रोल्पा- त्रिवेणी गाउँपालिका–२ डाख्लामा सोमबार बेलुका एकै घरका दुई नाबालकको हत्या भएको छ।
त्रिवेणी गाउँपालिका–२ डाख्लाका गणेश विकका ५ वर्षीय छोरा प्रेम र ३ वर्षीया छोरी वसन्तीलाई बन्चरो प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जानकारी दिएको छ।
हत्या सोही ठाउँ बस्ने २१ वर्षीय खड्कबहादुर विकले गरेको प्रहरीले बताएको छ। नाबालकको हत्यापछि फरार रहेका विकको प्रहरीले खोजी गरी हिजै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए।
मृतक नाबालक हत्या आरोपी विकका दाजुका छोराछोरी भएको बताइएको छ। दाजुसँग पटकपटक झगडा गरिरहने खड्कबहादुरले केही दिनअघि समेत झगडा गरेको बताइएको छ। आरोपी विकले गाउँघरमा समेत झैझगडा गरिरहने गरेको छिमेकीले बताएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।