विराटनगर– मोरङको पथरी शनिश्चरे नगरपालिका १ र २ मा गएराति खुकुरी प्रहारबाट दुई जना घाइते भएका छन्।
वडा नम्वर १ का १९ वर्षीय अशोक बराईलीले आफ्नै भाइ १४ वर्षिय नवीनलाई खुकुरी हानेका छन्। मादक पदार्थ सेवन गरेका अशोकले सामान्य विवादमै खुकुरी हानेको प्रहरीले जनाएको छ। हातमा चोट लागेका नवीनको पथरी अस्पताल पथरीमा उपचार भइरहेको छ।
यसैगरी, उर्लाबारी नगरपालिका ३ का २२ वर्षीय प्रह्लाद लिम्बुले पथरी शनिश्चरे नगरपालिका २ बाँसघारी टोलका १९ वर्षीय हाङसुहाङ लिम्बुलाई खुकुरी प्रहार गरेका छन्। सामान्य विवादमै आवेशमा आएर उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।
शरीरका विभिन्न भागमा चोट लागेका लिम्बुको मंगलबारे अस्पतालमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने दुवै घटनाका अशोक र प्रह्लाद इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।