काठमाडौं- लामो समयदेखि चर्चामा रहेको मन्त्रिपरिषद् पुनर्गठनले भोलि नै मूर्तरूप पाउने भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिपरिषदमा नयाँ सदस्य ल्याउन लागेको जानकारी दिए।
'प्रधानमन्त्रीले बुधबार नै नयाँ मन्त्रीले सपथ खाने जानकारी दिनुभयो', बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए, 'अहिलेसम्मको कार्यकालका लागि धन्यवाद दिनुभयो।'
प्रधानमन्त्रीले हट्ने मन्त्रीहरू र नयाँ आउने मन्त्रीका बारेमा भने केही नखुलाएको ती मन्त्रीले दाबी गरे।
उनका अनुसार, नयाँ साथीहरूलाई पनि अवसर दिन आफूले यस्तो निर्णय लिएकाले पदमुक्त हुने साथीहरूले चित्त नदुखाउन आग्रह गरेका थिए।
उनले पार्टीका काममा भूमिका खेल्न पदमुक्त हुने मन्त्रीहरूलाई आग्रह थिए।
प्रधानमन्त्रीले मन्त्रीहरूलाई भोलि औपचारिक कार्यक्रम नराख्न पनि सुझाएका थिए।
मन्त्रिपरिषद् पुनर्गठनका लागि सत्तारूढ दल नेकपाले प्रधानमन्त्रीलाई आइतबार नै सैद्धान्तिक सहमति दिएको थियो।
त्यसयता नेकपाका नेताहरूबीच तीव्र भेटवार्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।