कैलाली- कैलालीको धनगढीमा लागूऔषध ब्राउन सुगरसहित दुई जना भारतीय पक्राउ परेका छन्।
७ नम्बर प्रदेश प्रहरी कार्यालय दिपायल मातहत रहेको क्षेत्रीय अनुसन्धान समूह सुदूरपश्चिमबाट खटिएको प्रहरी टोलीले मंगलबार ३५ ग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखिमपुर खिरी बस्ने अन्दाजी ३० वर्षीय सागर चौधरी र ३५ वर्षीय धर्मसिंह राना रहेका छन्।
उनीहरुलाई प्रहरीले विशेष सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–४ स्थित शिवपुरीधाम परिसरबाट पक्राउ गरेको क्षेत्रीय प्रहरी प्रमुख माधव नेपालले जानकारी दिए। पक्राउ परेका व्यक्तिहरुले भारतबाट लागूऔषध किनेर ल्याई नेपालका विभिन्न शहरमा बिक्री-वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उनले बताए।
उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।