काठमाडौं– नेपाल मेडिकल काउन्सिलको अनुमतिबिना चिकित्सकीय अभ्यास गरेको आरोपमा पक्राउ परेकामध्ये एक जना विदेशी चिकित्सक जेल चलान भएका छन् भने १६ जना छुटेका छन्। पक्राउ परेकामध्ये वौद्धस्थित चाइना ग्रेट वाल सेन्टरमा कार्यरत चिनियाँ चिकित्सक लंग जियोङ जेल चलान भएका हुन्।
पक्राउ परेकामध्ये तीन जना साधरण तारेखमा र १३ जना धरौटीमा छुटेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसपी जीवनकुमार श्रेष्ठले बताए।
ठमेलस्थित एपोलो इन्टरनेसनल पोलिक्लिनिककी सञ्चालिका मीनाकुमार श्रेष्ठ ३ लाख रुपैयाँ धरौटीमा छुटेकी छिन्। सो अस्पतालमा कार्यरत अन्य ८ जना चिनियाँ चिकित्सक प्रतिव्यक्ति १ लाख ?रुपैयाँ धरौटीमा छुटेका छन्।
लैनचौरस्थित सिवेक अस्पतालकी सञ्चालक प्रतिभा पाण्डे र सो अस्पतालमा कार्यरत अस्ट्रेलियन चिकित्सक सराह अन्ने केम्पलाई काठमाडौं जिल्ला अदालतले साधारण तारखेमा छाड्ने आदेश दिएको छ।
चाइना ग्रेटवालमा कार्यरत चिनियाँ चिकित्सक लोंग युआन्चाओ साधरण तारेखमा र त्यसका संचालक नारायण तिमल्सिना ५ लाख रुपैयाँ धरौटीमा छुटेका छन्।
बौद्धकै चाइनिज डेन्टल अस्पतालबाट पक्राउ परेका चिनियाँ ली योङ्गमे ५ लाख र चाइना पिपल्स हस्पिटलबाट पक्राउ परेका चिनियाँ चिकित्सक १ लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन्।
विदेशी चिकित्सकले नेपालमा काम गर्दा मेडिकल काउन्सिलबाट अनुमती लिनु अनिवार्य हुन्छ। तर, उनीहरुले पटक-पटक ताकेता गर्दा पनि अनुमति लिएका थिएनन्।
गत माघ १६ मा सिआइबी, मेडिकल काउन्सिल र उपभोक्ताकर्मीहरुले संयुक्त रुपमा ५ अस्पतालमा छापा मारी उनीहरुलाई पक्राउ गरेको थियो। प्रहरीले उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा चलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।