फाइल फोटो
जाजरकोट- यहाँको जनीचाँदे गाउँपालिका–११ कोताङमा प्रहरीले ९ थान बन्दुक र ३१ राउन्ड गोली बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारीअनुसार बिहीबार जुनीचाँदे गाउँपालिका–११ कोर्तांग निवासी चन्द्रबहादुर शाही र उनका छोरा नेत्रबहादुर शाहीको घरमा लुकाइ राखेको अवस्थामा ती बन्दुक बरामद भएको हो। बरामद गरिएकामा भरुवा बन्दुक एकनाले ३ थान, दुईनाले एक थान, बाह्रबोर बन्दुक २ थान र एयर गन सानो ठूलो गरी ३ थान रहेका छन्।
शाहीको घरमा बन्दुक तथा गोली लुकाइरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा उक्त हतियार र गोली एवं जंगली जनावरका छाला अंगसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक भावेस रिमालले बताए। उनका अनुसार प्रहरीले हतियारसँगै ३१ राउन्ड गोली र विभिन्न विस्फोटक पदार्थसमेत बरामद गरेको छ।
प्रहरीका अनुसार ८ थान डेटोनेटर, पटकामा प्रयोग गरिने केप १५ वट्टा, २ केजी बारुद र जंगली जनावरको छाला ३ थान, सिङ ११ थान र नङ र दाँत २२ थान पनि बरामद गरिएको छ।
शाहीका बाबुछोरा दुवैलाई प्रहरी नियन्त्रणमा राखेर हातहतियार तथा खरखजनाअन्तर्गतको मुद्दा चलाउने तयारी गरिएको प्रहरी प्रमुख रिमालले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।