विराटनगर- सुनसरी प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न ७ जनालाई पक्राउ गरेको छ।
जनकपुरबाट धरानतर्फ जाँदै गरेको बस चेकजाँचका क्रममा लागुऔषध फेला परेपछि संलग्न सुनसरी हरिनगरा गाउँपालिका ४ का साहिद अन्सारी र अबुल अन्सारीलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट ८६४ पिस स्पास्मो प्रोक्सिवन क्याप्सुल र ६४ बोतल डाइलेक्स डिसी बरामद भएको प्रहरीले जनाएको छ।
दुवैले लागुऔषध इटहरीसम्म पुर्याई ग्राहकको जिम्मा लगाउने जिम्मेवारी लिएका थिए। सोही सूचनाका आधारमा धरानबाट लागुऔषध लिन इटहरी आउँदै गरेका सुनसरीको धरान उपमहानगरपालिका ५ का लाक्पा (आर्यन शेर्पा), धरान ४ का शेखर लिम्बु, धरान १५ का लक्की गुरुङ र अविसन राईलाई पनि पक्राउ गरिएको छ।
को १२ प ९६६५ र को २ प २०२ नम्बरको मोटरसाइकलसहित इटहरी ४ हलगढा चौकबाट उनीहरु पक्राउ परेका हुन्।
यसैगरी, घरमै पसल खोलेर लागुऔषध कारोबार गर्ने सुनसरी हरिनगरा ६ का २८ वर्षीय मुक्ताज अन्सारी पनि पक्राउ परेका छन्। उनलाई हरिनगरा ४ घुस्कीबाट पक्राउ गरिएको हो। अन्सारीले घरबाटै धरान, इटहरीमा लागुऔषध सप्लाई गर्ने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई लागुऔषध बेचबिखन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।