नविल बैंक र आइसिएफसी फाइनान्सले पाए ऋणपत्र निष्काशन अनुमति

नेपाल लाइभ | २०७६ माघ ८ बुधबार | Wednesday, January 22, 2020 १०:५९:०० मा प्रकाशित

काठमाडौं- नविल बैंक र आइसिएफसी फाइनान्सले ऋणपत्र निष्काशन गर्ने अनुमति पाएका छन्। नेपाल धितोपत्र बोर्डले नविल बैंकलाई दुई अर्ब रुपैयाँको र आइसिएफसीलाई २० करोड रुपैयाँको ऋणपत्र निष्काशनका लागि अनुमति दिएको हो।

नविल बैंकले सर्वसाधारणको लागि ८० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्नेछ। बैंकले १० प्रतिशत ब्याजदरमा नविल डिवेन्चर २०८२ रहेको छ। ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल रहेको छ। बैंकले बाँकी एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र आफैले बिक्री गर्नेछ।

त्यस्तै आइसिएफसी फाइनान्सले १२ प्रतिशत ब्याजदरमा ५ वर्षे अवधिको ऋणपत्र निष्काशन गर्ने छ। ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

नेपाल राष्ट्र बैंकले दिर्घकालीन वित्तीय व्यवस्थापनका लागि चालु आर्थिक वर्षको मौन्द्रिक नीतिमार्फत अनिवार्य रुपमा ऋणपत्र निष्काशन गर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले सम्पूर्ण वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य निष्काशन गर्नु पर्ने व्यवस्था गरेको छ।

यस नीति सँगै बाणिज्य बैंकहरुले पछिल्लो समय ऋणपत्र निष्काशन गरिरहेका छन्। उक्त ऋणपत्र पूँजीकोष अनुपातमा गणना गर्न पाउनुका साथै कर्जा लगानी पनि गर्न पाउने व्यवस्था छ।

यसै मौद्रिक नीति मार्फत विकास बैंक तथा फाइनान्सहरुलाई पनि ऋणपत्र निष्काशन गर्न पाउने बाटो खुला गरेको थियो। राष्ट्र बैंकले बाटो खोलिदिए सँगै फाइनान्सहरुले पनि ऋणपत्र निष्काशन गर्न थालेका हुन्। ऋणपत्र निष्काशन गर्नेमा आइसिएफसी पहिलो ऋणपत्र निष्काशन गर्ने फाइनान्स बनेको छ।