काठमाडौं- लगानी बोर्ड र कोरीयाली कम्पनी मोट्रेक्स कम्पनी लिमिटेडबीच नेपालमा चारपाङ्ग्रे सवारी साधन उत्पादन र एसेम्बल गर्नका लागि उद्योग खोल्न लगानी गर्ने सम्बन्धि सम्झौता भएको छ।
दुई पक्षबीच विभिन्न चरणको वार्तापछि बुधबार सम्झौता भएको हो।
करिब १२ अर्ब रुपैयाँ (१० करोड ५० लाख अमेरिकी डलर) लगानीमा सवारी उत्पादन कम्पनी खोल्ने सम्झौता भएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपाल लाइभलाई जानकारी दिए।
‘लगानी सम्मेलनको केहि समयपछि हामीले यसको लगानी स्वीकृत गरेका थियौं। तीन चार चरणको छलफल भयो र आज वार्ता टुंगिएको हो। हामीले आजै लगानी सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर पनि गर्यौं,’ उनले भने।
परियोजनामा लगानी गर्ने सम्बन्धी विस्तृत सम्झौता भने बोर्डको संचालन समितिले गर्नेछ। ‘हामी यो डकुमेन्ट संचालक समितिको बैठकमा लैजान्छौं र संचालक समितिले स्वीकृत गरेपछि पिडिए, इआइए लगायतका कामहरु प्रक्रियामा जान्छन्,’ अधिकारीले भने।
मोट्रक्सले बुटवलको मोतीपुरमा प्लान्ट स्थापना गर्नेछ। नेपालमा चारपाङ्ग्रे सवारी उत्पादनका लागि लगानी गर्ने यो पहिलो कम्पनी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।