काठमाडौं– पुरानो गुहेश्वरी बस्ने युवाहरुको दुई वटा फेसबुक ग्रुप छ। एउटाको नाम ‘पुरानो गुहेश्वरी केजी’ र अर्काे ‘पुरानो गुहेश्वरी आरजी’। ‘केजी’ अर्थात् खुकुरी ग्याङ र ‘आरजी’ अर्थात् रोयल ग्याङ।
दुई समूहबीच फेसबुकमै घम्साघम्सी चल्ने गरेको थियो। आरजी समूहमा रहेका ‘डेभिल’ नामक एक युवक केजी समूहमा जोडिए। उनी ग्रुपमा गएपछि धेरै व्यक्तिलाई धमाधम ‘ब्लक’ हान्न थाले। फलस्वरुप डेभिलसँग सो समूहका युवा आक्रोशित भए।
आक्रोशित युवाले नम्बर पत्ता लगाएर उनलाई माघ २६ गते तारकेश्वरको फूलबारी गेटमा भेट्न बोलाए। गेटमा थिए, कुमार सूचीकार। उनीहरुले सोधे– ‘तँ नै हो डेभिल?’ उनले हो भने।
यस लगत्तै उनीहरुले आफूहरुलाई ग्रुपबाट ब्लक गरेको भन्दै कुटपिट गर्न थाले। कुटाइबाट उनी बेहोस भए।
प्रहरीले बेहोस अवस्थामा फेला पारी उपचारका लागि कुमारलाई वीर अस्पताल पुर्यायो। तर, उपचारकै क्रममा उनको मृत्यु भयो।
प्रहरीले उनको परिचय खुल्ने कुनै पनि कागजपत्र भेटेको थिएन। उनको फोटो फेसबुकमा राखेर बालाजु प्रहरीले सनाखतका लागि प्रयास गरे पनि सफल हुन सकेन।
घटनाको २४ दिनपछि एक महिला आफ्नो छोरो हराएको भन्दै प्रहरीमा पुगिन्। उनले छोरा फागुन १ गते हराएको बताइन्। थप अनुसन्धान गर्ने क्रममा उनको छोरा माघ २६ गते हराएको खुल्यो। मृतकको फोटो देखाउँदा उनकै छोरा भएको खुल्यो।
त्यसपछि प्रहरीले अनुसन्धान अघि बढायो। कुमारको मोबाइल नम्बर पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा उनलाई कुटपिट गरी हत्या गर्ने सात ८ जनाको समूहलाई प्रहरीले पक्राउ गर्यो।
फेसबुक ग्रुपकै विवादपछि उनको हत्या भएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी विश्वराज खड्काले बताए।
अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार डेभिल नाम गरेका व्यक्ति अर्कै थिए। कुमार पनि त्यो फेसबुक समूहमा आबद्ध थिए। त्यसकारण उनलाई नै डेभिल भन्ठानेर उनीहरुले कुटपिट गरी हत्या गरेका हुन्।
घटनामा संलग्न विक्ली पुतुवार, समिर महर्जन, सुजन महर्जन, आइसिंह तामाङ, बिशाल पुतुवार, दिनेश नगरकोटी, निर्मल महर्जन र राजन मगरलाई पक्राउ गरेको हो। उनीहरु स्कुल पढ्ने विद्यार्थी हुन्। मृतक सूचीकार पनि बालाजुको गणेश हिमाल बोर्डिङ स्कुलमा १० कक्षामा अध्ययनरत थिए।
पक्राउ परेकाहरुमाथि ज्यान मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। कलिलै उमेरमा फेसबुकको लतका कारण यस्तो घटना भएको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।