वर्षाैं भयो गायक राजेशपायल राईले दसैँ आफ्नै देशमा मनाउन नपाएको। ठ्याक्कै कति वर्ष भयो त्यो त उनी स्वयंले समेत विर्सिसके। भन्छन्, ‘त्यस्तै १२–१५ वर्ष भयो। के गर्नु स्टेज कार्यक्रमका लागि बोलाउँछन्। आफ्नो गरिखाने पेशै यही हो, त्यसैले सक्दिनँ, आउँदिन पनि भन्न सक्दिन।’
आफ्नै देशमा दसैँ नमनाएको वर्षौ भएर होला अब त उनलाई दसैंमा नेपालको न्यास्रो लाग्न नै छोडिसक्यो। भन्छन्, ‘अब त जहाँ गयो, त्यहाँ भेटिने नेपाली नै आफन्तजस्तो लाग्छ।’ हाल अमेरिकामा रहेका राजेशपायलसँग अनिल यादवगरेको दसैँ गफः
दसैँ कसरी कहाँ मनाउने तयारीमा हुनुहुन्छ ?
यसपालीको दसैँ अमेरिकामा बित्ने भो। टीकाको दिनचाहिँ कोलोराडोमा कन्सर्ट छ, त्यतै नेपालीहरुसँग रमाइलो गरेर बिताउने योजना छ। अनि अर्को कुरा, धेरैलाई थाहा नहोला म दसैँमा टीका त्यति लगाउन रुचाउँदिन। लगाइहाले पनि सेतो टीका लगाउँछु। कारण, हाम्रो किराँत संस्कारमा पितृपुर्खादेखि सेतो टीका लगाउने चलन छ।
दसैँको सबैभन्दा मन पर्ने र मन नपर्ने पक्षचााहिँ के लाग्छ?
अहिले त मेरो जीवन नै दसैँ जस्तो भइसक्यो। सधैँ जमघट र रमाइलोमा बित्छ। तर बाल्यकालमा चाहिँ टीका थापेर आशीर्वाद दिइने चलन नै सबैभन्दा मनपर्थ्यो। मावली घर पुगेर टीका थाप्दा खुब रमाइलो लाग्थ्यो। मासु खान पाउँदा झन् मख्ख परिन्थ्यो। दसैँको नराम्रो पक्षचाहिँ देखासिकी गरेर खर्च गर्ने प्रवृत्ति नै हो। दसैंमा सोच्दै नसोची खर्च गर्ने अनि पछि टाँट पल्टिने। यो त ठिक भएन नि। त्यसैले घाँटी हेरेर हाँड निल्नुपर्छ भन्ने लाग्छ।
अहिलेसम्मकै सबैभन्दा अविस्मरणीय दसैँ कुन सालको लाग्छ र किन?
हुन त हरेक सालको दसैँ रमाइलो नै हुन्छ। तर, खोइ किन हो बाल्यकालकै दसैँ अविस्मरणीय लाग्नेरहेछ। सायद सबैलाई बाल्यकाल प्यारो लाग्ने भएर होला। मेरो घर खोटाङको बुइपा हो। घरबाट मावली हलेसीसम्म हामी हिडेर जान्थ्यौँ। म सानो भएकाले होला हिँडेर एक दिन नै लाग्थ्यो। जाँदाजाँदै बाटोमा आउँथ्यो, तोयमा खियमा डाँडा। त्यसलाई मालाथुम्की डाँडा पनि भन्थ्यौँ हामी। त्यो डाँडाबाट भिमनगरको पुल देखिन्थ्यो। त्यही हेर्नलाई हामी डाँडासम्म पुग्थ्यौँ। दसैँताका डाँडामा पुगेर भिमनगरको उज्यालो र झिलिमिली बत्ती हेर्न हामी खुब आतुर हुन्थ्यौँ। अहिले त सबैतिर विजुली र बाटोघाटो पुगिसक्यो, तर त्यसैका लागि हामी डाँडासम्म पुग्थ्यौँ। वाह, क्या दिन थिए ती!

बाल्यकालमा कत्तिको दक्षिणा प्रेमी हुनुहुन्थ्यो?
हुन त दसैँ भन्नेवित्तिकै दक्षिणाको कुरा जोडिन्छ तर जहाँसम्म मलाई याद छ म कहिल्यै पनि दक्षिणा प्रेमी थिइनँ। जति दियो त्यतिमै सन्तोष मान्थे। तर, दाजुभाईको पैसा गन्ने कार्यक्रमचाहिँ हुन्थ्यौ है। कसले कसलाई कति दियो, कसले कति बढी पायो भन्ने लेखाजोखाचाँही राखिन्थ्यो (हाँस्दै)।


सबैभन्दा बढी दक्षिणा कसले दिन्थ्यो?
सबैभन्दा बढी दक्षिणा त मामा घरमै पाइन्थ्यो। मामा क्याप्टेन सा’ब हुनुहुन्थ्यो। १५–२० रुपैयाँ दिनुहुन्थ्यो सायद। त्यो बेलाको एकदमै ठूलो रकम थियो यो।
भनेपछि दक्षिणाका लागि झगडा गरिएन?
अँह, कहिल्यै गरिएन। बरु दक्षिणाबाट पाएको पैसाले हामी साथीभाई खोपी खेल्थ्यौँ। त्यतिबेला चाहिँ झगडा हुन्थ्यो।
चंगा उडाइन्थ्यो?
अहँ, चंगा कहिल्यै उडाइएन। किनभने पहाडी भूभागतिर दसैँमा चंगा त्यसरी उडाइँदैन। बरु पिङचाहिँ खेल्ने प्रचलन थियो र खेलियो पनि।
पिङ खेल्दाको रमाइलो अनुभव छ?
गाउँदेखि अलि पर गुरुङ गाउँ भन्ने थियो। त्यहाँ चार सिटको पिङ हुन्थ्यो, सँगसँगै एक सिटको लिंगे पिङ पनि हुन्थ्यो। त्यस्तै कुसुम्खा गाउँ र एकादशी बजारमा पनि हामी पिङ खेल्न जान्थ्यौँ। गाउँतिर पिङ खेल्दा हल्र्याङ खाने भन्ने हुन्छ। हल्र्याङ खाँदा एकदमै जोखिम पनि हुन्थ्यो। डर पनि लाग्थ्यो तर त्यही डरमा रमाइलो हुन्थ्यो। आहा, अहिले सम्झदै पनि पिङमा मच्चिन मन लागिसक्यो।
तास खेलिन्छ?
एकदमै खेल्छु। मलाई हरेक तासको ज्ञान छ। दसैँमा तास खेल्दा टाइमपास पनि हुने, मासु पचाउने मेलो पनि हुने। त्यसैले पनि खेलिन्छ।
हारिन्छ वा जितिन्छ?
लक्की भएर हो कि जानेर, तासमा म प्रायः हार्दिनँ। यद्यपी तास म सधैं खेल्दिनँ। दसैँका बेलामात्रै। तर, तासमा हारेको रेकर्ड छैन। कति जितियो, त्यसको हिसाबकिताब चाहिँ राखिएको छैन(हाँस्दै)।
(तस्बिरहरुः उनकै फेसबुक वालबाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।