काठमाडौं- फोरजी/एलटिई सेवाको नेटवर्क सातै प्रदेशका प्रमुख शहरहरुमा विस्तार गरेको भएको जानकारी नेपाल टेलिकमले दिएको छ।
सातै प्रदेशका मुख्य सहरमा फोरजी सेवा पुगेको अवसरमा असोज १५ गते प्रधानमन्त्री के पी शर्मा ओलीबाट सो सेवाको सफ्ट लन्चमार्फत् औपचारिक सुरुवात गर्ने कार्यक्रम तय गरेको छ।
३२ जिल्लाका प्रमुख शहरमा विस्तार भएको फोरजी सेवा पुगेपछि उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरुको प्रवाह पनि सहज हुने टेलिकमको दाबी छ।
विस्तारित फोरजी/एलटिइ सेवा एलटिइ एड्भान्स प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिनेछ।
नेपाल टेलिकमले पहिलोपटक२०७३ पुस १७ मा काठमाडौं र पोखराबाट फोरजी/एलटीई सेवाको शुरुवात गरेको थियो। यस सेवाको विस्तारका क्रममा देशभर सातै प्रदेशमा सेवा सञ्चालनका लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको थियो।
कम्पनीले सम्झौताको एक वर्षभित्रै देशभर फोरजी नेटवर्क विस्तार गर्ने लक्ष्य लिएको छ। सम्झौताअन्तर्गतको कार्य तदारुकताका साथ भइरहेको र सो अनुसार हालसम्म देशका सातै प्रदेशमा सो सेवाको नेटवर्क पुगिसकेको छ।
कम्पनीले सातै प्रदेशमा फोरजी/एलटीई सेवाको शुभारम्भ गरेको अवसरमा फोरजी सेवा प्रयोग गर्नुहुने ग्राहकहरुका लागि आकर्षक इन्टरनेट प्याकेज पनि प्रदान गर्ने निर्णय गरेको छ। यसअघि नै मोबाइलका उपभोक्ताहरुलाई प्रदान गरिएका केही अल टाइम डाटा अफरमा शत प्रतिशत डाटा भोल्युम थप गरी साविकको मूल्यमै प्रदान गरिएको छ।
यसअघि जम्मा २५ रुपैयाँमा २ सय एमबी डाटा प्रदान गरिरहेकोमा फोरजी एलटीई सेवाका ग्राहकहरुलाई सोही दरमा २०० एमबी थप गरी जम्मा ४०० एमबी डाटा उपलब्ध गराइने जानकारी दिएको छ। यो प्याकेज लिइएको २४ घण्टासम्मा प्रयोग गर्न सकिनेछ।
यसैगरी जम्मा १ सय रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने हाल उपलब्ध भइरहेको ५०० एमबी डाटा प्याकेज फोरजी एलटीइका सेवाग्राहीलाई थप ५०० एमबी डाटा वोनसस्वरुप प्राप्त हुनेछ।
यसको प्रयोग ७ दिनसम्म गर्न सकिनेछ । साथै २८ दिनसम्म प्रयोगमा ल्याउन सकिने २ सय ४० रुपैयाँमा उपलब्ध डेढ जिबी डाटा प्याकेज फोरजी एलटीई मोबाइल प्रयोगकर्तालाई सोही मूल्यमा ३ जिबी डाटासहित प्राप्त हुनेछ।
यी तीनवटै डाटा प्याकेजहरु एनटी फोरजी एलटीइ अफरका रुपमा कम्पनीका फोरजी ग्राहकहरुले १५ असोज २०७६ देखि अर्को सूचना जारी नभएसम्म जारी रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।