काठमाडौं- नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचीकृत २ सय ६ वटा कम्पनीमध्ये चालू आर्थिक वर्षको सात महिना बितिसक्दा पनि अधिकांशले वार्षिक साधारणसभा गरेका छैनन्।
कम्पनीहरुले वार्षिक साधारणसभा समयमा नगर्दा वार्षिक रुपमा आफूहरुले पाउने प्रतिफल बन्धक बन्ने गरेको आरोप लगानीकर्ताहरुले लगाउने गरेका छन्।
नेप्सेमा सूचीकृत कम्पनीहरुले चालू आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको वार्षिक साधारणसभा गरिरहेका छन्। कतिपय कम्पनीहरुले त एकै पटक ६ वर्षसम्मको वार्षिक साधारणसभा समेत गर्ने गरेका छन् भने कतिले विगत केही वर्षदेखि साधारणसभा नै गरेका छैनन्।
गत आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र कार्यालयमा साधारणसभाको लागि पेश गर्नुपर्नेछ व्यवस्था कम्पनी ऐनमा रहेको छ। वार्षिक साधारणसभा समयमै नगर्ने कम्पनीहरुलाई पटक-पटक निर्देशन दिएको कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार गीताकुमारी हुमागाईँले बताइन्।
उनले भनिन्, ‘कम्पनी रजिष्ट्रार कार्यालयले समयमा साधारणसभा नगर्ने कम्पनीहरुको विवरण राखेको छ। ती कम्पनीलाई कम्पनी ऐन अनुसार कारबाही हुन्छ।'
यता सार्वजनिक रुपमा सेयर निष्कासन(आइपिओ) जारी गरेका पब्लिक कम्पनीले वार्षिक साधारणसभा गरे/नगरेको नियमन गर्ने नेपाल धितोपत्र बोर्ड पनि काम्पनीहरुलाई समयमै साधारणसभा गर्न निर्देशन दिएको बताउँछ। बोर्डले विगत केही वर्षदेखि साधारणसभा नगर्ने कम्पनीहरुलाई बारम्बार पत्र पठाएर साधारणसभा गर्न निर्देशन दिएको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरे बताए।
उनले भने, ‘हामीले कम्पनीहरुलाई साधारणसभा गर्न बारम्बार निर्देशन दिएका छौं। कम्पनीको साधारणसभामा प्रत्यक्ष हस्तक्षेप गर्ने अधिकार हामीलाई छैन।’
अधिकांश वित्तीय संस्थाको साधारणसभा हुन बाँकी
धेरै वाणिज्य बैंकहरुको साधारणसभा हुन बाँकी छ। कतिपयले एकैचोटि धेरै वटा आर्थिक वर्षको साधारणसभा गर्ने गरेका छन् भने नियमित रुपमा चालू आर्थिक वर्षको साधारणसभा गर्ने वित्तीय संस्था नगन्य हुने गरेका छन्। बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७१/०७२ पछि कुनै साधारणसभा गरेको छैन।
चालू आर्थिक वर्षको साधारणसभाका लागि अहिलेसम्म सूचना नै जारी नगर्ने वाणिज्य बैंकहरु यी हुन्:
बैंक अफ काठमाण्डू
सिभिल बैंक
कुमारी बैंक
मेगा बैंक
नेपाल एसबिआई बैंक
एनएमबी बैंक
प्रभु बैंक
अधिकांश वाणिज्य बैंकहरुले सूचना प्रकाशित गरे पनि साधारणसभा भने गर्न बाँकी नै छ। त्यस्तै, अधिकांश विकास बैंकहरुले पनि साधारणसभा गरेका छैनन्। बिमा कम्पनी र जलविद्युत् कम्पनीहरुमा त यो संख्या निकै उच्च छ।
साधारणसभा नगर्ने कम्पनीलाई के कारबाही?
कम्पनी ऐनको दफा ८१ मा साधारणसभा गरेर सो को विवरण नपठाएमा कम्पनीहरुलाई जरिवाना हुने व्यवस्था छ। यस ऐन बमोजिम कम्पनीले कार्यालयलाई उपलब्ध गराउनुपर्ने कुनै विवरण, सूचना वा जानकारी वा कम्पनीलाई पदाधिकारी वा सेयरधनीले उपलब्ध गराउनुपर्ने विवरण, सूचना वा जानकारी उपलब्ध गराउनुपर्नेछ।
यदि कम्पनीहरुले विवरण नबुझाएमा कम्पनी ऐनको दफा (२) उपदफा (१) बमोजिमको म्यादभित्र दफा ५१, ७८, ८०, १२०, १३१ वा १५६ बमोजिमको विवरण, सूचना, जानकारी वा जवाफ उपलब्ध नगराउने कम्पनीका सञ्चालक वा त्यसका पदाधिकारीलाई रजिष्ट्रारले जरिवाना गर्ने व्यवस्था छ।
कम्पनीको चुक्ता पुँजी अनुसार कारबाहीको सीमा तोकिएको छ। तर, यस्तो जरिवाना एक आर्थिक वर्षमा एक हजार रुपैयाँभन्दा बढी हुनेछैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।