बजार बढ्ने भन्ने कन्फिडेन्सले मात्रै काम गरेन

नयाँ पैसा नआउँदा १६ अंकको करेक्सन
नेपाल लाइभ | २०७६ माघ ९ बिहीबार | Thursday, January 23, 2020 १५:३५:०० मा प्रकाशित

काठमाडौं- बजार बढ्छ भन्ने लगानीकर्ताको मनोविज्ञानले काम नगर्दा बिहीबार पनि करेक्सन देखिएको छ। बजार सुधार हुन्छ भन्ने लाग्दा लाग्दै पनि केही लगानीकर्ताले बिक्री बढाउँदा बजार सुधार हुन नसकेको एक बजार विश्लेषकले बताए। 

बजार बढ्छ भन्ने मनोविज्ञानले लगानीकर्ताहरु एउटा कम्पनीको शेयर बेच्ने पुनः अर्को शेयर किन्ने प्रवृत्तिले कारोबार रकम भने बढिरहेको छ। साताको अन्तिम कारोबार १५.९५ अंकले घटेको छ। सूचक १.२१ प्रतिशतले गिरावट भएर १२९७.४७ अंकमा रोकिएको छ। 

सूचकमा आएको गिरावटले कारोबार रकम पनि क्रमश घट्न थालेको छ। बिहीबार एक अर्ब ३८ करोडको कारोबार भएको छ। बुधबार ग्लोबल आइएमई एक्लैको ६१ करोडको कारोबार भएको थियो। साथै गएका दिनमा संस्थापक शेयरले गर्दा पनि कारोबार रकम बढेको एक ब्रोकरले बताए। तर आज नेचुरल कारोबार भएको उनले जानकारी दिए। 

सुरुवाती अवस्थामा बजार सुधार हुने संकेत देखिए पनि अन्तिम समयमा आएर बजार गिरावट हुन थालेको छ। आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १८ करोड ४० लाख रुपैयाँको खरिद बिक्री भएको छ। त्यस्तै ग्लोबल आइएमईको १५ करोड रुपैयाँको खरिद बिक्री भएको छ। अन्य र जीवन बीमाको सूचक बाहेक घटेका छन्। 

सिनर्जी पावर कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ। कम्पनीले दीर्घकालीन कर्जा भुक्तानी भइसकेको जानकारी दिएकाले बजार मूल्यमा सुधार आएको हो।