काठमाडाैं- ०५९ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री भए पनि पार्टीमा पकड सभापति गिरिजाप्रसाद कोइरालाकै थियो। कोईराला देउवालाई अझ कमजोर पार्ने दाउमा थिए। रामचन्द्र पौडेल र शेरबहादुर देउवा भने पार्टीमा आधिपत्य जमाउन खोज्ने कोइरालाविरुद्ध एक थिए। नेपाली कांग्रेस विभाजन गरेर देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेपछि भने पौडेल र देउवा अलग भए।
देउवाको कांग्रेस केही वर्षपछि मुल कांग्रेसमै मिसियो। तर एकताले देउवा र पौडेललाई भने एक बनाउन सकेन। यिनीहरूको दुरी बढ्दै गएको छ। नेपालमा नाम मात्रका कम्युनिष्ट राजनीतिक दल छन्। यीमध्ये कुनैले राजनीतिमा वर्चस्व जमाउन खोज्यो भने पौडेल र देउवा दुवै लोकतन्त्रको दुहाइ दिन्छन्। मानौं यो देशमा साँच्चै कम्युनिष्ट शासन लागू हुन्छ। र, मानिसका वाक स्वतन्त्रता, मानव अधिकार रातारात खुम्चिन्छ। तर यहाँको कम्युनिष्टमा साम्यवाद र समाजवादप्रति विश्वास त्यति नै कमजोर छ, जति देउवा र पौडेलमा लोकतान्त्रिक सँस्कारको छ। देउवा चार पटक नेपालका प्रधानमन्त्री भइसके।
अहिले पार्टी सभापतिको हैसियतले नेपाली कांग्रेसको नेतृत्व गरिररहेका छन्। पार्टी र सरकारमा देउवाले जुन स्थान हासिल गरे, त्यही स्थान हासिल गर्ने चाहना पौडेलमा तीव्र देखिन्छ। यसका लागि पौडेलले कसरत राम्रैसँग गरेका पनि हुन्। तर पौडेल र देउवा दुवै विधि र नीतिमा आधारित भएर पार्टी नेतृत्व गर्न चाहँदैनन्। उनीहरूको आफ्नो गुटलाई मजबुत बनाएर, त्यसको सहयोगका आधारमा पार्टी हाँक्न चाहन्छन्। यो कांग्रेसले आफ्नो स्थापनाकालदेखि बोक्दै आएको लोकतान्त्रिक दर्शन र सिद्धान्तमाथिको आक्रमण हो। यसले कांग्रेस दिन–प्रतिदिन कमजोर बन्दै गएको छ र अझ कमजोर बन्दै जानेछ। एउटा पुरानो लोकतान्त्रिक शक्ति सिद्धान्तबाट च्युत भएर सकिनु नेपालको राजनीतिक परिवेशका लागि निश्चय नै सुखद खबर हुँदैन।
व्यक्तिगत मान र प्रतिष्ठाका लागि पार्टीमा पद हत्याउन खोज्ने रोग कांग्रेसमा नयाँ भने हैन। बिपी कोइरालाका अनुसार डिल्लीरमण रेग्मी शान–मानका लागि कांग्रेस सभापति बन्न चाहन्थे। यो कुरा रेग्मीले बिपीलाई खुलेर भनेका थिए भने बिपीले रेग्मीको यस्तो ईच्छा पुरा हुन दिएनन्। बिपीको आरोपमा सत्यता कति छ? त्यो अर्काे पाटो हो। केही हदसम्म रेग्मीमा यस्तो लोभ पक्कै थियो होला। बिपी र मातृकाप्रसाद कोइरालाबीचको द्वन्द्व पनि केही हदसम्म पार्टीमा कसले अधिपत्य जमाउने भन्नेमै थियो। दाजुभाइ कोइरालाको यो स्वार्थमा दरबारले खेल्यो। यसमा तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको पनि केही न केही हात थियो। सायद कांग्रेसका सबै नेताहरू, आफ्नो दर्शन, सिद्धान्तप्रति निष्ठावान् र जनताप्रति उत्तरदायी भएको भए दरबारले पञ्चायत लाद्न सक्दैन थियो कि?
अहिले पनि कांग्रेसले आफैंभित्र लोकतान्त्रिक संस्कार अंगालेर राजनीति गरेको भए, कम्युनिष्टलाई निरंकुशताको द्योतक भनेर प्रचार गर्नु पर्दैन थियो कि? तर यतातिर कांग्रेसका कुनै नेताले सोचेको देखिँदैन। कार्यकर्ताहरू पार्टीभित्र झांगिदै गएको गुटभित्र आफ्नो स्थान कसरी सुरक्षित पार्ने भन्नेमा चिन्तित छन्।
पौडेल र देउवा दुवै विधि र नीतिमा आधारित भएर पार्टी नेतृत्व गर्न चाहँदैनन्। उनीहरूको आफ्नो गुटलाई मजबुत बनाएर, त्यसको सहयोगका आधारमा पार्टी हाँक्न चाहन्छन्।
एक किसिमले अहिले कांग्रेसभित्र रडाको मच्चिएको छ। सभापति देउवाले कांग्रेसमा विभाग थप्ने प्रस्ताव गरेका छन्। संस्थापन इतरले यसलाई सभापतिको महाधिवेशनकेन्द्रीत रणनीतिको रुपमा बुझेको छ। कांग्रेसमा संस्थापन र इतरपक्षबीच द्वन्द्व चर्किएको छ। अनेकौं पटक बसेकोे बैठकले समाधानको बाटो पहिल्याउन सकेको छैन। हुन त, नेपाली कांग्रेसको निर्णय पार्टीको सिद्धान्त र जनताको आवश्यकताका आधारमा विरलै हुन्छन्। यही कारण कांग्रेसका निर्णयहरू पार्टीभित्रै विवादमा पर्छन्। पार्टीबाहिर जनतामा गएका कार्यक्रम पनि त्यति प्रभावकारी बन्न सकेका छैन्। यस्तो अवस्थामा दुई शीर्ष नेता पौडेल र देउवा दुवैलाई पार्टीको चिन्ता छैन। बस् पार्र्टीमा कसरी आधिपत्य जमाउने भन्नेमात्र चिन्ता छ। पटक–पटक प्रधानमन्त्री भइसकेका बहालवाला पार्टी सभापति देउवाले आफूलाई मात्र योग्य देखिरहेका छन्। पार्टीमा देउवासँगै उत्तिकै समय लगानी गरेका पौडेल म पनि के कम भन्ने मनोविज्ञानबाट ग्रसित छन्। शीर्ष नेताको यो सोचले पार्टीमा लोकतान्त्रिक संस्कार शिथिल हुँदै गएको छ। गुलामी गर्ने संस्कार बढ्दै गएको छ। तसर्थ नेपाली कांग्रेसमा अब यो समस्या देउवा र पौडेलको समस्यामात्र रहेन, कांग्रेसको आउँदो पुस्ताले अपनाउने अनिवार्य विधि पनि बन्दै गएको छ।
कांग्रेसमा सम्भावना बोकेका नेताहरू छन्। तर दुर्भाग्य भन्नुपर्छ कि कांग्रेसभित्र गुटवाद संस्थागत भइसक्यो। गुटवादका केही नकारात्मक पक्ष हुन्छन्। यसले गुलामी संस्कारलाई स्थापित गर्छ, जुन नेपाली कांग्रेसभित्र स्थापित भएको छ। यसको अर्थ यो नलागोस् कि कांग्रेसमा मात्र गुलामी संस्कार छ। नेपालका सबै राजनीतिक दलहरू यो समस्याबाट आक्रान्त छन्। अर्काेतिर गुटलाई प्रश्रय दिएर वा गुटको जोडबलमा नेतृत्वमा पुगेका नेता सदैव पद ओगट्न चाहन्छन्। यसको प्रभाव आशा गरिएका युवा नेता वा पछिल्लो पुस्तालाई पर्नेछ। पछिल्लो पुस्ताले सिद्धान्त, योजना र लगनभन्दा बढी गुटवादलाई नेतृत्व हत्याउने बलियो हतियार ठान्न पुग्नेछन्।
गुटवादले नेतृत्व हत्याउन नसके पनि च्याँखे थापेर पार्टीलाई मिल्ने अवसर केही हिस्सा हात पार्न सकिन्छ भन्ने मनोविज्ञान पनि हावी हुन्छ। कांग्रेसमा यसको अभ्यास कृष्णप्रसाद सिटौलाले गरिसकेका छन्। सिटौला कुनै समय गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र थिए। सुशील कोइराला सभापति हुँदासम्म उनी कोइराला क्याम्पमै थिए। तर पछिल्लो महाधिवेशनमा कोइराला क्याम्पको सभापति उम्मेदवार रामचन्द्र पौडेल हुँदा, सिटौला पनि सभापतिको प्रत्यासी बने। सिटौलाको यो कदमले रामचन्द्र पौडेलको सभापति भन्ने सपनामात्र भत्काएन। सिटौलालाई सानै सही तर आफ्नो छुट्टै गुट निर्माण गर्न सहयोग गर्यो।
वाकपटुतामा तगडा विश्वप्रकाश शर्मा नयाँ पुस्ताले रुचाउने नेतामै पर्छन्। तर प्रवक्ता नियुक्त भएपछि उनको पार्टीप्रतिको आलोचनात्मक चेत कमजोर हुँदै गएको छ। शब्द श्रृंगारमा पारंगत शर्माले पार्टीलाई बचाउँने कोशिस त गरेका छन् तर यसले जनताको नजरमा पार्टी बँच्ने सम्भावना भने देखिएको छैन। उल्टै शर्माको शाख पनि गिर्दै गएको छ। गगन थापालाई पछिल्लो समय सिटौला गुटको नेता भन्न थालिएको छ। सम्भावना बोकेका नेताहरू गुटगुटमा विभाजित गरिनु राम्रो हैन। निश्चय नै लोकतन्त्रमा विस्वास गर्ने र कांग्रेस समर्थकलाई यो कुरा रुचीकर हैन। तर रुचिकर नभए पनि अब यो कांग्रेसीका लागि नियति बन्दै गएको छ। देउवा र पौडेलले ठाउँ नछोडेसम्म अर्काे पुस्ता पनि बुढ्यौलीमा मात्र नेतृत्वमा आईपुग्छ। साथै ती पुस्ताले आजैदेखि गुटवाद र गुलामी संस्कार अँगाल्ने छन्। गुलामी संस्कार आफैमा क्षमता प्रदर्शनको उत्तम र सही बाटो हैन। यस्तो संस्कारले क्षमता निर्माण गर्नमा ऊर्जा पनि प्रदान गर्दैन। समूह रिझाउने तथा ईतरसमूहलाई पन्छाउने अलोकतान्त्रिक अभ्यास सुरु गर्छ। यो अभ्यास हाल शीर्ष नेताको मान र प्रतिष्ठाको लडाइँजस्तो देखिन्छ। तर कालान्तरमा यही अभ्यासले कांग्रेसलाई आर्यघाट पुर्याउँन सक्छ।
लोकतन्त्रका लागि कांग्रेसले कम्युनिष्टलाई गाली गर्नेमात्र हैन। पार्टीभित्र लोकतान्त्रिक संस्कार र अभ्यासलाई बढावा दिएर अघि बढ्नु पर्छ। पार्टीभित्रको प्रतिस्पर्धा नै अस्वस्थ बनाएपछि बाहिर नैतिकता र लोकतन्त्रको वकालत गर्ने हैसियत हँुदैन। तसर्थ देउवा र पौडेलले आफू र आफ्नो गुटमात्र हैन, कांग्रेसलाई केन्द्रमा राखेर सोच्ने बेला आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।