काठमाडौं- शुक्रबार दुहबी-कटहरी ३३ केभी विद्युत प्रसारणलाइन निर्माण ४५ दिनभित्र सक्ने सहमति भयो। 
मोरङको ग्रामथान गाउँपालिकास्थित गिदनीय टोलका स्थानीयले करिब तीन किलोमिटर तार तान्न नदिएपछि विगत एक वर्षदेखि उक्त प्रशारणलाइन पूरा हुन सकेको थिएन। 
अवरोध हटाउन प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईको पहलमा शुक्रबार त्यस क्षेत्रका संघीय सांसद अमनलाल मोदी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, गाउँपालिका अध्यक्ष, उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेलगायतसँग छलफलपछि विवाद टुंगिएको हो। 
सोही प्रशारणलाइनको विषयलाई लिएर सांसद अमनलाल मोदी र प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङबीच एक समय निकै तिक्ततापूर्ण सम्बन्ध थियो। 
घिसिङको बुझाईमा मोदीकै कारण उक्त क्षेत्रमा प्रशारणलाइन विस्तारको काम अघि बढ्न सकेको थिएन। त्यही बुझाइका कारण घिसिङले गत जेठ ६ गते संघिय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिमा पनि मोदीविरुद्ध आक्रोश पोखेका थिए। 
डेडिकेटेड ट्रंकलाइन महसुल विवादका विषयमा छलफल गर्न ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका प्रतिनिधि र विद्युत प्राधिकरणका प्रतिनिधि बोलाइएको त्यो दिनको लेखा समिति बैठकमा सांसद मोदीले आफूलाई कुलमान घिसिङको नियतमाथि नै शंका लागेको बताएका थिए। 
प्रतिउत्तरमा घिसिङले ‘सांसद हुँ भन्दैमा जे पनि नबोल्न' मोदीलाई जवाफ फर्काएका थिए। सो दिनको लेखा समिति बैठकमा सांसद मोदीले कुलमानका विरुद्ध बोल्दा कसैबाट परिचालित भएर बोलेको हो कि भन्ने खालको मानिसमा बुझाई रहेको तर घिसिङ आफैमा शतप्रतिशत ठिक रहेको र भष्ट्राचार गर्दैन भन्ने आधार आफूले नभेटाएको बताएका थिए। 
मोदीले प्राधिकरणभित्र अझै पनि नीतिगत भष्ट्राचार रहेको ठोकुवा नै गरेपछि घिसिङले आफूले कुनै प्रकारको आर्थिक चलखेल, भष्ट्राचार गरेको भेटिए झुण्डिएर मर्न तयार रहेको बताएका थिए। 
‘मैले भष्ट्राचार गरेको भनेर तपाईंहरु प्रमाण लिएर आउनुहोस्, म झुन्डिएर मर्न तयार छु। नत्र सांसद भयो भन्दैमा जे पनि भन्न पाईदैन,’ घिसिङले जवाफ फर्काएका थिए। त्यस्तै दुहबी-कटहरी प्रशारणलाइनमा अवरोध सिर्जना गर्ने पनि तपाई नै होईन? भन्दै घिसिङले मोदीलाई प्रतिप्रश्न गरेका थिए। सांसद मोदीले घिसिङलाई भष्ट्राचार आरोप लगाएको र घिसिङले भष्ट्राचार पुष्टि भए आफू झुण्डिएर मर्न तयार रहेको भन्ने बयान त्यो बेला संचारमाध्यममा बहसको विषय त बनेको थियो। त्यसले सामाजिक संजालमा पनि व्यापक चर्चा पाएको थियो। 
तर शुक्रबार भने तीन पक्षबीच भएको छलफलमा फरक दृश्य देखियो। छलफलमा संसद मोदीले यो प्रसारण लाइन निर्माणमा आफूले कहिले पनि अपरोध नगरेको प्रष्ट पारे।
‘लाइन निर्माणमा सांसद मोदीबाट पैसा मागेर अवरोध गर्यो भन्नेसम्मका गलत आरोप ममाथि लगाइयो, तर मैले कोहीसँग पैसा मागेको छैन। प्रशारणलाइन निर्माण हुनुपर्छ भन्दै सुरुबाटै निरन्तर सहयोग गरिरहेको व्यक्तिमाथि झुटो आरोप लगाइयो,’ उनले भने, ‘यस्ता आरोपमा कुनै सत्यता छैन, लाइन निर्माण गर्न तत्काल सुरु गरौं। यसमा मेरो पूर्ण सहयोग रहने छ।’
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।