अघिल्लो साल दसैँमा ‘जय भोले’ फिल्म रिलिज गरेका निर्माता एवम् निर्देशक अशोक शर्माले यसपाली ‘रातो टीका निधारमा’का साथमा दर्शकमाझ आए। त्यतिमात्रै होइन फिल्मको अन्त्यमा उनले अर्को सालको दसैँमा नयाँ फिल्म ‘अल्लारे-२’ लिएर आउने घोषणा पनि गरेका छन्।
आखिर अशोकलाई फिल्म रिलिज गर्न सधैं दसैँ नै किन चाहिन्छ त?
हिजो ‘जय भोले’ले पनि यसको जवाफ दिएकै थियो, आज ‘रातो टीका निधारमा’ले पनि झन् गतिलोसँग दिएको छ। जवाफ के भने आफ्नो फिल्म कमजोर भएपछि सर्जकलाई चाहिने ‘लक्की समय’कै साहारा हो। र, फिल्मकर्मीहरु त्यो ‘लक्की समय’ दसैँलाई ठान्छन्।
यद्यपि फिल्म चल्नलाई दसैँ मात्रै भएर पुग्दैन, फिल्म नै बलियो हुनपर्छ भन्ने जवाफ त अघिल्लो दसैँमा ‘जय भोले’ले पनि दिएकै हो। तैपनि शर्मामा दसैँप्रतिको विश्वास अझै घटेको छैन।
आज(शुक्रबार)बाट हलमा लागेको फिल्म ‘रातो टीका निधारमा’ हेरेपछि लाग्यो- जब सर्जकलाई आफ्नो सिर्जनाप्रति विश्वास हुँदैन, त्यतिबेला उसले सहारा लिने भनेकै यस्तै ‘लक्की समय’को रहेछ।
अझ यो फिल्म त अशोकका लागि विशेष छ। कारण, उनका छोरा अंकित शर्माले यही फिल्मबाट नेपाली फिल्मी क्षेत्रमा डेब्यू गरेका छन्। तर, फिल्म हेरेपछि लाग्छ- अशोकको यो फिल्म छोरालाई हिरो बनाउने रहरमै सीमित छ, त्योभन्दा माथि उठ्न सकेको छैन।
निर्देशक शर्माले यो फिल्ममार्फत् रेमिट्यान्सको भरमा चलिरहेको हाम्रो देशका आमजनताको संवेदनालाई ‘क्यास’ गर्न भरपुर प्रयास गरेका छन्, पात्रहरुलाई खाडी मुलुक पठाउनेदेखि बाकसमा मृत घर फर्काउनेसम्मका दृश्य राखेर।
त्यतिमात्रै होइन, महिला समूहलाई देशमै केही गर्नुपर्छ भन्ने भावनासहित कृषिकर्ममा सहभागी गराउनसमेत उनी अघि देखिएका छन्। दसैँलाई लक्षित गरेर बनाइएको फिल्ममा रातो टीका र जमरा लगाएर दसैँ मनाइएको दृश्य त छुट्ने कुरै भएन।
शब्दमा यी विषय पढ्दा त लाग्दो हो, निर्देशक शर्माले अहिलेको समसमायिक विषय उठाएछन्। तर, मख्ख नपर्नुस्, फिल्ममा यी विषयको प्रस्तुति सतहमा मात्रै छ। निर्देशकले गहिराइमा पुग्न आवश्यक नै ठानेका छैनन्। बस्, यति गरेर जसरी पनि दर्शकको संवेदना हुँडल्ने उनको लक्ष्य छ।
०००
एकछिन कथाकै कुरा गरौं। फिल्ममा प्रमुख पात्र छन् आकाश (अंकित शर्मा), जो एजुकेसनल कन्सल्टेन्सीका लागि डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान चाहने जोडीको नक्कली बिहे गराइदिने काम गरिरहेका छन्। साथी दृष्टि (साम्राज्ञी राज्यलक्ष्मी शाह)ले उनको काममा सघाइरहेकी छिन्।
सुरुमा न्यारेटरले भनेअनुसार दृष्टिको खास लक्ष्य अमेरिका पुगेर पढाइ गर्नु छ। त्यसको लागि उनी ग्रिनकार्ड होल्डर केटाको खोजीमा छिन्। उता आकाशले दृष्टिलाई मन पराउँछन् तर व्यक्त गर्न सकिरहेका छैनन्।
आकाश र दृष्टिसँगै उनीहरुका दुई ‘अंकल’ साथी पनि छन्, गणेश (बुद्धि तामाङ) र मोहित (रविन्द्र झा)। न्यारेटरको दाबीअनुसार गणेशलाई चाहिँ ‘गजिनी’ फिल्ममा आमिर खानलाई झैं ‘दिमाग खुस्किने’ रोग लागेको छ। अनि, मोहित चाहिँ उमेरले बुढो भइसक्यो, बिहेको सुरसार छैन तर केटी देख्ने बित्तिकै सेल्फी खिच्न मोहित भइहाल्छ।
यत्तिकैमा दृष्टिको चाहना पूरा हुन्छ। ग्रिनकार्ड होल्डर केटासँग बिहे गरेर उनी अमेरिकामा पढ्न जान्छिन्। यसले आकाशलाई दुःखी बनाउँछ। त्यसपछि उनी आफैं डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जाने निर्णयमा पुग्छन्, नक्कली बिहे गरेर। कन्सल्टेन्सीले १५ लाख रुपैयाँ खर्च लाग्ने बताउँछ।
यतिबेलै दियो म्यानपावरका लागि साउदी अरबबाट बाक्लो संख्यामा मजदुरको माग हुन्छ। कन्सल्टेन्सीले आकाशलाई अफर गर्छ- गाउँ गएर गाउँलेहरुलाई फकाउ, त्यसकै कमि;नले तिमीलाई अष्ट्रेलिया जाने खर्च उठ्छ।
सो अफर आकाशलाई गज्जब लाग्छ। त्यसपछि ऊ छुटेको प्रेम भुलेर उत्साही हुँदै काका–काकी बस्ने गैंडे गाउँ जान्छ, मान्छे बटुल्न। संयोगले त्यहीँ भेट हुन्छ, दृष्टिसँग।
यतिबेलासम्म कुनै बेला अमेरिका भनेपछि हत्तु हाल्ने दृष्टिको लक्ष्य परिवर्तन भइसकेको हुन्छ। अमेरिकाबाट सिकेर आएको आधुनिक कृषिकर्मलाई गाउँमै सदुपयोग गर्न खोजिरहेकी हुन्छिन्, गाउँलेहरुलाई आत्मनिर्भर बनाउने पथमा हुन्छिन् उनी। तर, तिनै गाउँलेलाई खाडी पठाउने लक्ष्यमा हुन्छन्, आकाश।
यसमा सफल को हुन्छ? आकाशको अष्ट्रेलिया जाने निर्णय के हुन्छ? अनि दृष्टिसँगको प्रेम? यिनै प्रश्नहरुको जवाफमा आउने घटनाक्रम नै यस फिल्मको कथा हो।
०००
फिल्मले उठाएको विषयवस्तु गम्भीर छ, अहिलेको समयमा सान्दर्भिक पनि। तर, फितलो पटकथा र कमजोर निर्देशनले यसको धज्जी उडाएको छ।
पात्रहरुको स्पष्ट लक्ष्य छैन, छिन-छिनमा परिवर्तन भइरहन्छन्। केन्द्रीय द्वन्द्वमा पनि अलमल छ, दर्शकलाई के हो खुट्याउनै मुस्किल हुन्छ।
कथामा सस्पेन्स केही छैन। अब के हुन्छ दर्शकले सहजै अनुमान लगाउन सक्छन्। निर्देशकले फिल्ममार्फत नेपालीहरुको अष्ट्रेलिया मोह, नक्कली बिहेमा डिपेन्डेन्ट भिसा, आम नेपालीको विदेशिनु पर्ने बाध्यता, स्वदेशमै कृषिको सम्भावनालगायत विषयलाई छोएका छन् तर कुनै विषयलाई पनि फराकिलो, गम्भीर र कलात्मक हिसाबले उठाउन सकेका छैनन्। यसो हुँदा विषयको गाम्भीर्यता नै ‘मजाक’ बनेजस्तो लाग्छ।
फिल्मको मुल कथासँग डाक्टरको आमरण अनसनको दृश्यले कुनै अर्थ राख्दैन, न आवश्यक नै लाग्छ। निर्देशकले बरु यो दृश्यमार्फत डा गोविन्द केसीको अनसनलाई नै गिज्याएजस्तो देखिन्छ। फिल्ममा अनसन बस्नेहरुले लुकीलुकी खाएको दृश्य राखिएको छ। फिल्ममा अनसनकारी डाक्टरको भूमिका निर्वाह गरेका राजाराम पौडेलको उपस्थिति चोटिलो लाग्दैन, हँसाउनकै लागि थोपरिएजस्तो लाग्छ।
निर्देशकले कथा भन्नलाई अपनाएको शैली पनि उही पुरानै ढर्राको छ। स-साना कुरामा पनि निर्देशकले ख्याल गरेका छैनन्। जस्तो, फिल्ममा साम्राज्ञीले निर्वाह गरेको दृष्टि पात्र खेतमा हलो जोत्न जाँदा पनि शरीरमा गरगहना लगाएर चिटिक्क परेर जान्छे।
त्यस्तै, त्यही खेतमा अर्की गर्भवती महिलालाई सुत्केरी व्यथाले च्याप्छ, तर उनलाई त्यहाँबाट उठाएर वरपर सफा र सुरक्षित ठाउँमा लानुको सट्टा हिलो खेतमै बच्चा जन्माउन लगाइन्छ। अर्को एक दृश्यमा श्रीमान् बितेकै साल श्रीमतीले दसैँमा भतिजलाई रातो टीका लगाइदिन्छिन्, तर भतिजको रातो साडी लिन चाहिँ उनी आनाकानी गर्छिन्।
अब आफैं अनुमान लगाउनुस्, निर्देशकले फिल्म बनाउँदा कतिसम्म त्रुटी गरेका रहेछन्। यद्यपि मध्यान्तरपछिको महिला कृषि अभियानको दृश्यले भने दर्शकलाई रिझाउनसक्छ।
गीतको प्रवेश पनि उचित ठाउँमा छैन। ध्वनी पनि कर्कशलाग्दो छ। यतिमात्रै होइन, फिल्ममा आकाशले दृष्टिलाई गर्ने प्रेम पनि दर्शकलाई महसुस हुँदैन। दृष्टिले अर्कैसँग बिहे गर्दाको पीडाले पनि दर्शकलाई भावुक बनाउँदैन। न त्यसले आकाशलाई नै गहिरो प्रभाव पारेको महसुस हुन्छ, संवादमा बाहेक।
फिल्म हेर्दा दर्शकलाई जबर्जस्ती हसाउन मुल कथाको मागबिनै कलाकारको भिड जम्मा गरिएको देखिन्छ। बुद्धि तामाङले निर्वाह गरेको पात्रलाई ‘गजिनी'को आमिर खानको क्यारेक्टरजस्तै भनेर परिचित गराइन्छ तर उनको दिमाग सधैं खुस्किँदैन, निर्देशकलाई चाहिएको बेलामात्रै खुस्किन्छ।
‘राम्रो अभिनेता’को छाप बनाएका बुद्धि, रविन्द्र झा, जयनन्द लामा कसैको पनि क्यारेक्टर कथाको मर्मअनुसार राखिएको छैन, मात्रै दर्शकमाझ हाँसो पैदा गर्न ‘मसला’का रुपमा प्रस्तुत गरिएको छ। अब उनीहरुले आफूहरुमाथि भइरहेको यो प्रयोगबारे गम्भीर भएर नसोच्ने हो भने फिल्म क्षेत्रमा उनीहरुको भविष्य सुन्दर हुने अपेक्षा गर्न सकिन्न।
नीता ढुंगाना र खुश्बु खड्काको क्यारेक्टरलाई पनि त्यस्तै मजाकका रुपमा प्रस्तुत गरिएको छ। जसको मुल कथासँग कुनै सम्बन्ध नै देखिँदैन।
साम्राज्ञीको अभिनयमा कुनै भाव देखिँदैन। यस्तै फिल्म छनोट र अभिनय गरिरहने हो भने फिल्म क्षेत्रमा उनको ओरालो यात्रामा ‘ब्रेक’ नलाग्ने पक्का छ।
संसारभर फिल्म क्षेत्रमा ‘नेपोटिज्म’ अर्थात् ‘नातावाद’को विषय उठिरहेका बेला बाबुको फिल्मबाट हिरोका रुपमा डेब्यू भएका अंकितले पनि आफूलाई प्रमाणित गर्न सकेको देखिँदैन। उनको अभिनयमा कुनै भावभंगीमा र हाउभाउ देखिँदैन। मादक पदार्थ सेवन गरेर बोलेको दृश्य त पूरै अस्वाभाविक लाग्छ।
फिल्मभरी उनलाई हेर्दा लाग्छ, उनी कुनै चरित्र निर्वाह गरिरहेका छैनन्, बस् निर्देशकले दिएको डायलग फरर वाचन गरिरहेका छन्।
समग्रमा यो फिल्मले चर्चित गीत ‘रातो टीका निधारमा’को मर्मलाई आत्मसाथ गर्न सकेको छैन। फिल्म हेर्दैगर्दा लाग्छ, यही एउटा गीत सुन्दा जति आनन्द आउँछ, त्यति आनन्द पूरा फिल्म हेर्दा पनि आउँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।