काठमाडौं- सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ खरिदका विषयमा विस्तृत अध्ययन गर्ने भएको छ।
समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
सरकारले जिटुजी मोडलमा सुरक्षित मुद्रणसम्बन्धी मेसिन खरिद गर्दा आर्थिक चलखेल भएको भन्दै सार्वजनिक लेखा समितिमा उजुरी परेको थियो।
सोही उजुरीका आधारमा लेखा समितिले सरकारको उक्त निर्णय र प्रक्रियामाथि विस्तृत अध्ययन गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषदको गत कात्तिक २० गतेको निर्णयले सुरक्षण मुद्रणसम्बन्धी उपकरण सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ अनुसार जिटुजी मोडलमा खरिद गर्ने निर्णय गरेको थियो। जसमा फ्रान्स र जर्मनीबाट प्राप्त प्रस्ताव लाई मूल्यांकन गरेर सुरक्षण मुद्रण खरिदका लागि पुस ७ गते बसेको मन्त्रिपरिषदको बैठकले संचार तथा सूचना प्रविधि मन्त्रालयलाई रकम निकासा गर्ने निर्णयसमेत गरिसकेको छ।
सामान्यतया ९० देखि १ लाख मिलियन अमेरिकी डलर बराबर मात्रै पर्ने मेसिनलाई सरकारले २ सय मिलियन अमेरिकी डलर तिर्न लागेको भन्दै लेखा समितिमा उजुरी परेको छ।
समितिले सोमबार यस क्षेत्रका जानकारी व्यक्तिहरुसँग सामान्य छलफलसमेत गरेको छ।
सम्पूर्ण खरिद प्रक्रियासँग सम्बन्धित कागजातहरु मगाउने र त्यसको अध्ययन गर्ने निर्णय गर्दै लेखा समितिको आएको बैठक सकिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।