काखमा घुस्रिई।
“एक्कैछिन है !” गायत्रीले भनिन्, “बाबाको जरूरी कुरा छ अंकलसँग।”
“आमाको के कुरा र ?” डीबी दाइले मतिर हैर्दै भने, “विकाससँग बस्नुभा रै’छ। राम्रै छ।” त्यसपछि बिस्तारै जोडे, “दुब्लाउनुभा रै’छ राम्रै। हुन त बुढेसकालको ज्यान, त्यस्तै त हो।”
“म... मेरो बारेमा सोध्नुभएन ?” मैले थर्थराएको स्वरमा सोधें।
“अहँ ! तिम्रो बारेमा त केही भन्नुभएन। ‘यता सबै राम्रै छ। छोरा बुहारीहर्ले राम्रो अर्याछन्’ भन्नुभयो। अँ, बकाइनाको रूख ढलेकाले न्यास्रो भा’छ भन्नुहुन्थ्यो।”
दाइ बोल्दै थिए। मेरोचाहिँ वाक्य बसेजस्तो भयो। जर्याकजुरूक उठें र भासिएको स्वरमा भनें, “जाऊँ गायत्री ! ढिलो भयो।” मैले छोरीलाई बोकेपछि सबैजना उठे। हामी ढोकानेर पुगेपछि दाइले भने, “एउटाा कुराचैं अचम्मकै गर्नुभयो बाहुनीआमाले यसपटक।”
हामी सबै अडियौं। मैले फर्केर दाइको अनुहार हेरें। उनले हामीभन्दा अलि परै उभिएर गफमा व्यस्त मेरो र आफ्ना छोराहरूतिर पुलुक्क हेरे र अलि सानो स्वरमा भने, “तिम्लाई त थाहै छ, तो घराँ हाम्लाई कसरी हेरिन्थ्यो भनेर। कहिले यस्सो झुक्किएर कतै छोइहालियो भने नि छोइछिट्टो, सुनपानी छर्किन लाउँथे तो घरका सबैले। खासगरी बाहुन बाले। बूढा त वर्षौं भैगयो बितेको तर मदन र विकासको पारा उस्तै रै’छ आज नि।” उनले फेरि छोराहरूतिर हेरे। देवी भाउजू र गायत्रीको टिठलाग्दो भएको अनुहारतिर हेरे।
छोरी वर्षदिनकी थिई बा बित्दा। मैले उहाँको काजकिरिया यहीँ बसेर गरेको थिएँ। वर्षदिन जुठो बारेको थिएँ।
दाइ धिमा स्वरमा भन्दै थिए, “तिम्ले बाहुनी आमाको बारेमा पक्कै सोध्छौ भन्ने था’थ्यो, त्यैभ’र नि गाथें म त्याँ। मदनले मलाई बाहिरै रोकेर तीनहात परबाट बोलिटोपलेझैं गर्यो। बाहुनी आमालाई पनि बोल्न नदिन खोजेझैं गर्या थ्यो तर वाँले देख्यानदेख्यै गरेर त्यतिसम्मन् भन्न भ्याउनुभयो। म बाटो लागिसकेपछि भने बाहुनीआमा स्याँस्याँ हुने गरी दगुर्दै आउनुभयो र मेरा दुबै हात समाउनुभयो। टाउकोमा हात राखिखेर एकै वचन नबोली फर्केर जानुभयो।”
दाइ अझै आफ्नो आश्चर्य व्यक्त गर्दै थिए तर म उनीसँग बिदा पनि नमागी गीतिलाई लिएर गाडीतिर बढें। त्यहीँ उभिइरहें भने मेरो डाँको फुत्किने पक्का थियो।
आँखाको डिल नाघेर गालाको ओरालो छिचोलिसकेको आँसु पुछ्दै म ड्राइभिङ सिटमा बसें।
० ० ०
“आमा, तपैं किन जैले नि यीँ बसेर रूनुहुन्छ ?” घरपछाडिको ठूलो बकाइनोको रूखमा आड लागेर बसेर रोइरहनुभएकी आमासँग ९ वर्षको मैले सोधेको थिएँ एकदिन। आमाले मजेत्रोको फेरले आँसु पुछेर मलाई काखामा तान्दै भन्नुभाथ्यो, “बाबु ! मेरा बाउ, आमा, दाइ, भाइ भनेकै यै बकाइनाँ बोट हो। बे अरेर आम्दा एक दश दुईकी हुँदी हुम्। घरका जम्मैसँ डर लाउँथो। तिन्का अ’इ रून नि दकस लाउँथो। त्यैभ’र यीँ लुकेर रुन्थीं। सासूले कुट्दा नि यीँ आ’र रून्थीं। भोउला’यो भने नि यीँ आ’र रुन्थीं। हुँदाहुँदा यो मोरो बकाइनाँ बोट अरू जम्मैभन्दा आफ्नो हुँदै गो। अन्त्याँट तँ भेटिइस् यै बकाइनाँ फेदाँ। त्यसपछि त झन् आफ्नो भो यो मोरो बोट !”
आमाले एकैक्षण अडिएर मेरो अनुहार मुसार्नुभयो। मेरो दाहिने हात समातेर आफ्नो गालामा जोड्नुभयो अनि मसिनो स्वरमा भन्नुभयो, “भोलि–पर्सि तँ ठूलो भएसि मेराला’ई यै बकाइनाँ बोटझैं हुनू है ! अन्त्याँट म तेरो आड ला’र रुम्ला !”
मैले फरक्क फर्केर आमाको घाँटीमा झुन्डिँदै भनेथें, “म ठूलो भएसि त तपैंले रूनै पर्दैन नि ! ऐले नि बाले पिट्ता तपैं मेरै आड लाग्नुस् न। म आँसु पुछ्दिन्छु। बकाइनोले काँ’ट आँसु पुच्छ र ?”
आमाले मलाई चपक्क छातीमा टाँसेर भन्नुभाथ्यो, “लौ लौ, तेसै अरम्ला ! ठूलो भएसि आफ्ले बोल्या बात बिर्सन त बिर्सन्नस् नि ?”
“बिर्सन्न आमा !” मेरो ओठबाट रोक्दारोक्दै फुत्कियो। शरीर नराम्रोसँग काँप्यो। गाडी डगमगायो।
“लौ” गायत्री कराइन्, “वाच इट उज्ज्वल !”
म सम्हालिएँ। साइड लगाएर गाडी रोकें र पछाडि फर्केर छोराछोरीसँग सोधें, “तिमीहरू ठीक छौ ?”
“के भयो बाबा ?” गौतमले सोध्यो।
“नथिङ !” जवाफ गायत्रीले दिइन्, “रोडमा केही थियो। बाबा वान्टेड टु स्किप द्याट !” त्यसपछि छोरीतिर ढल्केर मायालु स्वरमा सोधिन्, “तिमी ठीक छ्यौ गीति ?”
निद्राले लठ्ठ परेको आँखा उघारेर छोरीले टाउको तलमाथि हल्लाएपछि गायत्रीले मेरो पाखुरामा स्पर्श गर्दै कोमल स्वरमा सोधिन्, “म ड्राइभ गरूँ ?”
“होइन, ठीक छ। थ्यांक्स’” मैले बिस्तारै भनें र गाडी अगाडि बढाएँ। त्यसपछि घरसम्मको छोटो बाटोमा हामीमध्ये कोही बोलेन।
गाडी गराजमा थन्क्याएपछि मैले छोरीलाई काखामा बोकें। गायत्रीले झोलाझ्याम्टा स्याहारिन्। हामी दुबै गराजको भित्री ढोका खोलेर घरमा छिर्यौं। गौतमले अघि बढेर बत्ती बाल्यो। मैले लगभग निदाएकी छोरीलाई उसको कोठामा लगेर सुताएँ। छोरो हामीलाई गुडनाइट भनिवरि आफ्नो कोठामा छिर्यो। गायत्रीले छोरीको लुगा फेराउन खोजिन् तर निद्राले लठ्ठ परेकी गीतिले मानिन।
“हुन्देऊ न त। मान्दिन भने किन जबर्जस्ती गर्नू’” मैले भनें। गायत्रीले एक्कैछिन मेरो अनुहार हेरेर भनिन्, “तिमी गएर फ्रेस हुँदै गर, म यसलाई सुताएर आउँछु।”
म केही नबोली बाहिर निस्किएँ।
गायत्री कोठामा आउँदा म आँखा चिम्ली भित्तापट्टि फर्केर पल्टिएको थिएँ। आफ्ना दैनिक कामबाट फारिग भएर ओच्छ्यानमा पल्टिएपछि गायत्रीले मलाई पछाडिबाट अँगाल्दै मायालु स्वरमा सोधिन्, “उज्ज्वल, डु यु वान्टु टु टक ?”
मैले झन् कसेर ओठ बन्द गरें। लाग्यो –बोलें भने आँसुले धर्म छोडिदिनेछन्। निकैबेर म नबोलेपछि गायत्री यत्तिकै निदाइन्। उनी निदाएपछि मैले उनको हात बिस्तारै आफ्नो शरीरबाट पन्छाएँ र चुपचाप बरन्डामा निस्किएँ।
आकाशमा टहटह जून चम्किएको थियो। मलाई आमाको बाटुलो, गोरो चन्द्रमाजस्तै अनुहार याद आयो।
० ० ०
“भो के, अब नकुट्नोसन् ! बालखै त हो ! हुन्दिनोस्। अब अर्दैन !” आमा बाको हातबाट लौरो खोस्न भरमग्दुर प्रयत्न गरिरहनुभएको थियो। तर अग्ला, दोहोरो शरीरका हृस्टपुस्ट बासँग दुब्ली, पातली आमाको के लाग्नू ?
“तैंले यै भनी भनी बिआरेकी होस् यल्लाई !” बा आमामाथि जाइलाग्नुभो, “नत्र सुन्नपर्नी होइन येल्ले मेरो कुरा ? यत्रो भुस्तिघ्रे भैसको, बात नबुझ्नी भए नि एउटाा कुरो !”
“अर्दैन के अब अर्दैन ! अरो भनी मैं भाचुँम्ला यस्का करङका भाटा। छोड्दिनुसन् भौमान ! रअतै आइसको मुखा’ट !” आमाले काँतर स्वरमा भन्नुभयो।
बाले हातको लौरो त्यहीँ छेउमा मिल्काएर हामी आमाछोरालाई आग्नेय नेत्रले हेर्दै गर्जिनुभयो, “कसरी सम्झाउनी हो सम्झा यल्लाई ! अब आइन्दा तो दमैको घराँ पसेर क्यै खा देखीँ भनी घोक्रा’र निकाल्दिन्छु घरा’ट। बज्जे ! तिनर्कै सगोत्री र’छ र हो कि, तिनर्सैं उठबस अर्छ जत्खेर नि !”
आमाले मलाई आफ्नो दुब्लो पातलो शरीरको आडमा छेक्दै भन्नुभो, “के बात अर्या होला ? अरूले सुने नि अनर्थ हुनी...”
“नत्र यैमात्तै किन यस्तो हुन्थो ? तिनर्कै चुलाँ नाभी गाड्याजस्तै बज्जेको, जत्खेर नि तीँ बास !” त्यसपछि बा अलि सानो स्वरमा गन्गनाउनुभयो, “भन्या हो मैले, यल्लाई नराखौं। कस्ताको रअत हो, के हो भनेर। आइमाई जातको बात सुन्या भ’र हो क्या, यो झमेलो आइला’या !” बाले फतफताउँदै आँगनको डिल काटेपछि आमाले मेरो पिठ्यूँमा पड्याङ पिटेर भन्नुभो, “हैन कत्तिको बात सुन्नी बनाम्छस् भन्या तैंले मलाई ?”
“ऐया !” म पेट समातेर दोब्रिदै कराएँ, “मरें नि !”
“लौ न !” आमा कहालिएर मलाई छाँद हाल्न आउनुभयो, “मेरा भाँचिया हात ! बाबु ! सारोअरि ला’यो ? काँ ला’यो भन्त ?”
मैले हाँस्दै आमालाई अँगालें। आमा एक्कैछिन रोऊँ कि हाँसौंझैँ गरी मलाई हेरिरहनुभयो अनि मेरो काटिएको ओठ वरिपरि लतपतिएको रगतलाई आफ्नो पछेउराको फेरले पुछ्दै करूण स्वरमा भन्नुभयो, “किन बाको बात मान्दैनस् ? किन बिथ्थामा गोदाइ खाइरन्छ’स् बाको, भन्त ?”
“आमा ! धने दाइ पनि त मान्छे नै हुन्। उन्लाई काटे नि हाम्रो जस्तै रअत नै आउँछ। उनर्को परिवारका सबैले मयाँ अर्छन् मलाई। बालाई मत्तै किन नराम्रो लाउनी हो ?”
“मानी आ’को चलनचल्ती यै त हो, बाले मत्तै हो र ? अन्त कस्का घराँ छिर्न दिन्छन् तिन्लाई, भन्त ?” आमाले एक्कैछिन मेरो अनुहार हेरेर मायालाग्दो स्वरमा भन्नुभयो, “पैले पो बालख थिस् लौ, बुझिनस्। अब त एक–बीसको हुनै लाइस्। अब बुझिनस् भने कैले बुझ्लास् ? मेरो नि शरीरको रअत सुक्यो, बूढी भएँ अब। कैलेसम्मन् बाको लौरोबट तँलाई जोगाउँला भन्त ?” आमाले मेरोसामु हात जोड्नुभयो, “बाको कुरो नसुने नि मेरो सुन् बाबु ! संअत अर्न छोड्दे तिनर्को...।”
मैले झटपट आमाको मेरो सामु जोडिएको हात थामेर हतारिएर भनें, “छोड्दिएँ ! तपैं हात जोडेर मलाई पाप नबोकौनुस् त ! म अब जान्न तिनर्को घराँ। बाटाँ भेटे नि बोल्दिनँ,” मेरो स्वर रूँघियो, “तोभन्दा पैले एक्चोटि धनेदाइलाई भेटेर...”
आमाले मलाई अँगालो हाल्नुभयो, “मैले तिन्लाई नभेट् भन्या हो र ? बाले, तेरा भाइहर्ले नदेख्नी अरी भेटे ...”
“होइन आमा ! म एक्चोटि धनेदाइस’अँ कुरा अर्छु, त्याँ’ट तिनर्संग टाढै बस्छु।” मैले दृढ स्वरमा भनें। मेरो अठोट सुनेर पनि आमाको अनुहार मलिन भइरह्यो। किनकि आमालाई थाहा थियो( गाउँभरिमा धनेदाइ जत्तिको नजिकको मेरो अरू कोही साथी थिएनन्।
मदन, विकास र भरतजस्तै म मेरा बा–आमाको आफ्नै सन्तान थिइनँ।
जाडो महिनाको एउटा रातमा पिसाब फेर्न बाहिर निस्किँदा आमाले मलाई घरपछाडिको बकाइनाको रूखमुनि सालनालसहित कठ्यांग्रिएर जम्नै लागेको फेला पार्नुभाथ्यो रे ! त्यसपछि उहाँ मेरो आमामात्र होइन, सिंगो संसार बनिदिनुभयो। पञ्चायत जोडिए। मलाई शहरको अनाथालयसम्म छोडेर आउने निधो भयो रे ! तर अहँ( आमाले मलाई काखबाट अलग गर्न मान्नुभएन रे ! सबैसँग दबेर, दकस मानेर बोल्ने मेरी दुब्ली, पातली आमाले खै कसरी जित्नुभयो सारा समाज र घरपरिवार सँग ! आफ्नो छातीको तातोले सेकेर मलाई यसरी हुर्काउनुभयो( मानौं म उहाँको कोख चिरेर जन्मेको थिएँ।
त्यसको लगभग एक वर्षपछि मदन जन्मेको थियो। त्यसपछि विकास। त्यसपछि भरत। उनीहरू नजन्मिँदासम्म आमालाई ‘बाँझी’ भनेर बाको अर्को बिहे गर्न ठिक्क परेको परिवारले त मलाई कहिल्यै स्वीकारेन। उनीहरूको देखासिकी गरेरै मदन, विकास र भरतले पनि स्वीकारेनन्। उनीहरू मेरा लागि भाइ थिए तर म उनीहरूको दाइ थिइनँ। कहिल्यै हुन सकिनँ। उनीहरू बाका प्रिय थिए, म आमाको। उनीहरू मेरो ईष्र्या गर्थे, म उनीहरूको। सम्बन्ध सहज भएन भने मनले स्वीकार्न सक्दैन र मनले नस्वीकारेको सम्बन्ध जतिसुकै कोसिस गरे पनि कहिल्यै आफ्नो हुन सक्दैन। हामी पनि कहिल्यै एक–अर्काको हुन सकेनौं। त्यसैले पनि म बात–बेबात बाको लौरो भेटिरहन्थें। मदन र विकास मेरो चुगली लगाइराख्थे। बा उनीहरूको कुरा सुनेर मेरो ढाडमा लौरो पड्काइरहनुहुन्थ्यो। आमा मलाई बचाइरहनुहुन्थ्यो। यही दिनचर्या बाँच्दै ठूलो भएँ म।
“बाले मदन, विकास र भरतेलाई मत्तै मयाँ अर्नुहुन्छ, मलाई अर्नहुन्न,” म आमासँग गुनासो गरिरहन्थें।
“तँलाई मेरो मयाँले मत्तै पुग्दैन र ?” जवाफमा आमा उल्टै मसँग सोध्नुहुन्थ्यो। म निरुत्तर हुन्थें।
समयले मेरो त्यो गुनासोको उत्तर दिएपछि मैले उनीहरूसँग ईष्र्या गर्न छोडें। बाको माया र आफ्नोपनको आशा गर्न छोडें। म आमाको संसारमा र आमा मेरो संसारमा यतिविधि छायौं कि हामीलाई अरू कुनै कुराको कमी अनूभूतै भएन। खासगरी मलाई। आमासँग मेरो सालनाल होइन, मन र आत्मा गाँसिएको थियो। त्यसैले शायद मेरो सम्बन्ध उहाँसँग त्यति प्रगाढ र कसिलो थियो। सालनाल त के– त्यो त बच्चा जन्मनासाथ काटेर अलग गरिन्छ। जोडिने त मन हो। म आमासँग मनले जोडिएको थिएँ।
हाम्रो गाउँको पुछारमा धनबहादुर दाइको घर थियो। निकै वर्षअघि कुनै ठूलाबडाले आफ्ना लुगाफाटा सिलाउने सुविधाका लागि उनका जिजुबाजेलाई त्यो गाउँको पुछारमा एउटा गोठ र अलिकति जग्गा दिएर स्थापित गरेका थिए रे ! पछि ऐलानी बाँझो बिराएर, घरजग्गा जोडेर त्यो परिवार त्यहीँ स्थापित भयो। यो गाउँमा धनेदाइको पुस्ता चौथो पुस्ता थियो तर पनि उनीहरूका लागि बाहुनहरूको बाहुल्य भएको त्यस गाउँका धेरै ठाउँ बर्जित थिए। खासगरी मेरो बाको त खास शत्रुता थियो धनेदाइको परिवारसँग। मौका खोजिरहनुहुन्थ्यो उनीहरूलाई यो गाउँबाट धपाउन।
घने दाइ मभन्दा तीन–चार वर्ष ठूला थिए तर पनि हामीबीच पक्का दोस्ती थियो। यसको कारण शायद यही थियो( म पनि त्यस गाउँ र स्कुलमा अवाञ्छित जस्तै नै थिएँ। मलाई पनि प्रायः सबैले उपेक्षा गर्थे। जातभातको ठेगान नभएको भनेर मेरो मजाक उडाउँथे। यसरी मेरो मजाक उडाउनेमा मदन र विकास सबैभन्दा अगाडि हुन्थे।
स्कुलको पछिल्लो बेन्चमा एक्लै बसेर दाइले एसएलसी पास गरेका थिए। बाले त लागेपुगेको कसरत गर्नुभाथ्यो रे उनलाई स्कुलमा भर्ना हुन नदिन। तर, आफ्नो व्यवहारले कसैलाई नबिझाउने धनेदाइ र उनको परिवारप्रति सहानुभूति राख्ने सीमित परिवारको हस्तक्षेपमा दाइले स्कुलमा प्रवेश पाएका थिए।
एसएलसी द्वितीय श्रेणीमा उत्तीर्ण भएका दाइ विगत दुई वर्षदेखि शहर बसेर कलेज पढ्दै थिए। उनी शहर पसेपछि मैले बाको हातबाट खाने पिटाइको निहुँमा एउटा निहुँ कम भएको थियो। तर, उनी शहरबाट आएका बेला बाको रिसको पारा पुनः अकासिन्थ्यो। अहिले त झन् निहुँको भारी पुगेको थियो बालाई– कलेज जो पढ्दै थिए धनेदाइ।
“कलेज पढोस् कि जेसुकै अरोस्, दमै न हो। तेल्ले कलेज पढेर आफ्नो जात फेर्न सौ’छ र ?” बा गर्जिनुहुन्थ्यो। मलाई ननिको लाग्थ्यो तर बासँग कसको जोर चल्थ्यो र ! अरू बेला उनको घर नगए पनि दाइ गाउँ आएका बेला म लुकीचोरी उनको घर पुग्थें। तर, कसरी–कसरी बाको कानसम्म कुरो पुगिहाल्थ्यो। त्यसपछि भेट्थें मैले रामधुलाइ।
बाको पटक–पटकको पिटाइले नचेतेको मलाई यतिखेर भने आमाको आँसुले कमजोर बनायो। म बाको जत्ति पनि पिटाइ सहन सक्थें तर आमाको आँसु सहन सक्थिनँ। मेरो कारणले कति रूवाऊँ, हात जोड्न बाध्य बनाऊँ आमालाई ? अहँ ! अब मैले आमालाई यसरी रूवाइरहनु हुँदैन !
तर, मैले त धनेदाइसँग कत्ति कुरा गर्नै बाँकी छ। खासगरी गायत्री मिसको बारेमा। पोहोरसाल एसएलसी पास गरेर हुनेखाने बाउको पहुँचको भरमा हाम्रै स्कुलमा साना कक्षामा पढाउन शुरू गरेकी गायत्री मिस लगभग मेरै उमेरकी थिइन्। यसपालि मैले एसएलसी दिएर सकेपछि बाटोघाटोमा भेट हुँदा मसक्क मस्केर मुस्कुराउने गायत्री मिसले अस्ति बाटोमा भेट्दा दिएको चिठ्ठी त देखाएकै छैन मैले धनेदाइलाई। दाइ शहरबाट आएपछि उनीसँग सल्लाह माग्ने सोचेको मात्रै थिएँ के गरौं भनेर। तर, अब ?
त्यो दिनभरि म चिन्तित भावले वनपात र घरको काममा लागिरहें। आमाले मेरो चिन्तित अनुहार देखेर कयौं पटक मेरो गाला मुसारेर, निधार छामेर हेर्नुभयो।
भोलिपल्ट साँझमा बा, मदन र म खेतबाट फर्किंदा खोलाको छेउमा टुप्लुक्क धनेदाइ भेटिए।
“ए उज्वल ! एक्कैछिन उता समीको रुखतिर उक्ल त !” उनले सानो स्वरमा भने र खुरूखुरू अघि बढे। मैले टाउको उठाइनँ र पनि बा र मदनको आँखा मैमा गाडिएको अनूभूत गरिरहेको थिएँ।
म समीको रूखमुनि पुगेपछि मलाई कुरेर बसेका दाइले कुनै भूमिका नबाँधिकनै सुनाए– उनीहरू सपरिवार शहर बसाइ सर्न लागेको कुरा। मेरो मन खिन्न भयो। मनको कुरा बाँड्न मिल्ने एकजना पनि शहरकै हुने भएपछि अब कसले सुनिदेला मेरा कुरा ? मैले त्यसदिन धनबहादुर दाइलाई गायत्री मिसको कुरा भन्न सकिनँ। सल्लाह माग्न सकिनँ। यतिबेला गाउँ छोड्ने कुराले दाइ आफैं उदास थिए। मेरोभन्दा उनको समस्या ठूलो थियो।
दुई दिनपछि उनीहरूले गाउँ छोडे। बाले ‘हाइसन्चो’ भन्नुभयो। भाइहरूले पनि बाले झैं खुशी भएर देखाए। आमा भने मजस्तै उदास देखिनुभयो !
एक्लिएको म बिस्तारै–बिस्तारै गायत्री मिसतिर ढल्किँदै गएँ। अरू कोही त उनका पनि थिएनन्। उनकी आमा उनी सानै हुँदा बितिसकेकी थिइन्, बाउ मेरै बाको छाँटका थिए। बाउ नै आफ्ना हुन नसकेपछि सौतेनी आमा आफ्नो हुने कुरै आएन।
मेरो त संसारभन्दा विशाल मन भएकी आमा हुनुहुन्थ्यो कुरा सुन्न। माया गर्न। तर, उनको कुरा सुन्ने, माया गर्ने कोही छँदै थिएनन्। शायद त्यसैले पनि होला– उनी र मबीचको घनिष्टता सीमित समयमै नमेटिने गरी कोरियो– हामी दुबैको मन र जीवनमा।
एकदिन मैले चामल केलाइरहेकी आमाको पिठ्यूँमा टाँसिँदै लाडे पल्टेर सोधें, “आमा ! मेरो बे अर्निबेला भएन र भन्या ?”
“जा, बज्जे !” आमाले मलाई आफूबाट पर घचेट्दै भन्नुभयो, “कसैले सुने नि के भन्नी हुन् ? कस्तो नकटो तँ ! आफ्नो बे’को कुरो नि आफैं अर्नी। शरम पचेको !”
“लौ ! बाले, तपैंले नअरेसि आफैं अर्न परेन त ? तेइमाथि नि तपैं दश र दुईकी हुँदा तपैंको बे भैसक्याथ्यो। म अर्को साल एक–बीसको हुन्छु। अब भन्नुस् त, यो निसाफ भयो त ?”
आमा मन खोलेर हाँस्नुभयो एकछिन। मेरी आमाको ओठमा यसरी मुस्कान फुलेको एकदमै कम देखेको छु मैले। र, योजति सुन्दर, पवित्र र पुजनीय फूल अरू कुनै होला यो सृष्टिमा ? म मान्नै सक्दिनँ।
“लु भन्,” आमाले हाँसो रोक्न खोज्दै भन्नुभयो, “कस्ती केटीसँ बे अर्छस् तँ ?”
म आमाको अनुहार हेरेर एकैछिन हिच्किचाएँ अनि बिस्तारै भनें, “गायत्री मिसजस्तै !”
एकैक्षण आमाको अनुहारमा आँधीबेहरी चल्यो। उहाँले केलाउँदा केलाउँदैको चामलको सुपो भुइँमा छोडेर क्वारक्वार्ती मलाई हेर्नुभयो।
“के भो आमा ?” आमाको अनुहारको भावसँग तर्सिदै सोधें।
“क्यै हैन !” आमा सजग हुनुभयो र सुपो उठाउँदै टाउको नउठाइकन सोध्नुभयो, “गायत्री मिस नै किन मन परिन् तँलाई ?”
“खै ? उसै मन पर्छिन् !” लाजले भुतुक्क हुँदै भनें, “मिसले पनि मलाई मन परौंछिन्।”
“कल्ले भनो ?” आमाले सोध्नुभयो, यसपटक मेरो अनुहारमा हेरेर।
“उनैले भनेकी,” मैले टाउको झुकाएरै भनें।
“तैंले उन्सँ यस्तो–उस्तो बात अरेको त हैन नि ?” आमाको अनुहारमा अनौठो डर थियो।
“सत्ते धरोधर्म ! म किन यस्तो–उस्तो भन्थें र आमा ? तपैंको छोरो पो हुँ, छोरीमुन्छेलाई इजेत अर्न जान्या छु मैले। तो त उनैले लेखेर दिएकी थिइन् र पो ! उनले भनेसि मत्तै...,” म के भनौं–भनौं भएर चुप लागें। आमाको अनुहारको अनौठो भावले मलाई नराम्ररी तर्साएको थियो।
एकहप्ता बित्यो।
गायत्री मिस र मेरो बीचमा थुप्रै कुरा साटफेर भए। जीवन साथै बिताउने वाचाकसम साटिए। कस्तै आपतविपतमा पनि साथ नछोड्ने अठोटको डोरीले एक–अर्कालाई बाँध्न भ्याइसकेका थियौं।
त्यसदिन पनि गायत्री मिससँग भेटेर भविष्यको सुनौलो सपना देख्दै घर फर्किएको मलाई थाहै थिएन घरमा कत्रो ठूलो वितण्डा मेरो पर्खाइमा थियो भनेर।
“काँ थिस् ?” बा मलाई देख्नासाथ उड्किनुभयो, “यत्खेरसम्मन् काँ थिस् ?”
“म...म...,” अलि पर टाउको झुकाएर बसेकी आमातिर गुप्त दृष्टि फ्याँक्दै मैले भन्न खोजें तर मैले कुनै बहाना जोड्नुभन्दा पहिल्यै विकासले विष भरिएको स्वरमा भन्यो, “झुटो बोल्नी त सोच्दा नि नसोचेस्। मैले तँलाई र गायत्री मिसलाई समीको फेदाँ टाउको जोडेर बस्या देख्या हुम्।”
मदन मर्मुरिँदै उठ्यो। मैले असहाय भावले आमातर्फ हेरें। बाले मदनको हात समातेर उसलाई बस्न इसारा गर्नुभयो। मदन नाक–मुखबाट रिसको मुस्लो छोड्दै थेच्चारियो।
“विकासेले भन्या साँचो हो ?” बाले फेरि सोध्नुभो।
मेरो झुटो बोल्ने हिम्मत भएन। साँचो बोल्ने त झन् हुने कुरै भएन। बा, मदन र विकास भेला हुँदा जहिले पनि मेरो सधैंभन्दा धेरै दुर्गति हुने गर्छ। यस्तो बेलामा आमाको पनि केहीसीप लाग्दैन। आज के अनर्थ हुने हो ! म सोचेरै डराएँ।
“भनेसि कुरो साँचो हो ?” बाले यसरी भन्नुभयो– मानौं कुनै मुद्दाको छिनोफानो गर्न जानुहुँदै थियो। मैले फेरि मद्दत मागेजस्तै गरी आमातिर हेरें। आमाले अझै टाउको उठाउनुभएन। मलाई लाग्यो–म त्यहाँ आउनुभन्दा पहिल्यै मेरो भविष्यको निर्णय भइसकेको थियो। शायद त्यसैले आमा मतिर हेर्न डराइरहनुभएको थियो।
“ए विकासे ! जा, जा बाहिर दलिनाँ घुसारेको मेरो लौरी झिकेर ले !” बाले विकासलाई अह्राएपछि बल्ल आमाले टाउको उठाउनुभयो। उहाँको अनुहार आतंकित देखिन्थ्यो।
विकासले बाहिरतिर कदम बढाएपछि आमा झटपट उठेर मेरो छेउमा आउनुभयो र मेरो पाखुरा समातेर जबर्जस्ती मलाई बाहिरतिर धकेल्न खोज्दै कराउनुभयो, “निस्की ! एैले भख्खर निस्की मेरो घरा’ट। तँ कुलंघारलाई अब यौछिन बास दिन्नँ मेरो घराँ। लौ निस्किहाल् !”
“आमा ! के भन्नुभा यो ?” मैले आमाको हात थामें। बा पनि जिल्ल परेर हामीलाई हेर्न थाल्नुभो। विकासले बाहिर निस्कन बिर्सियो।
“मलाई नभन् आमा। म तेरी आमा होइन। भा’भे तैंले यो भाउँतो अर्थिस् र ? जा निस्की। घरमत्तै होइन, गावैं छोडेर जा बरू !” आमाले मलाई भएभरको बल लगाएर बाहिरतिर धकेल्नुभयो।
“म तपैंलाई छोडेर कैं जान्न के !” मैले आमालाई अँगाले, “मैले क्यै भाउँतो अर्या छैन आमा ! जे अर्या छु, तो तपाईं...”
“उजोल ! तैंले मलाई एकै निमेषकालाई आमा मान्या होस् भनी एैल्यै निस्की यो घरा’ट। फेरि फर्केर याँ कसैलाई मुख देखाउन नआइजो। तेरो र हाम्रो अन्नपानी यैंसम्मन् साझा थ्यो। अब आगे तेरो तैं जान्। हाम्रो हाम्लाई मिलाम्न दे। जा निस्की ! मलाई तेरो अनार नदेखा। जा !” आमाले मतिर हात जोड्नुभयो र फरक्क फर्केर भान्सातिर छिर्नुभयो। म थर्थराएको कदमले बाहिर निस्किएँ। हुरूक्कै प्राण जालाजस्तै भयो एकछिन। त्यसपछि मेरो रिसको पारा यस्तरी चढ्यो– म आफ्ना अगाडि परेका सबै कुरालाई लात्ताले बजाउँदै अघि बढें। मरुन् सबै, खाँचैसिति ! मलाई नि के मतलब ! म रूँदै, रन्थनिँदै समीको रूखमुनि गएर बसें र डाँको छोडेर रोएँ।
आधा रातसम्म लागिरह्यो– आमा मलाई खोज्दै आउनुहुनेछ र फकाएर घर लैजानुहुनेछ। त्यसपछि सबै ठीक भइहाल्छ। पहिले पनि त भएकै हुन् यस्ता झगडा। तर, आमाले कहिल्यै निस्केर जा भन्नुभाथे’न। कहिल्यै ‘म तेरो आमा होइन ! भन्नुभाथे’न। बाले घोक्र्याएर, गलहत्याएर निकालेको त लेखाजोखा नै थिएन तर आमा भोकैप्यासै मलाई खोज्न हिँडिहाल्नहुन्थ्यो। फकाएर, मनाएर मलाई घर लैजानुहुन्थ्यो। आफ्नै हातले खाना ख्वाउनुहुन्थ्यो र मलाई घरमा हुलेबापत निलाम्ये हुनेगरी बाको पिटाइ खानुहुन्थ्यो। जति–जति ती कुराहरू सम्झन्थें, त्यति–त्यति मेरो मन काटिन्थ्यो। म रूँदै, छट्पटाउँदै त्यहीँ समीको फेदमा निदाएँ।
रातको कुन्नि कतिबेला गायत्री मिसले कोट्याएर उठाएपछि म ब्युझिएँ। सकिनसकी दुइटा झोला बोकेर मेरो सामु उभिएकी गायत्री भन्दै थिइन्, “उठ उज्वल ! केहीबेरमा उजेलो भएसि हिँडिसाध्य हुन्न। छिट्टो अ’र !”
“त... तपैंले कसरी था’ पाउनुभयो म याँ भा’कुरा ?” मैले अक्मकिँदै सोधें।
“यो बेला हो यी बात अर्नी ? उठ ! हिँड ! याँ म ज्यान परान जोखिममा पारेर आ’छु, तिमी भने...। उठ भन्या !” उन्ले मलाई बल लगाएर तानिन्। म उठें।
“तर मिस... आमा...”
“हिँड के ! आमाको कुरो पछि अरौंला ! तिम्रा, मेरा घर्काले हाम्लाई ऐले याँ फेला पारे भनी ज्यानै लिन्छन्। ज्यान लिए नि एउटौ चिहान बनाइदे त हुन्थ्यो तर हाम्लाई त भिन्दाभिन्दै पोल्छन् र पो !” उनी रून थालिन्।
“कता जानी ?” मैले डराउँदै सोधें। उनी अघि लागिन्। म उनको पछि लागें।
त्यो दिन नै मेरो अन्तिम दिन थियो त्यस गाउँमा।
शहर पुगेर हामी धनेदाइले हिँड्ने बेला मेरो हातमा हालिदिएको चिर्कटोमा लेखिएको ठेगाना पहिल्याउँदै बालाजु पुग्यौं।
दाइले हामीलाई एकसाथ देखेरै सबै कुरा बुझे मानौं। केही सोधेनन्। केही भनेनन्।
त्यो रात हामीले उनको परिवारमा मिसिएर परिवारकै सदस्यझैं रात बितायौं। भोलिपल्ट बिहानै उनले हामीलाई त्यहीँ नजिकको भगवती मन्दिरमा पुर्याए। एउटा पण्डित समातेर टीकाटालो, फूलमाला गरेर लगाएकै लुगामा बिहे गराइदिए र भने, “हेर उज्वल ! तिम्रा बा, भाइ र मिसका बा तिमर्लाई खोज्न आए भने मैंकाँ आउँछन्। त्यसैले म तिमर्लाई मेरो डेराँ राख्न सक्दिनँ।”
उनको कुरा सुनेर हामी दुबैको अनुहार विवर्ण भयो। शहरको अनुभव र अरू कुनै आधार थिएन हामीसँग।
“हैन, किन आत्तिएका भन्या ?” दाइले भने, “सुर्ता नअर क्या। मेरो फुपू छिन् गोदावरीमा। म तिमर्लाई त्यैं छोडेर आउँछु। तेतै घरजम अरेर बस। कसैले पत्तो पाउन्न। उसै पनि म त अम्रिका जानी भा’छु। डीभी पर्या छ मलाई।”
उनले भनेको ‘अम्रिका जानी’ कुरो मैले राम्ररी बुझ्या थिइनँ। गायत्री मिसले के–कति बुझिन्, उनै जानून्।
हामी गोदावरीमै व्यवस्थित भयौं। गायत्रीले त्यहीँको एउटा स्कुलमा काम पाइन्। मैले पाटन क्याम्पस पढ्दै सानोतिनो भेटेको काम गरिरहें।
मेरो आमासँगको रिस अझै मरेको थिएन। अरुले जे गरे पनि आमाबाट मैले त्यो अपेक्षा गरेको थिइनँ। कसरी सक्नुभयो उहाँले त्यो सब कुरा भन्न ? म उहाँले जन्माएका मदन, विकास र भरतजस्तै उहाँकै सन्तान भएको भए मलाई बिनाकसुर त्यसरी रातबिरात नभनी घरबाट निकाल्नुहुथ्यो ? उहाँ मेरी आमाजस्ती मात्रै हुनुहुन्थ्यो, आमा हुनुहुन्थेन, शायद त्यसैले। मेरो छाती निचोरिएर आउँथ्यो। म ती अनगिन्ती दिन सम्झिन्थें, जब आमाले मेरा लागि बाको कुटाइ खानुहुन्थ्यो। गाली त कति कति। एकदिन मैले बाको चुटाइले थिलोथिलो भएको उहाँको अनुहार मुसार्दै सोधेको थिएँ, “आमा भन्नू त, तपैंलाई सबैभन्दा धेरै मयाँ कसको लाउँछ ? बाको, मदनको, विकासको, भरतेको कि मेरो ?”
“तेरो !” आमाले एकक्षण नसोची भन्नुभा’थ्यो।
“उस् ! होला नि अब !” मैले एकटक उहाँको आँखामा हेरेर सोधेको थिएँ, “किन, भन्नुस् त ?”
“दुइटा कारन छन्,” आमाले मेरो नाकमा चिमोटेर भन्नुभाथ्यो, “मदन, विकास, भरतभन्दा पैले तँ आथिस् मेरो पोल्टाँ। तेरो लक्षिनले यिनरू पछिपछि आका। अर्को...” उहाँ एकैछिन अडिएर भन्नुभाथ्यो, “तँ त मेरो बकाइनाँ बोट। तँजत्तिको अरू को हुन सौ’छ भन् त ? बा पनि हुन सौनुहुन्न। कोई नि हुन सौदैनन्।”
मलाई विश्वास लाग्थेन त्यस्ती आमाले मलाई घोक्राएर घरबाट निकाल्नुभा’थ्यो।
तीन वर्ष बित्यो। हामीलाई पनि डिभी पर्यो। अमेरिकामा एक्लै बसौं कि फर्कौं भएका धनेदाइ हामीलाई डीभी परेको सुनेर दंगदास परे। हामीले अमेरिका उड्ने तयारी गर्यौं। यो तयारीमा दाइले खुब मद्दत गरे।
सबै कुम्लोकटेरो कसेर अमेरिका पुर्याउने प्लेनमा बसिसकेपछि मेरो ध्यान गायत्रीको कानको बालीमा अल्झियो। मैले पहिले कहिल्यै त्यो बाली उनको कानमा देखेको थिइनँ। मैले त्यसरी एकोहोरो उनको कानमा हेरिरहेपछि उनले सोधिन्, “के हेर्या त्यसरी ?”
“क्यै हैन।” मैले बिस्तारै भनें र मुन्टो बटारेर बाहिरतिर हेर्न थालें। तर, मेरो ध्यान फेरि गायत्रीको बालीमै पुगेर अडियो। मैले फेरि उतै हेरें। ठ्याक्कै आमाको कानका बालीजस्ता !
“आमाकै हो !” यसपटक मैले उनको कानमा हेरिरहँदा गायत्रीले मेरो हात समातेर कोमल स्वरमा भनिन्।
“आमाले किरिया ख्वाउना’थ्यो, तिमीलाई केही नभन्नू भनेर। एत्खेर आकासाँ छौं। आमाको किरिया धरतीमै छुट्यो भन्ने विश्वास मानेर भन्दै छु। मलाई पाप नलाओस्,” उनले हात जोडिन् र बिस्तारै भनिन्, “त्यो दिन आमा मेरो घराँ आउना’थ्यो।”
“कुन दिन ?” मैले व्यग्र स्वरमा भनें, “कुन दिनको कुरा अरेको तिम्ले ?”
गायत्री मेरो कुरै नसुनी एकसुरले बोलिरहिन्, “मेरा बा र तिम्रा बाले मेरो र मदनको बे छिन्देका रैचन्। हाम्लाई सोध्दै नसोधी। तिम्री आमाले था’पा’र बालाई मनाउन खोज्दा ढाड भाँचिनेअ’री गोदेछन् बूढाले आमालाई !”
“गायत्री !” मेरो आँखामा भुलुक्क आँसु उम्लियो, “तिम्ले मलाई पैल्यै किन भनिनौ ?”
“मेरो ठाउँमा तिमी भा’भे भन्थ्यौ र आमाले किरिया ख्वाएसि ?” गायत्रीले सोधिन्। मैले टाउको झुकाएर आँसु पुछें।
“राति पिसाब फेर्न बाहिर निस्केकी थिएँ। तिम्री आमा मेरो दैलोमा कुन्नि कत्खेरदेखि आ’र बस्ना’रैछ,” गायत्रीको स्वर रूँघियो, “मेरो अनार देख्नीबित्तिकै सोध्न’यो– ‘मेरो उजोललाई मयाँ अर्छ्यौ ? मन पराउँछ्यौ तेल्लाई ? ! त्यसपछि मेरो जवाफै नसुनी मलाई अँगालेर भन्न’यो– ‘ढिलो नअ’र। तेल्लाई ले ! र शहरतिरै ग’र बस। तो याँ बसो भनी गिँडेर मादीमा फाल्दिन्छन्। तेल्लाई कुरा बुझाउन सौदिनँ, तेसैले तिम्लाई भन्न आ ! की। ऐल्यै हिँडिहाल। उजेलो भएसि के हो के हो ! त्यतै समीको फेदाँ बसेर रोइरा’होला बरा ! आमाले नै वाणजस्तो वचन ला’सी किन नरोओस्।” गायत्रीको हिक्का फुत्कियो। म झ्यालतिर फर्किएँ।
“त्यसपछि वाँले पटुकामा घुसारेको यो कानको बाली, यी यो तिलरी र दुई हजार रुप्पे मेरो हातमा दिएर ‘जे अरेर भ’ नि तेल्लाई उतै अड्याउनू, यता ढिम्कन नदिनू, तेसको राम्रो हेरचार अर्नू, पेटाँ देउता भा’ मुन्छे हो मेरो छोरो, तिम्लाई सुख्खले पाल्छ, पिर्दैन’ भनेर रुँदै जानुभयो।” गायत्रीले मेरो हात समातेर भनिन्, “मलाई माफ अ’र उज्वल ! आमाले मलाई तिम्रो किरिया ख्वाउनाँथ्यो, त्यसैले मैले तिमीलाई केही भनिनँ।”
म केही बोलिनँ। चुपचाप रोइरहें। मैले कसरी मेरी आमालाई गलत सोच्न सकें ? शायद म छोरोजस्तो मात्रै थिएँ, छोरो हुन सकेकै थिइनँ।
अमेरिकामा व्यवस्थित हुन डीबी (धनबहादुर) दाइले यसरी मद्दत गरे, जसरी एउटा सहोदर दाइले भाइलाई गर्छ। आफ्नै घरमा राखे। आफ्नै कमाइले बाँडिचुँडी मीठोमसिनो खुवाए।
सबै सेट भएपछि यी वर्षहरूमा दाइले रगत पसिना बगाएर जोडेको पैसामा ऋणधन गरी हामीले मिलेर एउटा पेट्रोल पम्प किन्यौं।
एक वर्षपछि एउटा ग्रोसरी पसल किन्यौं। त्यसपछि अर्को अनि अर्को।
काममा जति नै जोतिनु परे पनि गायत्रीले मलाई अगाडि पढ्न मद्दत गरिरहिन्।
आज अमेरिका आएको १६ वर्षपछि म यहीँको एउटा बैंकमा म्यानेजर थिएँ। गायत्री, डीबी दाइ, उनकी श्रीमती देवी भाउजू र दाइको सालो मिलेर पेट्रोल पम्प, ग्रोसरी पसल चलाउँथे।
१९ वर्षपछि डीबी दाइ र भाउजू नेपाल गएर दुई महिना बसी फर्किएका थिए– एक हप्ताअघि।
बैंकको व्यस्तताका कारण आज बल्ल साइत जुरेको थियो दुई परिवार सँगै बसेर कुराकानी गर्ने। दाइ–भाउजूका कुरा सुन्ने।
दाइका बाबु–आमाको निधन भएको केही वर्ष भइसकेको थियो। नेपालसँग उनको नाता भनेको उनकी फुपू र दुई बहिनीमात्रै थिए।
हाम्रो पनि डीबी दाइ र भाउजूमात्र परिचित, आफन्त र अन्तरंग थिए यो संसारमा। मेरो १२ वर्षको छोरो गौतम र ५ वर्षकी छोरी गीति डीबी दाइलाई ठूल्बा भन्थे। दाइका दुईभाइ छोरा मलाई काका भन्थे। दाइको जेठो छोरो १४ वर्षको थियो भने कान्छो छोरो मेरो छोराकै उमेरको थियो। प्रगाढ दोस्ती थियो छोराहरूमा पनि।
हाम्रो छोरा जन्मेको सात वर्षपछि जन्मेकी छोरी हाम्रीमात्र नभएर उनीहरूकी पनि छोरी थिई। तिहारमा गीतिले टीकाटालो गर्ने ती तीनवटा निधार हाम्रा लागि उत्तिकै आफ्ना थिए।
यो विरानो देशमा हामीलाई डीबी दाइको बडो आड र भरोसा थियो। चाहे जुनसुकै बेलामा होस्– दाइ र भाउजू हाम्रो साथमा दह्रोसँग उभिएका थिए। उनीहरूबिना अपूरो थियो हाम्रो परिवार। छोराछोरी जन्मिँदा पनि उनीहरू नै थिए साथ दिनका लागि। छोरी जन्मिँदा अस्पतालमा नर्स र मिडवाइफले नाम के राख्ने भनेर सोधेका थिए।
“गीति राखौं न, हुन्न ?” गायत्रीले मानौं मेरो मन पढेर भनेकी थिइन्। डीबी दाइ र भाउजूले गायत्रीलाई अनुमोदन गरेका थिए। मैले आफ्नो काखमा भएकी छोरीको अनुहार हेरेको थिएँ। उसको अनुहारको ठाउँमा आमाको अनुहार देखेको थिएँ। मेरी आमाको नाम गीता थियो। मैले छोरीको निधार यसरी चुमेको थिएँ, मानौं त्यो मेरी आमाको अनुहार थियो। मेरा आँखाका कुनाबाट झरेका आँसु छोरीको मुडुलो टाउकोमा झरेपछि गायत्रीले बिस्तारै भनेकी थिइन, “सी इज ब्लेस्ड !”
मेरो जीवनमा सबै कुरा आफूले चाहेजस्तै, चिताएजस्तै थियो तर चैन थिएन। गायत्री यस्ती पत्नी थिइन्, जो आँखामा हेरेर मनको कुरा बुझिदिन्थिन्। कदमकदममा साथ दिएकी मेरी सहचरीलाई थाहा थियो– मेरो मनको कहिल्यै नपुरिने घाउ कति गहिरो थियो भनेर।
० ० ०
अचानक कता–कताबाट आएर एउटा कालो बादलको टुक्राले जूनलाई ढपक्क ढाकिदियो। मेरो मन परक्क बटारियो। ऐंठनको एउटा झट्का झेलिसकेपछि म हान्निएर भित्र पसें।
“गायत्री ! उठ न गायत्री,” मैले उनलाई घच्घच्याएँ। मेरो हड्बडाएको चर्को स्वर सुनेर उनी अत्तालिँदै उठिन् र सोधिन्, “के भयो ? के भयो ?”
उनको अत्तालिएको स्वर सुनेपछि बल्ल मलाई आफ्नो व्यवहारमाथि संकोच लाग्यो।
“सरी !” मैले बिस्तारै भनें, “गायत्री ! म नेपाल जान्छु !”
“अहिल्यै !” उनले छक्क पर्दै भनिन्।
“अहिल्यै। टिकट पाए अहिल्यै !” मैले ढृढतापूर्क भनें।
“भोलि...”
“गायत्री ! मेरो मन एकदम छट्पटाएको छ। पहिले पनि आमा एकचोटि सिकिस्तै हुँदा यस्तै भा’थ्यो। म ढिलो हुन चाहन्न गायत्री,” मैले काँतर स्वरमा भनें।
“पख, म ल्यापटप ल्याउँछु। अनलाइन टिकट बुझौं,” उनले निर्णायक स्वरमा भनिन् र ल्यापटप लिएर आइन्। हामीले अनलाइन चहारेर बिजनेस क्लासको एउटा टिकट बुक गर्यौं। टिकट बुक हुनासाथ रातबिरातको ख्यालै नगरी मैले डीबी दाइलाई फोन गरेर एयरपोर्ट छोडिदिन आग्रह गरें। उनले एक शब्द खर्च नगरी तयार भएर बस्न भने। त्यतिबेलासम्म गायत्री ब्यागमा मेरा लुगा र अरू दैनिकीका लागि आवश्यक सामान हाल्न थालिसकेकी थिइन्।
“यताको कुनै पीर नगर,” गायत्रीले आश्वासनपूर्ण स्वरमा भनिन्, “हामी सबै सम्हाल्छौं। त्यहाँ पनि तिमीले कसैसँग दब्न, डराउन पर्दैन। अब तिमी पहिलेको उज्ज्वल होइनौ। मेरै बाउले जोरी खोजे भने पनि सकेको गरेर देखाइदेऊ,” उनले बाथरुमबाट मेरो ट्वाइलेटरी ब्याग लिएर आइन्। उनी लगातार बोलिरहेकी थिइन्, “आमालाई लिएर आउन मिल्छ भने केही दिन लगाएरै भए पनि लिएरै आऊ। कागजपत्र, पैसासैसा के–कसो चाहिन्छ, फोन गर। म डीबी दाइको मद्दतले सबै व्यवस्था गरेर पठाउँछु।”
मैले उनलाई अँगालेर भनें, “धन्यवाद !”
उनले मलाई सुस्तरी चुमिन् र मायालु स्वरमा भनिन्, “डोन्ट वरी ! तिम्रो अनुहार नदेखेसम्म तिम्री आमालाई केही हुन्न।”
“प्रार्थना गरिराख गायत्री ! मलाई यतिबेला त्यसैको खाँचो छ,” मेरो घाँटी अवरूद्ध भयो।
“ढुक्कले जाऊ उज्वल ! सबै ठीक हुनेछ,” उनले आश्वासनपूर्ण स्वरमा भनिन्। हामी बाहिर निस्कियौं।
“गौतमले सोध्ला...गीति त...”
“म बुझाउँछु उनीहरूलाई। तिमी पटक्कै चिन्ता नगर। शुभयात्रा उज्ज्वल !”
“धन्यवाद !”
डीबी दाइले मेरो छेउमा ल्याएर गाडी रोकेपछि गायत्री उनलाई नमस्ते गरेर, मलाई फेरि एकपटक ‘शुभयात्रा’ भनी घरभित्र पसिन्।
० ० ०
गाउँसम्म गाडी पुग्ने भएकोले मैले एउटा ड्राइवरसमेतको प्राडो भाडामा लिएँ र काठमान्डूमा बस्दै नबसी गाउँतिर हान्निएँ।
आमाको विजोग थियो। केही हप्तादेखि थलिएर ओच्छ्यान पर्नुभएकी, सुकेर हाडछाला हुनुभएकी आमाको पोषण नपुगेको, डिहाइड्रेटेड शरीर देखेर मेरो मुटु फुट्लाजस्तै भयो। मैले उत्तिखेरै आमालाई काठमान्डू लैजाने निर्णय सुनाएँ।
मेरो व्यक्तित्वको रोवले खुम्चिएर चुप बसेका मदन र विकास मेरो निर्णय सुनेर सजग भए। भरतचाहिँ कोरियातिर थियो क्यार।
“हामी छोराहरू हुँदाहुँदै आमा को न कोसँग किन जानुहुन्छ ?” मदनले हक्की स्वरमा भन्यो। विकासले सहमत हुँदै टाउकोमात्र हल्लायो।
“खुब छोराहरू भइखाएका !” म गर्जिएँ, “अवस्था देख्या छौ आमाको ? यस्तै हुन्छ छोराहरू भएकी आमाको दुर्दशा ? कि तिमीहरू आमालाई शहर लैजाओ, उपचार गराओ, राम्रो रेखदेख गरओ, म केही बोल्दिनँ। कि मलाई लैजान देओ। होइन भने सोझै पुलिसकोमा गएर रिपोर्ट गर्दिन्छु !”
पुलिसको नाम सुनेर मदन र विकासको अनुहारमात्र खुम्चेन, अलि पर उभिएर यतै हेरिरहेका उनीहरूका श्रीमतीहरू पनि तर्सिए।
“किन दशथरी द्वादस अर्छौ ?” हामी सबैभन्दा उमेरले अलि पाका ठूल्बाका छोराले अघि सर्दै भने, “उजोल पनि छोरैसरह हो ! कान्छीआँले सालनालसुध्धै सिहार्नुभा’हो यल्लाई। यसको पनि हक लाउँछ। तिमरूको जत्तिकै नलागे नि हक लाउँछ।”
मेरो छाती चौडा भयो। आमामाथि मेरो पनि हक मानिदिने एउटै भए नि मान्छे त भेटियो !
“त्यै’ नि कान्छीआँलाई सोधिहेर। जसो भन्नुहोला, उसै अर !”
मदन र विकासको अनुहार फुंग उड्यो। ठूल्बाका छोरा आमाको मैलो न मैलो ओछ्यानतिर गए। त्यही मैलो ओछ्यानमा टाँसिनुभएकी आमाको छेउमा गएर ठूलो स्वरमा भने, “कान्छीआँ, उजोल आ’छ। तपैंलाई शहर लान्छु भन्छ ! तपैं के भन्नुहुन्छ ?”
म तीव्र उत्कण्ठाका साथ आमाको ओछ्यानतिर सरें। मदनकी स्वास्नी पल्याकपुलुक यताउता हेर्दै मदनतिर सरी र उसको कानमा केही भनी। उसको कुरो सुनेर मदनले असन्तोषपूर्वक टाउको हल्लायो। मदनकी स्वास्नीले विकाससँग पनि केही भनी। विकासले आफ्नी स्वास्नीलाई आफूतिर बोलायो। उनीहरू एक–आपसमा सल्लाह गरिरहँदा ठूल्बाका छोरा आमालाई बारम्बार एउटै कुरो सोध्दै थिए, “कान्छीआँ ! तपैं के भन्नहुन्छ ? मदन र विकाससँ यतै बस्नुहुन्छ कि उजोलसँ शहर जानुहुन्छ ?”
ती दाइले निकैफेर सोधेपछि बल्ल आमाका नीला परेलाका डिल उघ्रिए। दलिनमा झुन्डिएको एक्लो बल्वको सहारामा फिँजिएको पहेंलो, बिरामीजस्तो मधुरो प्रकाशमा निकैबेर लगाएर उहाँले मेरो अनुहारमा आफ्ना आँखा फोकस गर्नुभयो। मेरो मुटु वेगसँग दौड्यो। आँखाबाट आँसुको धारो छुट्यो।
एकैछिन आमाको अनुहारमा कुनै भाव झुल्केन। उहाँले मबाट आफ्नो दृष्टि हटाएर मदन र विकास भएको दिशातिर हेर्नुभयो। आमाको दृष्टि आफूतिर सोझिएको पाएर मदन र विकास पनि मेरो छेउमै आएर उभिए। तिन्का स्वास्नीहरूले भने परैबाट हामीतिर हेरिरहे। दाइले फेरि एकपटक आफ्नो प्रश्न दोहोर्याए आमाले बडो मेहनतसाथ आफ्नो सुकेको हात उठाउनुभयो र झिनो चोरी औंलाले मतिर संकेत गर्नुभयो। मेरो हिक्का फुत्कियो। म धर्मराएर छेउको थाममा आड लागें।
“कान्छीआँ, तपैं उजोलसैं जानी हो त ?” दाइले फेरि सोधे।
“हो ! जानी हो !” यसपटक आमाको क्षिण स्वर मेरो मन र आत्मालाई शीत्तल बनाउँदै गुञ्जियो। मैले देखें– उहाँको सुख्खा आँखामा आँसु टल्किएको थियो।
“लौ, अब यत्ति भएसि कुरै सक्यो,” दाइले पटाक्षेपगर्दै भने, “अब ढिलो किन अर्नी त ? बोक्ने मान्छे खोज्नी...”
“होइन, पर्दैन ! त्यैं पर गाडीसम्म त हो,” म अघि बढेर आमाको छेउमा घुँडा टेकेर बसें अनि भनें, “आमा ! तपैंलाई अस्जिलो त हुन्छ तर म तपैंलाई बोकेर...”
“मलाई अस्जिलो हुन्न,” आमाले मतिर हात बढाउनुभयो। मैले आमाको हात थामें र उहाँको फूलको थुंगाजस्तै हलुको शरीरलाई जुरूक्क आफ्नो दुई हातमा उचालें। मदन र विकासको अनुहारमा पराजयको भाव थियो भने तिनका स्वास्नीहरूका अनुहारमा खुशी।
मैले ठुल्बाका छोरासामु टाउको झुकाएँ र उनीसँग बिदा मागें। उनले मेरो टाउकोमाथि हात राखिदिए। म आफ्नो दुई हातमा दुनियाँ समेटेर अघि बढें।
संघार काटेर बाहिर निस्केपछि आमाले टाउको मोडेर घरतिर हेर्नुभयो र दुबै हात जोडेर निधारमा पुर्याउनुभयो। उहाँको आँखाबाट अविरल आँसु बग्न थालेको थियो।
“अब किन रुनुन्छ ? अब त म आएँ त,” मैले आँसुले पुरिएको सानो स्वरमा भनें।
“यत्रा बर्खपछि मैले मेरो बकाइनाँ बोटको आड पा’छु। आज त मेरो आँसु के अडेला र उजोल,” आमाले मेरो अनुहार मुसार्नुभयो।
अब बल्ल म सही अर्थमा मेरी आमाको लागि उनको ‘आफ्नो’ बकाइनोको बोट बन्न सकेको थिएँ। मैले झुकेर आमाको निधारमा चुमें। आमाले आफ्ना झिना हात उठाएर मेरो गर्दनमा बेरेर मेरो छातीमा टाउको अड्याउनुभयो।
०००
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।