राजविराज- नियमनकारी निकायको सुस्तता र जनचेतनाको अभावमा पछिल्लो समय सप्तरी र सिरहामा विद्युत चुहावटमा वृद्धि भएको छ। गाउँ तथा सदरमुकाममा समेत नांगो तारबाट हुकिङ गरी विद्युत चोरी गरेर उपयोग गर्नेहरु बढेका छन्।
हुकिङ गरी बत्ती बाल्नेदेखि फर्निचर उद्योग तथा कुटानी पिसानीका मिलहरु समेत सञ्चालनमा आइरहेका छन्। यसैगरी पंखा, पानी तान्ने मोटर, फ्रिज लगायतका सामग्रीहरु समेत चोरीकै विद्युतवाट सञ्चालन हुने गरेको पाइएको छ।
हुकिङ गर्ने क्रममा ज्यानै जाने र अंगभंग हुने गरी पटक–पटक भएका दुर्घटनापछि पनि सामान्य आर्थिक प्रलोभनमा परेर सर्वसाधारणहरु विद्युत चोरी गर्ने काममा सरिक हुने गरेको विद्युत कार्यालयका कर्मचारीहरु बताउँछन्। तर, सर्वसाधारणले भने जिम्मेवार निकायको बेवास्ताका कारण विद्युत चोरी र त्यसैका कारण दुर्घटनासमेत हुने गरेको आरोप लगाउने गरेका छन्।
‘विद्युत चोरीले राज्यलाई नोक्सानी त सामान्य कुरा हो, त्यसकै कारण कतिपयको ज्यान पनि गएको छ,’ कञ्चनरुप नगरपालिकाका उत्तम आचार्य भन्छन्, ‘विद्युत कार्यालय सक्रिय हुने हो भने चोरी नियन्त्रणसँगै दुर्घटना पनि कम गर्न सकिन्छ।’ ग्रामीण क्षेत्रमा विद्युतको चोरी बढ्नुमा सर्वसाधारण मात्र नभई स्वयं विद्युत कार्यालय पनि जिम्मेवार रहेको आचार्य बताउँछन्। ‘नियमित अनुगमन गर्ने र सचेत गराउने काममा कर्मचारीहरु चुकेका छन्, यसलाई सुधार गर्नुपर्छ,’ उनले थपे, ‘कर्मचारी सक्रिय भए धेरै हदसम्म चोरी नियन्त्रण हुन्छ।’
विद्युत चुहावटका कारण नियम संगत विद्युत उपभोग गरिरहेका ग्राहकहरु भने समस्यामा पर्ने गरेका छन्। चुहावटका कारण विद्युतको खपत बढी हुने र लोडसेडिङ बढेपछि त्यसको मार भने विद्युतका आधिकारिक ग्राहक हुने गरेका छन्। जिल्लामा करिब ६५ हजार विद्युतका ग्राहक छन्।
नेपाल विद्युत प्राधिकरण राजविराज शाखाका इन्जिनियर अरविन कुमार झाले पनि सप्तरीमा विद्युत चुहावट अधिक रहेको स्वीकारे। चुहावटले ट्रान्सफर्मर र तार जल्ने समस्या बढेको छ। चोरी गर्ने क्रममा विभिन्न प्रकारका दुर्घटना हुने र सर्वसाधारण मात्र नभई विद्युतकै कर्मचारी पनि त्यसको चपेटामा पर्ने गरेको झा बताउँछन्।
सप्तरीमा सरदर ५१ प्रतिशतभन्दा बढी विद्युत चुहावट भइरहेको छ। इन्जिनियर झाले भने, 'विद्युत चुहावटको प्रतिशत हरेक महिना घटबढ भइरहन्छ, तर सरदर ५० देखि ५५ प्रतिशतसम्म चोरी भइरहेको छ।’
अनुगमन र कारबाही
चोरी नियन्त्रणका लागि अहिले पनि कार्यालयले अनुगमनलाई तीव्रता दिएको छ। चालु आर्थिक वर्षमा मात्रै विद्युत चोरीमा संलग्न ३०२ जनालाई नियन्त्रणमा लिइएको छ भने उनीहरुवाट १४ लाख ९३ हजार १८९ जरिवाना असुल भएको उनले जानकारी दिए।
चोरीका अतिरिक्त सप्तरीमा महसुल नबुझाउनेको संख्या पनि धेरै छ। विद्युत उपभोग गर्ने तर समयमा महसुल नबुझाउने ग्राहकका कारण बक्यौता रकम बढ्दै गएको कार्यालयले जनाएको छ। रेकर्ड अनुसार हाल ८८ लाख ३ हजार ९४० रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ। जसमध्ये यस वर्ष मात्रै ४८७ जनाको लाइन काटिएको कार्यालय प्रमुख नारायण साहले बताए।
यसैगरी, सिरहामा पनि विद्युत चुहावट गर्ने ३ दर्जन व्यक्तिलाई कारबाही गरिएको छ। विद्युत प्राधिकरण वितरण केन्द्र मिर्चैयाले उनीहरुलाई पक्राउ गरी जरिवाना गरेको हो। उनीहरुको साथबाट विद्युत मिटर १०, पंखा ७ र टिभी ८ र एलइडी २ थान बरामद गरिएको प्रमुख शिवराम यादवले बताए। सबैलाई विद्युत चुहावट ऐन अन्तर्गत कारबाही गरिएको प्रमुख यादवले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।